मुख्यमन्त्रीका लागि कांग्रेसमा किचलो, आफ्नै मुख्यमन्त्री विरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

काठमाडौं : बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध आफ्नै पार्टीका २१ सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराए। शुक्रवार नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएसँगै उनीहरूले संसदीय दलका नेता रहेका लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए।
बागमती प्रदेशको संसदीय दलको नेताका लागि भएको निर्वाचनमा इन्द्र बानियाँलाई पराजित गर्दै लामाले २१ मतमा १६ मत ल्याएका थिए। उनलाई संसदीय दलको नेता बनाउन जसले मत दिएका थिए उनीहरूले समेत शुक्रवार अविश्वासको प्रस्तावमा हस्ताक्षर गरे। एक वर्ष अगाडि लामा गठबन्धनको तर्फबाट बागमती प्रदेशको मुख्यमन्त्री भएका थिए।
बानिया र लामा दुवै कांग्रेस संस्थापन समूहका नेता हुन्। लामालाई राजीनामा गराएर बानियालाई मुख्यमन्त्री बनाउन केन्द्रबाटै प्रयास भए पनि लामाले अस्वीकार गरेपछि आफ्नै पार्टीका सांसदहरू राजीनामा र अविश्वासको प्रस्तावको बाटोमा लागेका हुन्।
शुक्रवारै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिइसकेका छन्। अर्थमन्त्री कुन्दन काफ्लेले भने राजीनामा दिएका छैनन्।
को कसले गरे प्रस्तावमा हस्ताक्षर ?
शुक्रवार बुझाइएको अविश्वास प्रस्तावमा पार्टी प्रदेश सभापति बानियासँगैं कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, शिवराज अधिकारी, पुकार महर्जन, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, विन्दु रायमाझी पौडेल, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मिना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, मधुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, सुना परियार र श्रीराम लामिछाने छन्।
साउन ९, २०८२ शुक्रबार १९:४६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।