डा. शकुन्तलाको उपचार अनुभवः जाँच गर्दा-गर्दै २४ वर्षीया गर्भवती बेहोस भएर ढलेपछि...

डा. शकुन्तलाको उपचार अनुभवः जाँच गर्दा-गर्दै २४ वर्षीया गर्भवती बेहोस भएर ढलेपछि...

जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीइएम) तथा स्त्रीरोग विशेषज्ञ डा. शकुन्तला गुप्ता सबै किसिमका रोगको उपचार गर्ने विधाकी चिकित्सक हुन्। काठमाडौं उपत्यका बाहिर रहेर, विशेषगरी गाउँका बिरामीको दुःख तथा पीडा नजिकबाट देखेकी उनले चिकित्सकीय पेशाको सिलसिलामा देखेका र भोगेका अनुभव उकेरासँग साटेकी छन्।

जाँच गर्दै गर्दा २४ वर्षीया गर्भवती बेहोस भएर ढलेपछि...

मृत्युको मुखमा पुगेका कैयौं बिरामीलाई औषधि उपचार गरी बचाएको सम्झिन्छिन् डा. शकुन्तला। बिरामीलाई बचाउने अधिकतम कोशिश गर्नु नै उनको चिकित्सकीय पेशाको धर्म र कर्म हो।

डा. शकुन्तला मृत्युको मुखमा पुगेकामध्ये एक गर्भवती युवतीलाई बचाएको प्रसंग कहिल्यै भुल्दिनन्। प्रसंग करिब आठ वर्ष अघिको हो। करिब २४ वर्षकी गर्भवती युवती अस्पताल पुगिन्। ती युवतीको ओपीडीमा स्वास्थ्य परीक्षण गरियो। ती युवती करिब सात हप्ताकी गर्भवती थिइन्। उनी पहिलो सन्तान जन्माउनका लागि गर्भवती भएकी थिइन्।

ती गर्भवतीको भिडियो एक्स-रे गरियो। भिडियो एक्स-रे गर्दा भ्रूण पाठेघरमा नबसी पाठेघर बाहिरको नलिमा बसेको थाहा भयो। तर, भिडियो एक्स-रे गर्दागर्दै ती गर्भवती हेर्दाहेर्दै ढलिन् र बेहोस अवस्थामा पुगिन्। तुरुन्तै ती गर्भवती युवतीको शल्यक्रिया नगरे ज्यानै जाने जोखिम उच्च भयो।

चिकित्सकको टिमले ती गर्भवतीलाई हतारहतार शल्यक्रिया कक्षमा लग्यो। शल्यक्रिया कक्षमा ती गर्भवतीको शल्यक्रिया सुरु गरियो। पेटमा रक्तश्राव भइरहेको थियो। शल्यक्रियाको क्रममा उच्च रक्तश्राव भयो। रगत दिइयो। नलीमा बसेको भ्रूण निकालेर फालियो।

धन्न, शल्यक्रिया सफल भयो। युवतीलाई वार्डमा सारियो। ती युवतीको गर्भको भ्रूण त बचाउन सम्भव भएन। तर, चिकित्सकको टिम ती युवतीको ज्यान भने बचाउन सफल भयो।

अस्पतालबाट डिस्चार्ज हुँदा ज्यान बचाइदिने चिकित्सकहरूप्रति कृतज्ञ हुँदै ती युवती घर फर्किइन्। मृत्युको मुखमा पुगेकी ती युवतीलाई बचाएको त्यो क्षण सम्झँदा अझै डा. शकुन्तलालाई आनन्द लाग्छ।


शल्यक्रिया गरेर बच्चा जन्माउने क्रममा अत्यधिक रक्तश्राव भएपछि...

अर्की एक जना सुत्केरी महिलालाई बचाएको प्रसंग पनि डा. शकुन्तला कहिल्यै भुल्दिनन्। प्रसंग केही वर्ष अघिको हो।

करिब २९ वर्षकी महिलालाई दोस्रो सन्तान जन्माउनका लागि अस्पताल पुर्याइयो। पहिलो सन्तान जन्माउँदा पनि ती महिलाको शल्यक्रिया (सिजेरियन सेक्शन) गरिएको थियो।

ती महिलाको दोस्रो सन्तान जन्माउँदा पनि शल्यक्रिया नै गर्नुपर्ने भयो। त्यसैले ती महिलालाई अस्पताल भर्ना गरियो। शल्यक्रिया गरेर बच्चा निकालियो। तर, साल निकाल्ने क्रममा अचानक अत्यधिक रक्तश्राव भयो। रगत दिइयो। तर, रक्तश्राव रोकिएन। हेर्दाहेर्दै ती महिलाको अप्रेशन टेबलमै ज्यान जाने जोखिम बढ्यो।

ती महिलाको थप शल्यक्रिया गरी सालसँगै पाठेघर नै ननिकाले ज्यान बचाउन नसकिने अवस्था आयो। त्यसैले चिकित्सकको टिमले ती महिलाको पाठेघरसँगै साल निकाल्यो।

अनि रक्तश्राव रोकियो। शल्यक्रिया सफल भयो। महिलालाई पोस्ट अपरेटिभ वार्ड हुँदै जनरल वार्डमा सारियो। आमा र नवजात शिशु दुवैको ज्यान बच्यो। ती महिलाको स्वास्थ्य सुधार हुँदै गयो। केही दिनको अस्पताल बसाइपछि ती महिला अस्पतालबाट डिस्चार्ज भइन्।

आफ्नो नवजात सन्तानलाई न्यानो काखमा च्यापेर मुस्कुराउँदै अस्पतालबाट डिस्चार्ज भएको देख्दा डा. शकुन्तलालाई निकै आनन्द लाग्यो।


पाठेघरको मुखको क्यान्सर भएकी ती महिला

त्यसैगरी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ पनि गर्छिन् डा. शकुन्तला। एक पटक क्यान्सर स्क्रिनिङ गर्ने क्रममा नै करिब २८ वर्षकी महिलाको पाठेघरको मुखको क्यान्सर भएको पत्ता लाग्यो। त्यसपछि बायोप्सी गर्दा पनि ती महिलाको क्यान्सर पुष्टि भयो।

ती महिलालाई औषधि उपचार र शल्यक्रियाका लागि चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा पठाइयो। त्यहाँ उनको शल्यक्रिया र औषधि उपचार भयो। पाठेघर फाल्नुकासाथै औषधि उपचारपछि ती महिला बाँचेको उनले अनुभव सुनाइन्। अहिले पनि ती महिला फलोअपमा पुग्ने गरेको डा. शकुन्तला बताउँछिन्।


गौरमा जन्म, रसियामा एमबीबीएस

रौतहटको गौरमा २०३१ मा जन्मिएकी शकुन्तलाले २०४६ मा स्थानीय श्री जुद्ध माध्यमिक विद्यालयबाट एसएलसी गरिन्। उनले भारतबाट आइएससी गरिन्।

शकुन्तलाका बुवा पनि चिकित्सक नै थिए। त्यसैले उनी पनि डाक्टर नै बन्ने पारिवारिक माहोल बन्यो। उनलाई पनि डाक्टर नै बन्ने रहर लाग्यो।

त्यसैले शकुन्तलाले एमबीबीएस अध्ययनका लागि तयारी गरिन्। छनोट परीक्षा दिइन्। छनोट परीक्षामा सफल भइन्।

छनोट परीक्षामा सफल भएर शकुन्तला एमबीबीएस अध्ययनका लागि रसिया पुगिन्। रसियाको तत्कालीन ‘कीर्गिस्तान स्टेट मेडिकल एकेडेमी’ मा सन् १९९४ मा भर्ना भएर एमबीबीएस अध्ययन गर्न थालिन्। सन् २००१ मा एमबीबीएस अध्ययन पूरा गरेर शकुन्तला नेपाल फर्किइन्।

नेपाल फर्किएपछि उनले विभिन्न अस्पतालमा इन्टर्नसिप गरिन्। त्यसपछि डा. शकुन्तलाले चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा करिब दुई वर्ष करार मेडिकल अधिकृतको रूपमा जागिरे भएर काम गरिन्।

बङ्गलादेशबाट प्रसूति तथा स्त्रीरोग विषयमा उनले एक वर्षे डिप्लोमा समेत गरिन्।

छनोटमा सबै रोगको उपचार र सरकारी जागिरमा प्रवेश

डा. शकुन्तलाको थप अध्ययन गर्ने भोक मर्ने कुरै भएन। उनी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि २००५ मा भर्ना भइन्। चिकित्साशास्त्रको स्नातकोत्तर तहमा ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीईएम)’ विषय नै डा. शकुन्तलाको रोजाइमा पर्यो। र, यही विषय उनले पढिन्।

उनलाई नेपालका गाउँगाउँमा पुगेर सबै किसिमका स्वास्थ्य समस्या भएका बिरामीको उपचार गर्ने विषय यही हो भन्ने महसुस भयो। त्यसैले उनले एमडीजीपीईएम नै विषय छनोट गरिन्। सन् २००८ मा डा. शकुन्तलाले तीन वर्षे एमडीजीपीईएम अध्ययन पूरा गरिन्।

एमडीजीपीईएम अध्ययनपछि उनले वीपी प्रतिष्ठानमै लेक्चररका रूपमा करार जागिरे भएर काम गर्न थालिन्। त्यहाँ उनी बढुवा भएर एसोसिएट प्रोफेसरसम्मको भूमिकामा रहेर काम गरिन्। त्यहाँ करिब चार वर्ष काम गरेपछि डा. शकुन्तला सरकारी जागिरमा प्रवेश गरिन्।

डा. शकुन्तला लोकसेवा परीक्षामार्फत २०६७ मा मेडिकल अधिकृत आठौँ तहकी चिकित्सकका रूपमा सरकारी स्थायी जागिरमा प्रवेश गरिन्। सरकारी जागिरे भएपछि उनको पहिलो पोष्टिङ कपिलवस्तुको प्राथमिक स्वास्थ्य केन्द्रमा भयो। त्यहाँ करिब एक वर्ष काम गरेपछि उनी सरुवा भएर बुटवलको तत्कालीन लुम्बिनी अञ्चल अस्पताल पुगिन्। हाल त्यो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा परिणत भइसकेको छ। त्यहाँ रहँदा नै उनी बढुवा हुँदै नवौँ र दसौँ तहमा पुगिन्।

एकातर्फ डा. शकुन्तला एमडीजीपीईएम अध्ययन गरेकी चिकित्सक हुन्, अर्कातर्फ उनले प्रसूति तथा स्त्रीरोग विषयमा समेत डिप्लोमा गरेकी छन्। त्यसैले प्रसूति तथा स्त्रीरोगसँग सम्बन्धित समस्या भएका बिरामीको उपचारमा केन्द्रित भएर धेरैको ज्यान बचाएको उनले सम्झन्छिन्।


कोरोना कालको त्यो कहालि लाग्दो अनुभव 

हालको लुम्बिनी प्रादेशिक अस्पतालमा करिब दश वर्ष काम गरेपछि डा. शकुन्तला २०७७ को भदौमा सरुवा भएर भीम (जिल्ला) अस्पतालमा पुगिन्। त्यहाँ उनलाई अस्पताल प्रमुखको जिम्मेवारी दिएर पठाइयो। त्यो बेला नेपालमा कोरोना भाइरस संक्रमणले आतङ्क बनाएको अवस्था थियो। त्यो बेला भीम अस्पताल कोभिड डेडिकेटेड अस्पतालका रूपमा रहेको थियो। कोरोना भाइरस संक्रमणको समयमा भोकतिर्खा नभनी अस्पतालमा बिरामीलाई बचाउन अहोरात्र खटिएको डा. शकुन्तला सम्झिन्छिन्।

त्यो बेला अक्सिजन अभावले कोरोना संक्रमित बिरामी छटपटाएको सम्झँदा अझै उनको मन भारी हुन्छ। कोरोना भाइरस संक्रमणले उग्र रूप लिएको समयमा अक्सिजन, भेन्टिलेटरलगायतको व्यवस्थापन गरी संक्रमित बिरामीलाई बचाएको त्यो बेलाको चुनौतीपूर्ण अनि काहालिलाग्दो अवस्था सम्झँदा अझै उनको मन भारी हुन्छ।

करिब तीन वर्षपछि, २०८० मा डा. शकुन्तला सरुवा भएर पुनः लुम्बिनी प्रादेशिक अस्पतालमा पुगिन्। त्यो बेला लुम्बिनी प्रादेशिक अस्पतालमा उनले करिब दस महिना काम गरिन्। डा. शकुन्तला २०८१ मा सरुवा भएर पुनः भीम अस्पताल नै पुगिन्। उनी हालसम्म त्यहीँ कार्यरत छिन्। कर्मचारी समायोजनमा प्रदेश अन्तर्गत समायोजन भएकी डा. शकुन्तला हाल भीम अस्पतालमा प्रमुखको जिम्मेवारीमा कार्यरत छिन्। भीम अस्पतालमा हाल बिरामीको चाप बाक्लो रहेको उनले सुनाइन्। हाल सो अस्पतालमा एक दर्जन विशेषज्ञ चिकित्सक कार्यरत रहेको डा. शकुन्तलाले सुनाइन्।

एमडीजीपीईएम अध्ययन गरेका चिकित्सकको काम नै सबैभन्दा पहिले सबै किसिमका स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य जाँच र औषधि उपचार गर्नु हो। त्यसपछि थप विशेषज्ञ चिकित्सकको आवश्यकता परेमा सम्बन्धित विशेषज्ञ चिकित्सक कहाँ बिरामी पठाउनु एमडीजीपीईएम अध्ययन गरेका चिकित्सकको चिकित्सकीय पेशाको मर्म हो। त्यसैले एमडीजीपीईएम अध्ययन गरेका चिकित्सकलाई कतिपय बिरामीले थाहा नपाएर सबै रोगको उपचार गर्ने कस्तो डाक्टर होला? भनेर दुविधामा पर्ने गरेको समेत देखिएको डा. शकुन्तलाले अनुभव सुनाइन्।

नेपालजस्तो भौगोलिक बनावट भएको क्षेत्रमा एमडीजीपीईएम गरेका चिकित्सकको संख्या थप उत्पादन गरेमा गाउँगाउँका बिरामीले सहज उपचार पाउने उनको सुझाव छ।

डा. शकुन्तलाको घर कपिलवस्तु हो। उनका श्रीमान् पनि चिकित्सक नै हुन्। उनीहरूका एक छोरा छन्। पारिवारिक सहयोगका कारण नै यो पेशा गर्न सम्भव भएको डा. शकुन्तलाले सुनाइन्।

साउन १०, २०८२ शनिबार ११:३२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।