‘यो देशमा न्याय, कानुन, जवाफदेहीता र मानविय सम्बेधना मरेरै गएको हो ?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले भिजिट भिसाको आवरणमा भइरहेको भ्रष्टाचार र मानव तस्करीप्रति सरकार उदासीन देखिएको भन्दै आलोचना गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद र सडक दुवै ठाउँमा लामो समयदेखि यो विषय उठिरहे पनि सरकारले अहिलेसम्म कुनै प्रभावकारी कदम नचालेको बताइन्। ‘न्याय, कानुन, जवाफदेहीता र मानवीय संवेदना मरेको हो त?’ भन्दै सांसद कठायतले प्रश्न उठाइन्।
उनले सरकारले टालटुले समिति बनाएर विषय पन्छ्याउने प्रयास गरेको आरोप लगाउँदै यस्तो प्रवृत्तिलाई रास्वपाले अस्वीकार गर्ने स्पष्ट पारेकी छन्। ‘सरकारको कुटिल प्रयासलाई हामी अस्वीकृत गर्छौं। हाम्रो माग उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति गठन गर्ने हो,’ उनले भनिन्।
कठायतले यो अब केवल राष्ट्रिय नभई अन्तर्राष्ट्रिय सरोकारको विषयसमेत भइसकेको उल्लेख गरिन्। ‘राष्ट्रसंघ मात्र होइन, मित्रराष्ट्रहरू पनि चासो देखाइरहेका छन्। छिमेकी भारतका मिडियामा समेत यो विषय उठिसकेको छ,’ उनले भनिन्।
रास्वपाले भ्रष्टाचार र मानव तस्करीको मुद्दालाई संसदभित्र र बाहिर निरन्तर उठाउने प्रतिबद्धता जनाएको उनले बताइन्।
साउन ९, २०८२ शुक्रबार १४:१२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।