बालेनले ज्यादती गरेको भन्दै कवाड व्यवसायीले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाए

बालेनले ज्यादती गरेको भन्दै कवाड व्यवसायीले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाए

काठमाडौं : नेपालमा लामो समयदेखि प्रचलित कवाड व्यवसायसँग संलग्न व्यवसायीहरूले काठमाडौं महानगरपालिकाले ज्यादती गरेको आरोप लगाएका छन्। कवाड व्यवसायी समाज नेपालले शनिबार गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीको सुरक्षाका लागि तत्काल हस्तक्षेपको माग गरेको छ।

कवाड व्यवसायीहरू सरकारले तोकेको कर तथा कानुनी दायरामा रही व्यवसाय गर्दै आएका छन्। उनीहरुले स्टील, प्लाष्टिक, कागज, मदिराजन्य, ब्याट्री तथा मेटल उद्योगलाई आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको र यसले देशको व्यापार घाटा कम गर्न मद्दत पुर्याएको जनाएका छन्।

संघका अध्यक्ष राम केवल गुप्ताका अनुसार अहिले देशभर एक लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा यस व्यवसायमा संलग्न छन्। वातावरणीय सरसफाईमा समेत यसको उल्लेख्य योगदान रहेको उनले बताए। 

तर, विगत दुई वर्षदेखि काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गरी ‘गुण्डागर्दी शैली’मा कवाड व्यवसायी, संकलक मजदुरमाथि कुटपिट, अपहरण तथा संरचनाहरू भत्काउनेजस्ता कार्य गर्दै आएको व्यवसायीको गुनासो छ। केही घटनामा मजदुरको टाउको फुट्ने र अङ्गभङ्गसमेत भएको जनाइएको छ।

व्यवसायीहरूले मेयर बालेन्द्र शाहमाथि पनि गम्भीर आरोप लगाएका छन् । ज्ञापन पत्रमा भनिएको छ, ‘मेयर शाहले काठमाडौंबाट गरिब र श्रमिक वर्गलाई हटाउने नीति लिएका छन्।’ यो नीतिलाई उनीहरूले प्रतिगामी भनेका छन्। 

कवाड व्यवसायी समाज नेपालले सरकारसँग व्यवसायीको ज्यान-मालको सुरक्षा सुनिश्चित गर्न, कुटपिट र संरचना भत्काउने कार्य तत्काल रोकिन, तथा श्रमिकहरूमाथि भइरहेको ज्यादतीको छानबिन गर्न आग्रह गरेको छ।

साउन १०, २०८२ शनिबार १५:३५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।