झापा र सिरहामा गोली हानेर समातिएर ब्राउन सुगरका कारोबारी

झापा र सिरहामा गोली हानेर समातिएर ब्राउन सुगरका कारोबारी

काठमाडौं : सिराहा र झापामा प्रहरीले गोली हानेर खैरो हेरोइन कारोबारी पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरो र स्थानीय प्रहरी टोलीले गोली हानेर भारतीय कारोबारीलाई पक्राउ गरेको हो।

झापाको भद्रपुर नगरपालिका ५ को भित्री सडकमा शङ्कास्पद अवस्थामा हिँडिरहेका ३६ वर्षीय मोहम्मद इस्लामलाई प्रहरीले गोडामा गोली हानेर पक्राउ गरेको थियो। प्रहरीलाई आक्रमण गरेर भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन दुई राउन्ड गोली प्रहार भएको प्रहरीको दाबी छ। घुँडामुनि गोली लागेका  इस्लामको प्रादेशिक अस्पताल, भद्रपुरमा उपचार भइरहेको छ। उनको साथबाट १ सय २० ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले दाबी गरेको छ।

उता  सिरहामा पनि  प्रहरीले गोली हानेर भारतीय नागरिक ३८ वर्षीय श्यामसुन्दर पासवानलाई पक्राउ गर्यो। उनको साथबाट ५० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको  टोलीले शनिवार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकलमा रहेका श्यामसुन्दरलाई गोली हानेको थियो। नवराजपुर गाउँपालिका-४ कुसण्डीमा रोक्न खोज्दा भाग्न थालेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।

यस अगाडि ब्युरोको टोलीले काठमाडौँमा समेत गोली हानेर भारतीय कारोबारीहरू पक्राउ गरेको थियो। 

साउन १०, २०८२ शनिबार १८:५४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।