शरीरभित्र माइक्रोप्लास्टिक: मस्तिष्कदेखि हड्डीसम्म फैलिएको जोखिम

एजेन्सी : लन्डनभन्दा झन्डै एक घण्टा उत्तरतर्फको हरफोर्डशायरको शान्त गाउँमा रहेको एक फाँट विश्वकै सबैभन्दा पुरानो कृषि परीक्षण स्थल हो।
सन् १८४३ मा विक्टोरियन समयका एक धनी जमिन्दार जोन बेनेट लॉजले आधुनिक मल प्रणालीको प्रयोग गर्दै गहुँ उत्पादन बढाउने उद्देश्यले यहाँ प्रयोग सुरु गरेका थिए।
त्यसबेला प्रविधि थिएन, त्यसैले माटो, गहुँको दाना र पराल संकलन गरेर सिसाको भाँडामा राख्ने काम गरिएको थियो। हाल हरपेनडेनस्थित रोथमस्टेड रिसर्च नामक संस्थामा राखिएको यस ऐतिहासिक संग्रहले पछिल्ला दुई शताब्दीमा मानव क्रियाकलापले पृथ्वीमा ल्याएको असर देखाउँछ।
रोथमस्टेड रिसर्चका वर्तमान अभिभावक एन्डी म्याकडोनाल्ड, भन्छन् “१९४० र ५० को दशकमा संकलन गरिएका माटोका नमूनामा रेडियोधर्मी अंश पाइन्छ, जुन त्यो समयको आणविक परीक्षणको असर हो। तर ती बोतलमा माइक्रोप्लास्टिक भेटिएको छ।”
एक अनुमान अनुसार, ब्यक्तीले वर्षमा ५२ हजारसम्म माइक्रोप्लास्टिकका कण खाइरहेका छौं। माइक्रोप्लास्टिक मानव शरीरभित्र प्रवेश गरिरहेको स्पष्ट छ। खानेकुराबाट, पिउने पानीबाट वा सास फेर्ने हावाबाट माइक्रोप्लास्टिक मानव शरिरभित्र प्रवेश गरिरहेको छ।
र्याल, रगत, थुक, दूध र अंगहरू, कलेजो, मिर्गौला, मस्तिष्क, प्वाँख र हड्डीभित्र समेत यो भेटिएको छ। म्याकडोनाल्डका अनुसार प्लास्टिकको युग सुरु हुनुअघि र पछिको नमूनाबीच स्पष्ट भिन्नता छ।
सन् १९२० तिरदेखि औद्योगिक स्तरमा प्लास्टिक प्रयोग सुरु भयो भने सन् १९६० पछि यसको प्रयोग तीव्र भयो। ट्र्याक्टरको टायरबाट वा वायुमार्गबाट माटोमा माइक्रोप्लास्टिक परेको अनुमान गर्न सकिन्छ।
माइक्रोप्लास्टिक र शरीरमा हुने असरहरू
२०२४ मा प्रकाशित अध्ययन अनुसार, सन् १९९० यता विश्वभर मानवहरूले माइक्रोप्लास्टिक सेवन गर्ने दर छ गुणा बढेको छ। तर यिनले हाम्रो स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने पत्ता लगाउन कठिन छ।
अध्ययनमा सन् २०२५ को सुरुमा लन्डनमा आठ जना स्वयंसेवकले माइक्रोप्लास्टिक मिसिएको घोल पिए। इम्पेरियल कलेज लन्डनकी शोधकर्ता स्टेफनी राइटका अनुसार, हामीमध्ये धेरैजना दैनिक जीवनमै यस्तो प्रयोग आफैंमा गरिरहेका हुन्छौं। चियाको प्लास्टिक थैली तातो पानीमा डुबाउनु, प्लास्टिकको कन्टेनरमा खाना तताउनु आदिले हामीले माइक्रोप्लास्टिक खाइरहेका छौँ।
"तातो पानी र तताउने प्रक्रिया प्लास्टिकबाट माइक्रोप्लास्टिक छुट्याउने सबभन्दा खराब अवस्था हो। त्यसैले हामीले यस्ता परिदृश्यबाट शरीरमा कति माइक्रोप्लास्टिक पस्यो भन्ने पत्ता लगाउन चाहेका हौं" राइटले भने।
१० घण्टासम्म रक्त परीक्षण गरेर संकलन गरिएका तथ्यांकले चिया पिएको वा रेडिमेड खाना खाएको अवस्थामा शरीरमा कति र कस्तो आकारको माइक्रोप्लास्टिक पर्छ भन्ने जानकारी दिनेछ।
राइटका अनुसार, माइक्रोप्लास्टिक शरीरमा पूर्णरूपमा विघटन हुने सम्भावना कम छ। यसले पुरानो सुन्निने प्रक्रिया वा अंगको क्षमतामा असर पार्ने चोट वा डाम बनाउन सक्ने सम्भावना रहन्छ।
भयावह अवस्था
२०२४ मा चीनका वैज्ञानिकहरूले हड्डी र मांसपेशीको नमूनामा माइक्रोप्लास्टिक फेला पारे। उनीहरूको अनुमान अनुसार, यस्ता कणले व्यायाम क्षमतामा असर पुर्याउन सक्छ।
यसै वर्ष इटालियन अनुसन्धानकर्ताहरूले माइक्रोप्लास्टिक मस्तिष्कमा रगत पुर्याउने क्यारोटिड धमनीमा भेटेका छन्। ती व्यक्तिहरूलाई हृदयघात, स्ट्रोक वा आकस्मिक मृत्युको खतरा ४.५ गुणाले बढी पाइयो।
२०२५ को फेब्रुअरीमा अमेरिकी वैज्ञानिकहरूले मृत व्यक्तिको मस्तिष्कमा माइक्रोप्लास्टिक फेला पारे। डिमेन्सियाबाट ग्रस्त व्यक्तिहरूको मस्तिष्कमा अन्यको तुलनामा १० गुणा बढी प्लास्टिक भेटिएको थियो।
प्रोफेसर म्याथ्यू क्याम्पेनका अनुसार, यी कणले मस्तिष्कको उच्च बोसो उपभोग क्षमताको फाइदा उठाएर लिपिडसँगै रक्तमार्ग हुँदै मस्तिष्कसम्म पुग्छन्।
डिमेन्सियाका बिरामीहरूमा रगत-मस्तिष्क अवरोध प्रणाली कमजोर हुने भएकाले यस्तो अवस्था थप खराब हुन सक्छ।
तर वैज्ञानिकहरू अझै माइक्रोप्लास्टिकले प्रत्यक्ष रूपमा डिमेन्सिया वा हृदय रोग गराउँछ भन्ने ठोकुवा गर्न सकेका छैनन्। बरु तिनीहरूले यसलाई अन्य जोखिम तत्वहरूसँग मिलेर रोगलाई बढाउने कारकको रूपमा हेर्छन्।
चुनौतीपूर्ण अनुसन्धान
प्रोफेसर फे कुसिरोका अनुसार माइक्रोप्लास्टिक एकै प्रकारको होइन, यसले अनेकौं प्रकारका कण, आकार र रसायन समेट्छ।
बोतलबन्द पानीमा मात्र २ लाख ४० हजार कण पाइएका छन्, जसमा कम्तीमा ७ प्रकारका प्लास्टिक (जस्तै: नायलन, पोलिस्टाइरीन आदि) पाइएको छ।
केही कणले वातावरणीय विष र भारी धातु अवशोषण गर्न सक्छन्। प्लास्टिकमा मिसाइएका रसायनले शरीरका हर्मोनसँग प्रतिक्रिया गर्न सक्छन्। अझ साना न्यानोप्लास्टिकहरू (१ माइक्रोनभन्दा साना) कोशिकाको भित्रै पस्न सक्छन्।
केही माइक्रोप्लास्टिक कणले औषधिको असरलाई समेत बिगार्न सक्छन्। क्यान्सरका बिरामीमा यस्ता कणले औषधिमा अवरोध पुर्याउने देखिएको छ।
कुसिरो अहिले अस्थामा र दीर्घश्वासप्रश्वास समस्याका बिरामीहरूको फोक्सोबाट आएको थुकमा माइक्रोप्लास्टिक कति पाइन्छ भन्ने अध्ययन गरिरहेकी छन्।
उनी कमजोर व्यक्तिको घरमै गएर हावाको नमूना संकलन गर्छिन्, र त्यहाँ भेटिएको प्लास्टिकले शरीरमा कस्तो असर पार्छ भन्ने बुझ्न कोशिका परीक्षण गर्छिन्।
निष्कर्ष र आगामी लक्ष्य
वैज्ञानिकहरू हाल “vascular organoids” भनिने रक्तनलीका कृत्रिम नमूनामा विभिन्न प्रकारका माइक्रोप्लास्टिक राखेर त्यसको असर अध्ययन गरिरहेका छन्।
प्रारम्भिक तथ्यांकअनुसार शरीरको हरेक किलोग्राम तौल अनुसार दिनको १०–१०० माइक्रोग्राम माइक्रोप्लास्टिकले दीर्घकालीन सूजन र चयापचय परिवर्तन ल्याउन सक्छ।
तर यी अध्ययनहरू प्रायः मुसामा गरिएको हुँदा मानवमा यसको पूर्ण प्रभाव निर्धारण गर्न समय लाग्नेछ। रोगी र बुढाबुढी मानिसमा प्रभाव अझ धेरै हुन सक्छ।
अनुसन्धानकर्ताहरूको उद्देश्य पर्याप्त प्रमाण संकलन गरेर प्लास्टिक उत्पादक कम्पनीहरूसँग संवाद गर्नु हो जसबाट प्लास्टिक उत्पादन अझ सुरक्षित बनाउन सकियोस्।
"माइक्रोप्लास्टिक त अब घरभित्रैको हावासम्ममा पनि छ। सुत्दा पनि सासमार्फत शरीरमा पसेको हुन्छ," कुसिरो भन्छिन् "यदि स्वास्थ्य प्रणालीमा प्रयोग हुने मास्क र ट्युब पनि प्लास्टिकका हुन् भने, हामी तिनको सुरक्षित विकल्प खोज्नुपर्छ।"
साउन १०, २०८२ शनिबार १८:२३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।