कमला नहरमा डुबेका बालकको शव मिर्चैयामा भेटियो

कमला नहरमा डुबेका बालकको शव मिर्चैयामा भेटियो

सिरहा : सिरहाको कर्जन्हा नगरपालिका–११ बगहास्थित कमला नहरमा डुबेर हराएका करिब छ वर्षीय बालकको शव एक दिनपछि मिर्चैयामा फेला परेको छ।

बिहीबार दिउँसो हजुरआमासँग भैँसी चराउन गएका दीपक महराका छोरा शिवा महरा नहरमा नुहाउने क्रममा डुबेर हराएका थिए। उनी कर्जन्हा–११ को बगहा पासवान टोल निवासी हुन्।

बालकको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खोजतलासका क्रममा शुक्रवार अपराह्न करिब ४ बजेतिर मिर्चैया नगरपालिका–३, वीरपुर बजारदेखि दक्षिणतर्फको कमला नहरमा बालकको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार बिहीबार बिहान करिब १० बजे बालक नहरमा डुबेको सूचना पाएको परिवारजन र स्थानीयले आफैँ खोजी सुरु गरेका थिए।

तर दिउँसो करिब २ : ३० बजेतिर मात्र घटना प्रहरीलाई जानकारी गराइएको थियो। खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर बालकको खोजी गरेको थियो भने शुक्रवार बिहानदेखि सुरु गरिएको खोजीका क्रममा शव मिर्चैया नहरतर्फ भेटिएको हो।

साउन १०, २०८२ शनिबार १७:३०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।