लिची बगैँचा काण्डमा रञ्जिता मुछिएपछि रेशमले भने- सत्य के हो भन्ने कुरा जसले गर्यो उसैले भन्नुपर्ला

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले कास्कीको लिची बगैँचा काण्डबारे पार्टी अध्यक्ष तथा पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले प्रष्ट पार्नुपर्ने बताएका छन्।
चौधरीले बिहीबार सामाजिक सञ्जालमार्फत नाउपा र पार्टी अध्यक्ष श्रेष्ठ प्रति लागेको आरोप सत्य हो वा असत्य ? भन्दै प्रश्न उठाएका छन्।
पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिँदै उनले भनेका छन्, ‘सामाजिक सञ्जाल लगायत देशका मुख्य अनलाइन खबरहरू मार्फत हाम्रो पार्टी र पार्टीको अध्यक्ष प्रति लगाइएको आरोप प्रति तपाईं जानकार नै हुनुहुन्छ। यो सत्य हो वा असत्य हो। त्यसको छिनोफानो जसले गर्यो उसैले फैसला गर्ला। तर नागरिक उन्मुक्ति पार्टी प्रति जब प्रहार हुन्छ तब सबैभन्दा चोट मलाई नै लाग्छ।’
कास्कीको लिची बगैँचाको जग्गा हत्याउन घुस डिल गरिएको अडियो सार्वजनिक भएपछि पूर्वमन्त्री श्रेष्ठले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्वाइस टेस्ट दिएकी छन्।
संरक्षक चौधरीले पार्टीको अन्योलताका विषय राख्दै आउने केन्द्रीय समितिको बैठकले निकास नदिए संघर्ष सहित नयाँ विकल्प खोज्ने चेतावनी समेत दिएका छन्।
साउन ९, २०८२ शुक्रबार १२:२०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।