औद्योगिक सम्बन्ध सुधारमा महासंघको भूमिका प्रशंसनीय : आईओई महासचिव

काठमाडौं : अन्तर्राष्ट्रिय श्रम नियोक्ता संगठन (आइओइ) का महासचिव रोबर्टो सुआरेज सान्तोसले नेपाल उद्योग वाणिज्य महासङ्घले औद्योगिक सम्बन्ध सुधारमा खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
नेपाल भ्रमणमा रहेका महासचिव सान्तोसले बिहीबार महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालसहित अन्य पदाधिकारीहरूसँगको भेटमा सो धारणा राखेका हुन्। उनी अध्यक्ष ढकालको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा रहेका छन्।
भेटका क्रममा महासचिव सान्तोसले हालै सम्पन्न न्यूनतम पारिश्रमिक निर्धारण, सामाजिक सुरक्षा तथा श्रमिकहरूको औपचारिकता प्रवर्द्धनमा महासङ्घले खेलेको भूमिकालाई उदाहरणीय बताउँदै महासंघको प्रयास अन्य देशका लागि पनि अनुकरणीय बन्न सक्ने बताए।
भेटमा महासङ्घ अध्यक्ष ढकालले सन् २०२६ मा नेपाल अल्पविकसित देशबाट स्नात हुने तयारीमा रहेको सन्दर्भ उठाउँदै आइओइ को सहयोग अपरिहार्य हुने बताए।
अध्यक्ष ढकालले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, लगानीमैत्री वातावरण निर्माण तथा सरकार, श्रमिक र नियोक्ताबीच सहकार्यको वातावरण बनाउन महासङ्घले निरन्तर काम गर्दै आएको उल्लेख गरे।
जवाफमा महासचिव सान्तोसले नेपालका राम्रा अभ्यासलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न सकिने भन्दै, एलडीसीबाट स्नातोन्मुख प्रक्रियामा आइओइ सधैं सकारात्मक रूपमा सहकार्य गर्न इच्छुक रहेको आश्वासन दिए।
साउन ९, २०८२ शुक्रबार १४:१९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।