कृत्रिम गर्भाधानबाट सन्तान जन्माउन चाहनेको स्वास्थ्यमा गम्भीर खेलवाड, तालिमे इम्ब्रियोलोजिष्टको भरमा आईभीएफ सेन्टर

काठमाडौं : कृत्रिम विधिबाट सन्तान जन्माउन सघाउने भन्दै लाखौं सेवा शुल्क लिएर सञ्चालनमा रहेका आईभीएफ सेन्टरहरू अयोग्य जनशक्तिको भरमा चलिरहेको खुलेको छ। यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी जानकार छन्। तर, दक्ष जनशक्ति तोक्दा आईभीएफै नचल्ला भनेर मौन छन्।
मन्त्रालयको कमजोरीका कारण नेपालमा सञ्चालित आईभीएफहरूमा बिना दर्ताका ‘फेलोसिप र तालिमे स्वघोषित इम्ब्रियोलोजीष्ट’को भरमा चलिरहेको उकेराको खोजमा खुलेको हो। यसले सन्तानको आशमा लाखौँ रकम खर्च गरिरहेका दम्पतीको स्वास्थ्यमै गम्भीर असर पर्ने जोखिम देखियो।
तर, जनस्वास्थ्य अनुगमन र नियन्त्रणको जिम्मेवारी पाएको मन्त्रालय नै अवैध गतिविधिलाई प्रोत्साहित गर्न सक्रिय देखियो।
इम्ब्रियोलोजिष्टको काम पुरुषको शुक्रकीट र महिलाको डिम्ब सङ्कलन गरेर कृत्रिम तरिकाले निषेचन गराएर भ्रूण बनाइ आमाको गर्भमा राख्नु हो। भ्रूण बनाउनेदेखि भ्रूण गर्भमा राखेर गर्भधारण गराउनेसम्मको महत्त्वपूर्ण प्रक्रियामा इम्ब्रियोलोजिष्ट अनिवार्य हुन्छ।
आईभीएफ सेन्टरमा इम्ब्रियोलोजिष्ट आवश्यक हुने भए पनि नेपालमा जम्मा एक जना मात्र इम्ब्रियोलोजिष्ट दर्ता छन्। तर दर्ता भएको आईभीएफको संख्या २५ छ।
स्वास्थ्य मन्त्रालयले आईभीएफ सञ्चालनका लागि ‘इम्ब्रियोलोजी ल्याब’मा अनिवार्य रूपमा इम्ब्रियोलोजिष्ट वा एआरटी स्पेसियालिष्ट हुनु पर्ने मापदण्ड त राखेको छ तर, ती इम्ब्रियोलोजिष्ट वा एआरटी स्पेसियालिष्ट भनिएकाहरू नेपाल स्वास्थ्य व्यवसायी परिषद्जस्तो नियामक निकायमा समेत दर्ता भएका छैनन्।
मापदण्ड बाहिर सञ्चालित आईभीएफहरूलाई नियमन गर्ने स्वास्थ्य मन्त्रालयले नै उनीहरूलाई सहजीकरण गर्न कमजोर मापदण्ड (चेकलिष्ट) बनाएर दर्ता बिनाका इम्ब्रियोलोजी वा एआरटी स्पेसियालिटीमा फेलोसिप र तालिम गरेका व्यक्तिकै भरमा आईभीएफ सेन्टरलाई सञ्चालन इजाजतपत्र दिइरहेको छ।
दर्ता इम्ब्रियोलोजिष्ट एक , इजाजत पाएका आईभीएफ २५
स्वास्थ्य मन्त्रालयले आईभीएफ सञ्चालन सम्बन्धी मापदण्ड (चेकलिष्ट) मा आईभीएफ सेन्टर सञ्चालनका लागि ‘कम्तीमा एक जना इम्ब्रियोलोजिष्ट-एआरटी स्पेसियालिष्टको व्यवस्था भएको हुनुपर्ने’ उल्लेख छ। त्यो नै चेकलिष्टको कमजोरी देखिन्छ। त्यही कमजोर मापदण्डको छिद्रमा खेलेर आईभीएफ सेन्टर सञ्चालनमा छन्।
स्वास्थ्य मन्त्रालयको मापदण्ड(चेकलिष्ट) हेर्दा आईभीएफको ‘इम्ब्रियोलोजी ल्याब’मा ‘इम्ब्रियोलोजिष्ट वा एआरटी स्पेसियालिष्ट (एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजिष्ट -एआरटी)’ हुनुपर्छ।
आईभीएफ सेन्टर सञ्चालनको स्पष्ट मापदण्ड र निर्देशिका नहुँदै स्वास्थ्य मन्त्रालयले २०७९ यता २५ वटा सेन्टरलाई सञ्चालन इजाजतपत्र दिइसकेको छ। यी आईभीएफ सेन्टरहरूमा काम गर्ने ‘इम्ब्रियोलोजी ल्याब’मा ‘इम्ब्रियोलोजिष्ट वा एआरटी स्पेसियालिष्ट’ सरकारी निकाय (काउन्सिलहरू)मा दर्ता हुनुपर्ने हो।
तर, नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी)मा हालसम्म एक जना अशोक कुमार झा मात्रै ‘इम्ब्रियोलोजिष्ट’का रूपमा दर्ता भएको परिषद्का अध्यक्ष सुबोध शर्माले उकेरालाई जानकारी दिए। परिषद्मा दर्ता भएका उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईभीएफ सेन्टरमा कार्यरत छन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् चिकित्सक, नर्स र फार्मेसीष्ट बाहेकका स्वास्थ्यकर्मी दर्ता हुने आधिकारिक नियामक निकाय हो।
स्वास्थ्य व्यावसायिक परिषद्मा इम्ब्रियोलोजिष्टका रूपमा दर्ता हुनका लागि विश्वविद्यालयको कम्तीमा एक वर्ष स्वास्थ्य विज्ञान विषयमा शैक्षिक कोर्स अध्ययन गरेकै हुनुपर्ने अध्यक्ष शर्माले जानकारी दिए।
‘दर्ताका लागि एकेडेमिक कोर्स नै हुनुपर्छ,’अध्यक्ष शर्माले भने,‘तालिमका भरमा दर्ता हुँदैन।’
काउन्सिलमा दर्ता भएको स्वास्थ्यकर्मीले एक वर्षे फेलोसिप गरेको खण्डमा त्यो फेलोसिपको पनि दर्ता (कोर्स एड) हुने उनले बताए। तर, एक वर्ष भन्दा कमको इम्ब्रियोलोजी सम्बन्धी तालिम वा फेलोसिप परिषद्मा दर्ता नै नहुने शर्माले प्रस्ट पारे।
‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजिष्ट (एआरटी)’ त इम्ब्रियोलोजी सम्बन्धी तालिम गरेको विज्ञको लागि सहयोगी मात्रै हुने उनले बताए। नेपालमा ‘एआरटी’ सम्बन्धी एक वर्ष भन्दा कमको तालिम हुने भएकाले एआरटी सम्बन्धी तालिम काउन्सिलमा दर्ता नहुने शर्माले प्रस्ट पारे।
अध्यक्ष शर्माको जानकारीबाट समेत निजी आईभीएफ सेन्टरहरूमा विश्वविद्यालयका शैक्षिक कोर्स गरेका इम्ब्रियोलोजिष्ट नभई अधिकांश सामान्य तालिम र फेलोसिप गरेका व्यक्तिले काम गरिरहेको प्रस्ट हुन्छ।
नेपाल मेडिकल काउन्सिल (एनएमसी) चिकित्सकहरूको मात्रै नाम दर्ता गर्ने संस्था हो। त्यसैले ‘इम्ब्रियोलोजिष्ट’को दर्ता नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा नै हुनुपर्ने अध्यक्ष शर्माले जानकारी दिए।
तर, त्यहाँ एक जना मात्रै इम्ब्रियोलोष्टी दर्ता हुनुले शिक्षण अस्पताल बाहेकका आईभीएफ सेन्टरहरू तालिमे र फेलोसिप गरेका कच्चा जनशक्तिको भरमा जोखिमपूर्ण रूपमा चलेको प्रस्टै देखिन्छ।
उता नेपाल नर्सिङ काउन्सिलकी रजिस्ट्रार शुक्ला खनालले पनि हालसम्म कोही पनि ‘इम्ब्रियोलोजिष्ट’ वा ‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजिष्ट (एआरटी)’ नर्सिङ काउन्सिलमा दर्ता नभएको जानकारी दिइन्।
‘दर्ता भएको छैन, हाम्रो नियमावलीमा एकेडेमीक नै हुनुपर्छ,’उनले भनिन्,‘एक वर्षसम्मको फेलोसिपलाई तालिम नै मानिन्छ।’
रजिस्ट्रार खनालले कम्तीमा १८ महिना नर्सिङ विषयसँग सम्बन्धित शैक्षिक अध्ययन गरेका व्यक्तिको मात्रै नर्सिङ काउन्सिलमा दर्ता हुने जानकारी दिइन्।
मेडिकल काउन्सिलमा डाक्टरमात्रै दर्ता
उता ‘इन भिट्रो फर्टिलिटी (आईभीएफ)’ र ‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी)’ जस्ता विषयमा फेलोसिप तथा तालिम लिएका केही स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूको सो फेलोसिप तथा तालिम काउन्सिलमा दर्ता भएको देखिएको नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतीषकुमार देवले जानकारी दिए।
चिकित्सक (स्त्रीरोग विशेषज्ञहरू)को मात्रै इम्ब्रियोलोजी, एआरटी र आईभीएफ सम्बन्धी तालिम तथा फेलोसिप मेडिकल काउन्सिलमा दर्ता हुने उनले बताए।
काउन्सिल स्रोतले उकेरालाई उपलब्ध गराएको एक तथ्य अनुसार गत वर्ष २०८१ मा ‘इन भिट्रो फर्टिलिटी (आईभीएफ)’, र ‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी)’ जस्ता विषयमा फेलोसिप र तालिम लिएका २१ जना चिकित्सकको सो फेलोसिप र तालिम काउन्सिलमा दर्ता भएको देखिएको छ।
यस्तो तालिम लिनेमा अधिकांश महिला चिकित्सक नै देखिएका छन्। काउन्सिलका रजिस्ट्रार डा. देवले कम्तीमा एक वर्षको फेलोसिप मात्रै दर्ता हुने बताए।
‘हामीले दर्ता गर्ने एक वर्ष भन्दा बढीको फेलोसिप हुन्छ,’ रजिस्टार देवले भने,‘त्यो भन्दा कम त हामी दर्ता नै गर्दैनौँ।’
तर, मेडिकल काउन्सिलमा दर्ता भएकामध्ये कति चिकित्सकले आईभीएफ सेन्टरमा इम्ब्रियोलोजिष्ट समेतको रूपमा काम गरिरहेका छन् भन्ने एकिन छैन।
उकेरालाई प्राप्त तथ्य अनुसार गत वर्ष एक जना पनि इम्ब्रियोलोजी सम्बन्धी फेलोसिप र तालिम लिएका चिकित्सकको मेडिकल काउन्सिलमा नाम दर्ता देखिएन। यसबाट समेत मन्त्रालयले कति कमजोर मापदण्डका भरमा आईभीएफ सेन्टर सञ्चालनको अनुमति दिएर जनस्वास्थ्यमाथि खेलवाड गराइरहेको छ भन्ने प्रस्ट हुन्छ।
तालिमे इम्ब्रियोलोजिष्टको भरमा आईभीएफ सेन्टर
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको आईभीएफ सेन्टरका इम्ब्रियोलोजिष्ट अशोक कुमार झाले उकेरासँगको कुराकानीमा आफ्नो प्रमाणपत्र शिक्षण अस्पतालबाहेक कुनै आईभीएफ सेन्टरमा इजाजतपत्रको लागि प्रयोग नभएको दाबी गरे।
उनको भनाइबाट समेत अधिकांश फेलोसिप र तालिमे इम्ब्रियोलोजिष्टकै भरमा आईभीएफ सेन्टरहरू सञ्चालनमा रहेको प्रस्ट हुन्छ।
उकेराले अहिले चलिरहेका आईभीएफ सेन्टरको एक दर्जन वेबसाइडमा ‘इम्ब्रियोलोजीष्ट र एआरटी स्पेसियासियालिष्ट’ रहेको उल्लेख गरेको पाइयो। तर ती अधिकांश ‘इम्ब्रियोलोजी र एआरटी स्पेसियासियालिटी’ को अध्ययन (तालिम र फेलोसिप) गरेका व्यक्ति रहेको देखिन्छ।
यसरी हेर्दा स्वास्थ्य मन्त्रालयबाट सञ्चालनका लागि इजाजतपत्र लिएकामध्ये ‘इम्ब्रियोलोजी र एआरटी स्पेसियासियालिटी’को फेलोसिप तथा तालिम गरेका व्यक्तिकै भरमा आईभीएफ सञ्चालन रहेको देखिन्छ। उनीहरू पवनि स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नै छैनन्। स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नहुनुले नै ‘इम्ब्रियोलोजी र एआरटी स्पेसियासियालिटी’ सम्बन्धी शैक्षिक अध्ययन नगरी तालिम तथा फेलोसिपको भरमा आईभीएफ सेन्टरहरू चलिरहेको देखिन्छ।
स्वास्थ्य मन्त्रालयको मापदण्ड (चेकलिष्ट)मा सरकारी नियामक निकाय (काउन्सिल) मा दर्ता नै नभएका तर ‘इम्ब्रियोलोजी र ‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी)’को तालिम तथा फेलोसिप मात्रै गरेको भरमा कसरी आईभीएफ सेन्टर सञ्चालनको इजाजतपत्र दियो?
सरकारी नियामक निकाय (काउन्सिल)मा दर्ता नै नभएका ‘इम्ब्रियोलोजी र ‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी)’ तालिम लिएका भरमा आईभीएफ सेन्टरलाई सञ्चालन इजाजतपत्र दिइएर बिरामीलाई कुनै समस्या पर्यो भने त्यसको जिम्मेवारी कसले लिने?
आईभीएफ सेन्टरप्रति अति उदार मन्त्रालय
स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ‘इम्ब्रियोलोजीष्ट र ‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजिष्ट (एआरटी)’को विषयमा कडिकडाउ गरिएकै छैन।
आईभीएफ सेन्टर सञ्चालनको इजाजतपत्र लिने बेलामा समेत मन्त्रालयले ‘इम्ब्रियोलोजी र ‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी)’ सम्बन्धी शैक्षिक अध्ययन गरेको प्रमाणपत्र मात्रै खोज्छ। काउन्सिलमा दर्ता भएको प्रमाणपत्र नै खोजिँदैन।
स्त्रीरोग विशेषज्ञ हुन् वा अन्यले ‘इम्ब्रियोलोजी र ‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी)’को तालिम वा फेलोसिपको प्रमाणपत्र मात्रै देखाएर नै उनीहरूले आईभीएफ सञ्चालनका लागि इजाजतपत्र लिने गरेका छन्। मन्त्रालयको चेकलिष्ट अनुसार इजाजतपत्र लिन ‘इम्ब्रियोलोजिष्ट नै हुनुपर्ने बाध्यकारी अवस्था समेत गरिएको छैन।
‘त्यस (चेकलिष्ट)मा नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य व्यावसायिक परिषद्मा दर्ता भएकै इम्ब्रियोलोजिष्ट हुनुपर्छ भनेर लेखिएको छैन,’मन्त्रालयका एक अधिकारीले भने,‘इम्ब्रियोलोजिष्टको सर्टिफिकेट वा एआरटीको ट्रेनिङ लिएको भए हुन्छ भन्ने हो।’
आईभीएफ सञ्चालन सम्बन्धी चेकलिष्ट हेर्दा नै आईभीएफ सञ्चालनकहरूकै हितलाई केन्द्रमा राखेर मन्त्रालयले कमजोर मापदण्ड (चेकलिष्ट) बनाइ आईभीएफ सेन्टर सञ्चालन अनुमति दिएको प्रस्टै देखिन्छ।
मन्त्रालयले नै मापदण्डमा कडाइ नगरिदिएपछि आईभीएफ सेन्टरको मनोमानी हुने नै भयो।
यसरी आईभीएफ सेन्टरलाई मनोमानी ढङ्गले सञ्चालन हुन दिने विषयमा मन्त्रालय र सो मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखा अनि त्यो महाशाखामा कार्यरत कर्मचारी बढी जिम्मेवार रहेको देखिन्छ। यसरी आईभीएफ सेन्टर सञ्चालनको लागि कमजोर चेकलिष्ट बनाएर सञ्चालन गर्न दिनुमा मन्त्रालयका कर्मचारीको समेत शङ्कास्पद भूमिका देखिन्छ।
आईभीएफ सञ्चालनका लागि स्वास्थ्य व्यवसायी परिषद्मा अनिवार्य दर्ता गर्ने प्रावधान किन नराखिएको? भन्ने उकेराकर्मीको जिज्ञासामा मन्त्रालयका एक अधिकारीले ‘काउन्सिलमा दर्ता भन्यो भने फेरी केही...(आईभीएफ सेन्टर) बन्द हुन्छन् क्या’ भने।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आइएफ सेन्टर सञ्चालन सम्बन्धी नयाँ बन्ने मापदण्डमा अब दर्ता भएका इम्ब्रियोलोजिष्टले मात्रै इम्ब्रियोलोजिष्टका रूपमा काम गर्न पाउने नियम राख्ने तयारी भएको बताए।
काउन्सिलहरूमा इम्ब्रियोलोजिष्टका रूपमा दर्ता भएका, इम्ब्रियोलोजिमा फेलोसिप गरेका, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, नेपाल सरकारबाट स्वीकृत प्राप्त इम्ब्रियोलोजिको तालिमप्राप्त गरेर मेडिकल काउन्सिलमा दर्ता भएका स्त्रीरोग विशेषज्ञ चिकित्सकलाई इम्ब्रियोलोजिष्टका रूपमा काम गर्न दिनेगरी मापदण्ड बनाउने तयारी भएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।
स्त्रीरोग विशेषज्ञको हकमा समेत इम्ब्रियोलोजि सम्बन्धी तालिम लिएपछि पनि सो फेलोसिप वा तालिमको विषयमा काउन्सिललाई जानकारी गराउनुपर्ने उनले बताए।
चिकित्सक बाहेकलाई इम्ब्रियोलोजिष्टका रूपमा मेडिकल काउन्सिल बाहेकका काउन्सिलमा दर्ता हुनका लागि विश्वविद्यालयको शैक्षिक डिग्री नै आवश्यक हुने प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष शर्माले अहिलेको नियम अनुसार परिषद्मा फेलोसिप र तालिमे बाहेक शैक्षिक अध्ययन गरेका ‘इम्ब्रियोलोजिष्ट’ दर्ता हुने तर ‘एआरटी’ भने दर्ता गर्नै नमिल्ने प्रस्ट पारे।
भ्रूण बनाउने काम ‘इम्ब्रियोलोजिष्ट’कै भएकाले अब आईभीएफ सम्बन्धी निर्देशिका बनाउँदा पनि ‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजिष्ट (एआरटी)’ राख्न नहुने अध्यक्ष शर्माको सुझाव छ।
उनको भनाइ अनुसार ‘एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी)को तालिम तथा फेलोसिप गरेको व्यक्ति इब्रियोलोजिष्टको सहयोगी मात्रै हो।
बिना दर्ताका इम्ब्रियोलोजिष्टको रजगज
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आईभीएफ सेन्टरमा बोयोकेमेस्ट्री विषयमा एमडी गरेका र इम्ब्रियोलोजी सम्बन्धी एक वर्षे फेलोसिप गरेका चिकित्सक नै इम्ब्रियोलोजिष्टका रूपमा कार्यरत रहेको अस्पतालका निर्देशक डा. श्री प्रसाद अधिकारीले जानकारी दिए। स्रोतका अनुसार उनी पनि काउन्सिलहरूमा दर्ता छैनन्।
उकेराले खोजेकामध्ये वात्सल्य नेचुरल आईभीएफको वेबसाइडमा सिनियर क्लिनिकल इम्ब्रियोलोजिष्टका रूपमा सुरेश यादव रहेको उल्लेख छ। उनी पनि दर्तावाला इम्ब्रियोलोजिष्ट हैनन्।
वेबसाइडमा उल्लेख भए अनुसार वरदान फर्टिलिटी सेन्टरमा प्रत्याशा जोशीले इम्ब्रियोलोजी ल्याबमा कार्यरत छिन्। जोशीले स्कटल्यान्डको डुन्डी विश्वविद्यालयको स्कुल अफ मेडिसिनबाट ‘ह्युमन क्लिनिकल इम्ब्रियोलोजी’ र ‘एसिस्टेड कन्सेप्सन ( सहायक गर्भाधान)मा एमएससी गरेको उल्लेख छ।
यसरी हेर्दा वरदान फर्टिलिटी सेन्टरमा जोशीले इम्ब्रियोलोजीष्टका रूपमा कार्यरत रहेको देखियो। तर, उनी पनि स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता छैनन्।
मनमोहन आईभीएफ सेन्टरमा सम्पर्क गर्दा एक जना कर्मचारीले इब्रियोजिष्टका रूपमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सबिना श्रेष्ठ रहेको जानकारी दिए। उनी नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने भइन्। तर, एक युट्युब च्यानलमा राखिएको नम्बरमा सम्पर्क गर्दा ‘उहाँ (डा. श्रेष्ठ)को क्लिनिक हो भन्दै फोन उठाएकी एक महिलाले ‘डा. श्रेष्ठ इम्ब्रियोलोजिष्ट नभई उनले इम्ब्रियोलोजिष्ट सम्बन्धी तालिम’ लिएको बताइन्।
‘इम्ब्रियोलोष्टि त हैन, तर, उहाँले थुप्रो ट्रेनिङ गर्नुभएको छ,’ती महिलाले डा. श्रेष्ठबारे भनिन्। यसबाट ती स्त्रीरोग विशेषज्ञले फेलोसिप तथा तालिम लिएका भरमा इम्ब्रियोलोजिष्टका रूपमा काम गरेको देखिन्छ।
क्रियटर्स आईभीएफको वेबसाइडमा चारजना इब्रियोलोजिष्ट रहेको उल्लेख छ। जसमध्ये डिजान वैद्य ‘ह्युमन क्लिनिकल इम्ब्रियोलोजी र एसिस्टेड कन्सेप्सन’मा एमएसस्सी गरेका इम्ब्रियोलोजिष्ट भएको बताइएको छ।
त्यसैगरी अमित खनाल माइक्रोबायोलोजी विषयमा एमएस्सी अध्ययन गरेका र क्लिनिकल इम्ब्रियोलोजीको तालिमप्राप्त इम्ब्रियोलोजिष्ट भएको उल्लेख छ।
त्यसैगरी विद्यावारिधि गरेका डा. केर्सी अभारी र एमडी गरेका विवेक कान्क भिजिटिङ कन्सल्टेन्ट इम्ब्रियोलोजिष्ट रहेको क्रियटर्स आईभीएफको वेबसाइडमा उल्लेख छ। तर, यी कोही पनि स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता छैनन्।
शुभश्री आईभीएफ क्लिनिकमा पनि सिनियर इम्ब्रियोलोजिष्ट फियाजुर रहमान रहेको उल्लेख छ। तर, उनी पनि काउन्सिलमा दर्ता छैनन्। होप फर्टिलिटी एन्ड डायगनोस्टिकमा पनि प्रत्युशा बराल क्लिनिकल इम्ब्रियोलोजिष्टको रूपमा रहेको उसको बेवसाइडमा उल्लेख छ। उनी पनि काउन्सिलमा दर्ता छैनन्।
एन्जल फर्टिलिटी क्लिनिकको वेबसाइडमा इम्ब्रियोलोजिष्ट राम प्रकाश र क्लिनिकल इम्ब्रियोलोजिष्ट प्रीति विष्ट रहेको उल्लेख छ। तर, दुवै इम्ब्रियोलोजिष्ट स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएका छैनन्।
प्यासिफिक आईभीएफ सेन्टरको वेबसाइडमा क्लिनिकल बायोकेमिस्ट तथा ईम्ब्रियोलोजिष्टका रुपमा डा. बिनिता थापाको नाम छ। उनि पनि स्वास्थ्य व्यसायि परिषदमा ईम्ब्रियोलोजिष्टका रुपमा दर्ता छैनन्।
इम्ब्रियोलोजिष्ट अनिवार्य हो?
विज्ञका अनुसार आईभीएफका लागि इम्ब्रियोलोजिष्ट अनिवार्य रूपमा चाहिन्छ। भ्रुणविज्ञ (इम्ब्रियोलोष्टि)ले महिलाको डिम्ब र पुरुषको वीर्य सङ्कलनको समयदेखि भ्रूणलाई महिलाको गर्भाशयमा प्रत्यारोपण गरिदिने हेरचाहसम्मको चरणमा काम गर्छन्।
भ्रूण प्रयोगशालामा रहने अवधिसम्म प्रयोगशालाको वातावरणलाई अनुकूल बनाएर राख्ने, प्रयोगशालाको वातावरण महिलाको गर्भाशयको जस्तै हुने सुनिश्चित गर्ने काम इम्ब्रियोलोजिष्टको हो।
डिम्बलाई शुक्रकीटसँग निषेचित गरेर भ्रूण बनाउने अनि शुक्रकीट, डिम्ब र भ्रूणलाई फ्रिज गरेर सुरक्षित राख्ने जस्ता काम पनि इम्ब्रियोलोजिष्टकै हो।
इम्ब्रियोलोजिष्ट भनेकै आईभीएफ गर्ने क्रममा डिम्ब, शुक्रकीट र भ्रूणको हेरचाह तथा व्यवस्थापन गर्ने विशेषज्ञ हो।
सहायक प्रजनन प्राविधिक (एआरटी) भनेको डिम्ब वा भ्रूणको हेरफेर गरेर गर्भधारणमा सहयोग पुर्याउने प्राविधिक हो। तर, अइभीएफ विशेषज्ञ भने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक हुन्। उनीहरूले गर्ने काम चिकित्सकीय रूपमा आईभीएफ गर्न मिल्ने नमिल्ने लगायत चिकित्सकीय उपचारात्मक विधिको हो।
सम्बन्धित समाचार :
साउन ९, २०८२ शुक्रबार २०:५३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।