पोखरा-मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

पोखरा-मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

पोखरा : पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत पश्चिमतर्फको पोखरा-जामुने खण्डको भौतिक प्रगति हालसम्म ५५.१० प्रतिशत मात्रै पुगेको छ भने वित्तीय प्रगति पनि ४२.५० प्रतिशतमा सीमित छ।

कुल ३८.८८ किलोमिटर दूरीमध्ये हालसम्म ३७.७० किलोमिटरमा एकतर्फी कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ।

मुख्य इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमी सडक दुईतर्फी (चार लेन) र १०.३२ किमी सडक एकतर्फी (दुई लेन) कालोपत्र गरिएको हो।

यो खण्डको निर्माण कार्य सन् २०७८ सालको भदौदेखि सुरु गरिएको हो। तर निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि दुईपटक म्याद थपिएको थियो। अहिले पनि ठेक्का अवधि आगामी पुस महिनामा मात्र सकिनेछ।

चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले यो सडक खण्डको काम गरिरहेको छ।
इन्जिनियर कुँवरका अनुसार यो खण्डमा पर्ने १३ पुलमध्ये ११ वटा बनिसकेका छन् भने दुई पुल अझै निर्माणाधीन छन्। १०५ वटा कल्भर्टमध्ये १०३ वटा सकिएको जानकारी पनि उनले दिए।

तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो।

कास्कीको विजयपुर र सेती खोलामा पुल निर्माणको काम अझै जारी छ। विजयपुर पुलको ६०% र सेती पुलको ४८% मात्रै काम सकिएको छ। विजयपुर पुल बनाउन अझै ५–६ महिना लाग्ने इन्जिनियर कुँवरले बताए।

सेती पुलको निर्माणको जिम्मा २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले लिएको हो। तर, डिजाइन स्वीकृतदेखि संरचना हटाउने कामसम्म ढिलाइ भएकाले निर्माणमा ढिलो भएको हो।

छ लेनको आकर्षक डिजाइनमा बन्ने यो सिग्नेचर पुल चाइना पुलको माथि-तल दुई तहमा निर्माण हुनेछ। हाल सब–स्ट्रक्चरको काम सकिएर सुपर-स्ट्रक्चर निर्माण हुँदैछ।

यो पुल भ्याटबाहेक ९४ करोड रुपैयाँमा निर्माण हुँदैछ, जसमा कङ्क्रिट र फलामको प्रयोग भएको छ।

५० वर्ष पुरानो पृथ्वी राजमार्गको यो सडक एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति हुँदैछ। निर्माणमा अवरोध नआएमा सडक स्तरोन्नतिको काम आगामी हिउँदभित्र सकिने आयोजनाको दाबी छ।

यो सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन) मा भने भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ।

साउन १०, २०८२ शनिबार १०:३९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।