करोडपति बनेकी पार्वतीको इच्छा ऋण तिर्ने, विदेशमा भएका श्रीमानलाई नेपाल फर्काउने
काठमाडौँ : धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्की करोडपति बनिन्। कार्कीले असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपैयाँ नगद पुरस्कार जितेकी हुन्।
आठ वर्षअघि एनसेलको सिम किनेकी उनले असारको तेस्रो साता ९९ रुपैयाँको ‘बेसिक रिन्युअल’ प्याक किनेकी थिइन्। त्यसैको आधारमा उनले एक करोड जितिन्।
२०७२ सालको भूँइचालोमा धनसारमा सुतिरहेको एक महिनाको कान्छो छोरा गुमाइन्। भूँइचालोले छोरासँगै घरपूजा गर्ने तरखरमा रहेको घर पनि ढल्यो। आर्थिक अवस्थाले गाँजेपछि उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाइन्। उनको श्रीमान् बहराइनमा छन्। उनी महिला स्वास्थ्य स्वयंसेविका समेत हुन्।
एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनसेलको केन्द्रीय कार्यालयमा शुक्रवार आयोजित एक कार्यक्रममा कार्कीलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेका थिए।
बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन्।
“अहिले पनि श्रीमान् विदेश जाँदाको र अरू ऋण बाँकी छ, श्रीमानको स्वास्थ्य पनि राम्रो छैन। अब ऋण तिर्न रोगी शरीर घोटिनु परेन, नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ। छोरोको शिक्षामा लगानी गर्छौ”, उनले भनिन्।
एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितिन् भने अन्य ५० जना ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप एक लाख रुपैयाँ नगद पुरस्कार जिते।
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौँ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो।
साउन १०, २०८२ शनिबार १६:०७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।