छाता र रेनकोट आएपछि हरायो ‘छतरी’

कञ्चनपुर : थारु समुदायको मौलिक पहिचान बोकेको बाँसको छतरी (छाता) हराउँदै गएको छ। खेत-खलिहानमा काम गर्दा वा गोठाला जाँदा प्रयोग हुने परम्परागत छतरी अहिले स्मृतिमा सीमित हुँदै गएको स्थानीयको भनाइ छ।
शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका धनिराम चौधरीका अनुसार खेतमा गोरु जोत्न, बीउ छर्ने वा बर्सातमा काम गर्न जाँदा छतरी आवश्यक वस्तु मानिन्थ्यो। बलियो पहाडी बाँस र महुराइन (मालु)को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि भएको उनी सम्झिन्छन्।
‘छतरी हलुका मात्रै होइन, पानी रोक्ने हिसाबले पनि अद्भुत थियो,’ उनले सुनाए, ‘बूढेसम्म घरमै बनाएको छतरी ओढेको सम्झना अझै छ। अहिले त्यो दिन त सपना जस्तै लाग्छ।’
छतरी केवल आवश्यक वस्तु नभई थारु समुदायको सांस्कृतिक चिनारी पनि भएको चौधरी बताउँछन्। बाँसको चोया बुनेर महुराइनको पात भित्र राखी बनाइने छतरी घाम र पानी दुवैबाट जोगाउने उपाय थियो।
‘पहाडबाट ल्याइने बलियो बाँसको छतरी पाँच वर्षभन्दा बढी टिक्थ्यो,’ चौधरीले बताए, ‘समुदायमा तीन प्रकारका छतरी थिए- ठूलो गोलो छतरी जसले शरीरको अधिकांश भाग छोप्थ्यो, मुरमुख्खी जसले टाउको मात्र ढाक्थ्यो, र स्यांगो, जुन त्रिकोण आकारको हुन्थ्यो र पूरै शरीर ढाक्थ्यो।’
हाल ती सबै छतरी प्रयोगबाट हराउँदै गएको उनले बताए। आधुनिक छाता, रेनकोटजस्ता सस्तो र सहज विकल्प सजिलै बजारमा पाइने भएपछि परम्परागत सीप हराउँदै गएको शुक्लाफाँटाका अर्का स्थानीय कलंकबहादुर चौधरीको भनाइ छ।
उनका अनुसार परम्परागत छतरी बनाउन प्रयोग हुने बाँस र महुराइनको पात चुरे क्षेत्रका वनबाट सङ्कलन गरिन्थ्यो। तर अहिले वन प्रवेशमा प्रतिबन्ध, पात संकलनमा झन्झट र कानुनी जटिलता बढेपछि छतरी निर्माणको चलन बन्द भएको छ।
हवलदार चौधरी भन्छन्, ‘पहिला ससुराली जाँदा छतरी, सुप्पा र मचिया उपहार दिने चलन थियो। अहिले ती परम्परागत वस्तुहरू उपहारमा दिने चलन पनि हराएको छ। महुराइनको पात पवित्र मानिने हुँदा पूजा-पाथमा प्रयोग हुने दुना, टपरी पनि त्यही पातबाट बनाइन्थ्यो। अहिले त्यो स्थान सातको पातले लिएको छ।’
उनका अनुसार आधुनिक छाता र प्लास्टिकका सामग्रीप्रति युवापुस्ताको आकर्षण बढ्दै जाँदा, र परम्परागत सीप सिकाउने बुढापाका घट्दै जाँदा, छतरीजस्ता मौलिक वस्तु लोप हुने अवस्थामा पुगेका छन्। लोप हुँदै गएका यस्ता वस्तुहरूको जगेर्ना गरेर हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ छ।
‘छतरी थारु समुदायको केवल आवश्यकता होइन, पहिचान हो,’ चौधरीले भने, ‘यसको संरक्षण नभए भविष्यमा छतरी केवल तस्बिर वा सङ्ग्रहालयमा मात्र सीमित हुने खतरा छ।’
उनले स्थानीय सरकार र सरोकारवाला निकायहरूलाई समयमै सचेत भई परम्परागत सीप संरक्षण र सांस्कृतिक जागरण अभियान सुरु गर्न आग्रह गरेका छन्।
साउन १०, २०८२ शनिबार १३:१८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।