प्रचण्डको दाबी : राम्रो कामबाट डराएर षड्यन्त्र गरे

प्रचण्डको दाबी : राम्रो कामबाट डराएर षड्यन्त्र गरे

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा एकता भए मात्र दिगो हुने बताए।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्म शताब्दी तथा ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले माओवादी र एमाले मिलेर बनेको नेकपाको प्रसङ्ग निकाल्दै यस्तो बताएका हुन्।

उनले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यस विरुद्ध सङ्घर्ष गर्ने वाम शक्तिबिच एकता हुन सक्ने बताए। उनले नेकपामा आफूले राम्रो काम गरेपछि नेताहरू डराएर आफू विरुद्ध षड्यन्त्र गरेको दाबी समेत गरे।

“म पनि कम्युनिस्ट एकताको पक्षपाती हो। तर, विगतबाट पाठ सिक्नुपर्छ, नीति र विचारमा एकता हुनुपर्छ”, अध्यक्ष दाहालले भने, “दलाल, पुँजीवादका विरुद्ध एक हुने सङ्कल्प गर्नु पुष्पलालप्रति सम्मान हो, कम्युनिस्ट एकता त्यहीँबाट सुरु हुन्छ।”

पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने र त्यसको अनुसरण गरे मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताए।

“पुष्पलालले सही विचार, सही राजनीतिक रणनीतिसहित कार्यशैली र आचरणको आधारमा एकता भन्नुभएको हो, पुष्पलाल कम्युनिस्ट नामको साइनबोर्डका आधारमा एकताको पक्षमा हुनुहुन्थेन”, दाहालले भने, “अमूर्त कुराले एकता टिक्दैन, हुँदैन। कम्युनिष्टहरुसँग एकता हुन्छ कम्युनिस्ट विरोधीसँग कसरी एकता हुन्छ ? त्यो त विगतमा देखियो नि।”

उनले विगतको वाम एकतालाई जनता र कम्युनिस्ट कार्यकर्ताहरूले अनुमोदन गरे पनि त्यो एकता नटिकेको उल्लेख गर्दै यसको उत्तर नखोजी एकता हासिल नहुने बताए।

“आजको अन्तर्राष्ट्रिय शक्ति सन्तुलन परिस्थिति आजको राष्ट्रिय परिस्थिति क्षेत्रीय परिस्थिति उत्पादक शक्तिको विकासको अवस्था जनताको बिचको उत्पादन सम्बन्ध र त्यसबाट मानिस मानिसबीचको सम्बन्धको अवस्थाबारे विश्लेषण नगरी एकता हुँदैन रैछ”, उनले भने।

साउन १०, २०८२ शनिबार १७:२२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।