मदनको तस्बिर र एमालेको चुनाव चिन्ह राखेर विद्याको पत्रकार सम्मेलन, राष्ट्रपतिहुँदा पार्टी सदस्य नत्यागेकाले कसैले खान नसक्ने तर्क

मदनको तस्बिर र एमालेको चुनाव चिन्ह राखेर विद्याको पत्रकार सम्मेलन, राष्ट्रपतिहुँदा पार्टी सदस्य नत्यागेकाले कसैले खान नसक्ने तर्क
तस्विर : दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : विद्यादेवी भण्डारीले एमाले केन्द्रीय कमिटीको बैठकले आफ्नो सदस्यताबारे उत्तेजनामा आएर निर्णय गरेको दाबी गरेकी छिन्। शुक्रवार कार्की व्याङक्वेटमा बिना आयोजक आफ्नो श्रीमान् मदन भण्डारीको तस्बिर र एमालेको चुनाव चिन्ह भएको ब्यानर राखेर पत्रकार सम्मेलन गर्दै उनले आफू एमालेको सदस्यता भएको ४५ वर्ष भइसकेकाले नवीकरण रोक्न नमिल्ने दाबी गरिन्।

राष्ट्रपति दलीय सदस्य हुन नपाउने संवैधानिक प्रावधान अनुसार भण्डारी राष्ट्रपति भएपछि उनले पार्टी सदस्यता त्यागेकी थिइन्। तर उनले पत्रकार सम्मेलनमा आफू राष्ट्रपति हुँदाको कार्यकाल समेत जोडेर एमालेको सदस्य भएको वर्ष गनिन्।

"म राष्ट्रपति हुँदा पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो। अहिले सदस्य भएको ४५ वर्ष भयो" उनले पत्रकार सम्मेलनमा भनिन्  "मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन।" 

उनले एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टी सदस्य नवीकरण हुन नसक्ने भनेर गरेको निर्णय वैध र परिपक्व नभएको दाबी गरिन्। उनले यस्तो निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउने र आवेग र उत्तेजनाका भरमा गरिएका निर्णयले सत्य छोप्न नसकिने तर्क समेत गरिन्। 

राष्ट्रपति पदमा बहाल रहेको व्यक्ति कुनै दलको सदस्य भएको संविधानले परिकल्पना गरेको छैन। तर भण्डारीले पत्रकार सम्मेलनमा आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको तर्क गरिन्। राष्ट्रपतिहुँदा पार्टीको सदस्यता नत्यागेकाले पुनः पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको दाबी गरेकी थिइन्। उनले पार्टी अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै कसैलाई लागेकै भरमा आफ्नो सदस्यता खान नसक्ने तर्क समेत गरिन्।

साउन ९, २०८२ शुक्रबार १६:३५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।