बाँसको टेबुल र कुर्सी बोकेर सर्वोच्च पुगे दिक्तेलका मेयर

बाँसको टेबुल र कुर्सी बोकेर सर्वोच्च पुगे दिक्तेलका मेयर

काठमाडौं : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराइले प्रधानन्यायाधीश प्रकाशमान सिंह रावतलाई बाँसबाट निर्मित सामग्रीहरू हस्तान्तरण गरेका छन्।

शुक्रबार सर्वोच्च अदालत पुगेर उनले रावतलाई बाँसको कुर्सी र टेबलसहितका सामग्री दिँदै स्थानीय उत्पादनको प्रवर्द्धनमा सरकारलाई नीति निर्माण गर्न निर्देशन दिन आग्रह गरे।

स्थानीय स्रोत साधनको सदुपयोग, विशेष गरी बाँसजस्ता सामग्रीको प्रयोगमा कानुन र कार्यनीति निर्माण नभएको भन्दै भट्टराइ काठमाडौंमा सत्याग्रह र भोग हड्तालसम्मको तयारीसहित जनप्रतिनिधिहरू भेटिरहेका छन्। यसअघि बुधबार उनले सभामुख देवराज घिमिरेलाई पनि बाँसबाट बनेका सामग्री हस्तान्तरण गरेका थिए।

बाँसको प्रयोगबाट साना घरेलु उद्योग सञ्चालन गरी वैदेशिक रोजगारीका लागि पलायन हुने युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ। उनले यससम्बन्धी ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।

प्रधानन्यायाधीश रावतले भट्टराईको प्रयासको प्रशंसा गर्दै भने, ‘तपाईंहरूको विचार निकै राम्रो र पवित्र रहेछ। बाँसलाई माध्यम बनाएर हस्तकलाको समृद्धि सम्भव छ। बाँस बहुउपयोगी स्रोत हो। रोजगारी सिर्जना, राजस्व अभिवृद्धि र प्राकृतिक विपत्तिको न्यूनीकरणमा समेत यसको ठूलो योगदान हुन सक्छ।’

उनले थपे, ‘हामीले वन, वातावरण र वातावरणीय सन्तुलनलाई ख्याल गर्न बाँसको प्रवर्द्धन गर्नैपर्छ। अहिले गुणस्तरीय वस्तुहरू पनि प्रदूषित भइरहेका छन्। बाँस प्रयोगबाट ठाउँअनुसार विभिन्न सामाग्री निर्माण गर्न सकिन्छ, जुन वातावरणमैत्री पनि हुन्छ।’ 

साउन ९, २०८२ शुक्रबार १३:२५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।