अख्तियार प्रमुख राईमाथि संसद्मा प्रश्न उठ्यो, पदमा बस्न अयोग्य भएको तर्क

अख्तियार प्रमुख राईमाथि संसद्मा प्रश्न उठ्यो, पदमा बस्न अयोग्य भएको तर्क

काठमाडौं : विशेष अदालतले फैसलामै टिप्पणी गरेर प्रश्न उठाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईबारे प्रतिनिधि सभामा समेत प्रश्न उठेको छ।

प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदले आयोगका प्रमुखमाथि नैतिक प्रश्न उठेको भन्दै यसमा सरकारको ध्यानाकर्षण गराए।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अदालतले नैतिक प्रश्न उठाइसकेपछि राई पदमा बसिरहन  उचित नरहेको बताए ।

‘अख्तियार प्रमुखमाथि अदालतले नै नैतिक प्रश्न उठाइसकेपछि उहाँ(राई) लाई पदमा निरन्तरता दिनु र नैतिक धरातल गुमाइसकेका व्यक्तिहरू पदमा बसिरहनु कुनै अर्थमा सोभनिय हुन सक्दैन,’ सांसद उनले भने।

वाइडबडी घोटाला प्रकरणमा पर्यटन सचिव हुँदा राईले गरेको निर्णय नै भ्रष्टाचारको प्रस्थान विन्दु रहेको भन्दै आयोगले राईमाथि अनुसन्धान नहुनु चयनमुखी अनुसन्धान रहेको भन्दै अनुसन्धानमाथि फैसलामै टिप्पणी गरेको छ।

उनले सुशासनको दाबी गर्ने प्रधानमन्त्री र सरकार भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई जोगाउने रक्षा कवच त होइन भन्ने प्रश्न उब्जिएको भन्दै यसबारे सरकारसँग जवाफ मागेका हुन्।

साउन ९, २०८२ शुक्रबार १५:५८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।