आफ्ना कुरा राखेर संसद्बाट बाहिरिए रास्वपा र राप्रपाका सांसद

आफ्ना कुरा राखेर संसद्बाट बाहिरिए रास्वपा र राप्रपाका सांसद

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा मागअनुसार छानबिन नभएको भन्दै बिहीबारको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाए। त्यसपछि सभामुखले रास्वपाकी सांसद विनिता कठायतलाई बोल्न समय दिए। सांसद कठायतले भिजिट भिसा प्रकरणमा विशेष संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नभएको भन्दै विरोध जारी राख्ने चेतावनी दिइन्।

राप्रपाका सांसद धवल शम्शेर जबराले बोल्दै चैत १५ गतेको घटना छानबिन गर्न सरकार गम्भीर नदेखिएको भन्दै आलोचना गरे। उनले दोषीमाथि कारबाही र निर्दोषलाई न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिए।

दुवै दलका सांसदहरूले धारणा राखेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्।

साउन ९, २०८२ शुक्रबार १३:४५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।