अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी आमा : स्कटल्यान्डको टापुबाट न्युयोर्कको उच्च वर्गसम्मको यात्रा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी आमा : स्कटल्यान्डको टापुबाट न्युयोर्कको उच्च वर्गसम्मको यात्रा

एजेन्सी : सन् १९३४ सम्म पुग्दा मेरी एन म्याकलियोड एक आकर्षक न्युयोर्क निवासी बनेकी थिइन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग स्कटल्यान्डको विशेष नाता छ। उनकी आमा मेरी एन म्याकलियोड हिब्रिडियन टापु लुइसमा जन्मिएकी र हुर्केकी हुन्।

तर उनले अमेरिका गएर बिलकुलै फरक जीवन जिउँदै न्यूयोर्कमा बसोबास गरिन्। उनी त्यस्ता हजारौँ स्कटिसमध्ये एक थिइन्, जसले अघिल्लो शताब्दीको सुरुवातमा आर्थिक कठिनाइबाट बच्न अमेरिका र क्यानाडाको यात्रा गरेका थिए। मेरी एन सन् १९३० मा १८ वर्षको उमेरमा घरेलु कामदारको रूपमा काम खोज्न न्यूयोर्क गएकी थिइन्।

छ वर्षपछि उनी फ्रेडरिक ट्रम्पसँग विवाह बन्धनमा बाँधिइन्। उनी जर्मन आप्रवासीका सन्तान तथा न्यूयोर्कका सफल र धनी व्यक्ति थिए।

उनीहरूको पाँच सन्तानमध्ये चौथो सन्तान थिए डोनाल्ड जोन ट्रम्प जसलाई लुइस टापुमा अझै “डोनाल्ड जोन” भनेर चिनिन्छ। अहिले उनी अमेरिकाको राष्ट्रपतिको दोस्रो कार्यकालमा छन्।

मेरी एन सन् १९१२ मा लुइस टापुको मुख्य शहर स्टोर्नावेबाट तीन माइल टाढाको गाउँ टङ्गमा जन्मिएकी हुन्।

वंशावली खोजकर्ता बिल लस्सनका अनुसार उनको बाबु म्याकोलम म्याकलियोडले आफ्नो जीवनको अन्त्यतिर पोस्ट अफिस र सानो पसल चलाउँथे।

परिवार औसतभन्दा अलिकति सम्पन्न थियो, तर पहिलो विश्वयुद्धको समयमा र त्यसपछिको जीवन निकै कठिन थियो। करिब एक हजार लुइस टापुबासीहरू युद्धमा मारिए।

सन् १९१९ मा इओलेयर नामको जहाज दुर्घटनामा २ सय जना सैनिकहरू स्टोर्नावे बन्दरगाहमा डुबेर मारिए। यसले टापुमा अझ पीडा थप्यो।

लस्सन भन्छन् “मेरी एन नौ दाजुभाइबहिनीमध्येकी एक थिइन्। त्यो समय धेरै युवा टापुबाट बाहिर जान थालेका थिए। युवाहरूका लागि यहाँ सम्भावना खासै थिएन।”

मेरी एन सन् १९३० तिर उनकी दिदी क्याथरिनसँग अमेरिका गएकी थिइन्। क्याथरिन क्यानाडाबाट न्यूयोर्क गएकी थिइन् र सन् १९३० मा लुइस फर्किएकी थिइन्। त्यसै क्रममा मेरी एनलाई पनि साथ लिएर गइन्।

मेरी एनले न्यूयोर्कको उपनगरमा एक धनी परिवारमा बच्चा हेर्ने काम पाइन् तर पछि वाल स्ट्रिट क्र्यासपछि अमेरिकामा आएको महामन्दीका कारण उनले जागिर गुमाइन्।

मेरी एन सन् १९३४ मा एकपटक स्कटल्याण्ड फर्किएकी थिइन् तर त्यसबेलासम्म उनले फ्रेड ट्रम्पलाई भेटिसकेकी थिइन् र केही समयपछि फेरि स्थायी रूपमा बस्न न्यूयोर्क फर्किइन्।

उनीहरू क्विन्सको धनी क्षेत्रमा बस्न थाले र मेरी एन सामाजिक सेवामा संलग्न भइन्। डोनाल्ड ट्रम्पकी तीन जना काकीका छोरा  अझै लुइसमा बस्छन्। तीमध्ये दुईजना त अहिले पनि उनकी आमाको पुर्ख्यौली घरमा बस्छन्। त्यो घर अहिले पुनर्निर्माण गरिएको छ। अहिले ती सबै मिडियासँग बोल्न चाहँदैनन्।

स्थानीय परिषद सदस्य जोन ए म्याकआइभर भन्छन् “उनीहरू धेरै नम्र र शान्त स्वभावका छन्। धेरै प्रचारले उनीहरूलाई असहज बनाउँछ।”

आमा मेरी एन सन् १९४२ मा अमेरिकी नागरिक बनिन् र सन् २००० मा ८८ वर्षको उमेरमा उनको निधन भयो। तर जीवनभर उनी ग्यालिक भाषामा बोल्थिन् र समय–समयमा लुइस फर्किरहन्थिन्।

वंशावली अनुसार मेरी एनका बाबु पक्षका म्याकलियोडहरू भाटिस्कर क्षेत्रबाट आएका थिए। यो टङ्गभन्दा केही उत्तर पर्छ। उनका बुबा एलेग्जेन्डर र उनका छोरा म्याकोलम (मेरी एनका हजुरबुबा र बुबा) को सन् १८५० तिर माछा मार्दा डुबेर  मृत्यु भयो।

उनकी आमाका तर्फका पुर्खा स्मिथ परिवार सन् १८२६ मा लुइसको साउथ लोच्स क्षेत्रबाट निकालिएका थिए। हाइल्याण्ड क्लियरन्सले लुइस टापुलाई त्यति प्रभाव नपारे पनि पानीपछिको युद्धपछि भेडा पाल्न उपयुक्त जमिनहरूबाट किसानहरूलाई विस्थापित गरियो। तीमध्ये धेरैजना टापुकै अन्य भागमा पुनःस्थापित भए।

लस्सनका अनुसार डोनाल्ड ट्रम्पकी हजुरआमा कम उमेरमै एक्ली भएकी थिइन्। उनका श्रीमान डोनाल्ड स्मिथको सन् १८६८ मा डुबेर मृत्यु भयो। उनकी कान्छी छोरी मेरी (ट्रम्पकी हजुरआमा) त्यो बेला वर्ष दिन पनि पुगेकी थिइनन्।

मेरी एनले १३ टङ्गस्थित सानो टुक्रा जमिनबाट जीवन सुरु गरिन्। विवाहपछि उनका बाबुआमाले पाँच टङ्गको पुरानो स्मिथ परिवारको जमिन पाए। मेरी एन म्याकलियोड आफ्ना दसजना दाजुभाइबहिनीमध्ये कान्छी थिइन्।

सन् २००८ मा डोनाल्ड ट्रम्पले आफ्नी आमाले हुर्किएको घर अवलोकन गरे। उनले भनेका थिए, “म सानो हुँदा एकपटक आएको थिएँ तर खासै सम्झना छैन।”
त्यस यात्रामा उनी ९७ सेकेन्ड मात्र त्यहाँ बसेका थिए।

उनले भनेका थिए “म अत्यन्त व्यस्त छु। संसारभरि काम गरिरहेको छु। समय निकाल्न गाह्रो हुन्छ। तर यो समयमा मसँग आफ्नै विमान थियो, र मलाई लाग्यो अब जाने उपयुक्त समय हो। म खुसी छु, र फेरि आउनेछु।”

उनकी दिदी म्यारिएन ट्रम्प बेरी सन् २०२३ मा मृत्यु हुनुअघिसम्म नियमित रूपमा लुइस जान्थिन्। उनी संघीय न्यायाधीश थिइन्।

वंशविज्ञ लस्सन भन्छन् “तपाईं कसैलाई सम्मान गर्न चाहनुहुन्छ भने म्यारिएनलाई गर्नुहोस्। उनले टापुका लागि धेरै योगदान दिएकी छन्। डोनाल्ड त आए, फोटो खिचाए र तुरुन्तै गइहाले। उनले यहाँ धेरै प्रभाव छोडेनन्।”

साउन १०, २०८२ शनिबार १८:४३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।