एक सय ६५ युवा सांसदले लिए शपथ

काठमाडौं : देशभरका १ सय ६५ युवा सांसदले बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्। ग्लोबल युथ पार्लियामेन्ट र राष्ट्रिय युवा सांसदको आयोजनामा सम्पन्न कार्यक्रममा अध्यक्ष दिवाकर अर्यालले युवा सांसदहरूलाई शपथ गराए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केवल उज्यालोले देश समृद्ध नहुने भन्दै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा पनि समानरूपमा ‘उज्यालो’ ल्याउनु आवश्यक रहेको उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले राष्ट्र निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सांसद बन्ने उद्देश्य कुर्सी नभएर परिवर्तन हुनुपर्ने धारणा राखिन्।
क्याप्टेन विजय लामाले ‘पद’ र ‘बर्दी’जस्ता जिम्मेवारीहरू नक्कली हुन नसक्ने बताए। तर, ती जिम्मेवारी ओगट्ने पात्र नक्कली हुँदा देश र जनताले मूल्य चुकाउनु परेको उनको भनाइ थियो।
सो अवसरमा युवा सांसदहरूलाई प्रमाणपत्र र ब्याच वितरण गरियो। सो कार्यमा ग्लोबल युथ पार्लियामेन्ट अध्यक्ष दिवाकर अर्याल, पत्रकार बुद्धिसागर मरासिनी र सञ्चारकर्मी राजन कुइँकेल सहभागी थिए।
कार्यक्रमको दोस्रो सत्रमा पूर्वराजदूत महेशराज दाहाल र अधिवक्ता रामहरि नेपालले युवा सांसदहरूलाई कानुन निर्माण प्रक्रिया तथा संसदीय अभ्यासबारे प्रशिक्षण दिए।
समारोहमा नागरिक समूह अध्यक्ष निगम हुमागाई, नेपाल–चीन मामिलाका विश्लेषक दिनेश खनाल, समाजसेवी विष्णुहरि दाहाल, युवा अभियन्ता विजय कँडेललगायतको उपस्थिति थियो।
१६५ जना युवा सांसद चयन गर्न ७ हजारभन्दा बढी आवेदन परेका थिए। अनलाइन आवेदनमार्फत आएका उम्मेदवारहरूमध्ये अध्ययन, समाजमा योगदान र अनुभवका आधारमा प्रत्येक क्षेत्रबाट अन्तिम तीन जनाको सूची बनाइयो। त्यसपछि असार १५ गते भएको अनलाइन भोटिङबाट एक-एक जना सांसद छानिएका थिए।
सांसद छनोट समितिमा पूर्वराजदूत महेशराज दाहाल, रक्षा नेपाल अध्यक्ष मेनुका थापा, पत्रकार बुद्धिसागर मरासिनी, अधिवक्ता रमण कर्ण, समाजसेवी विन्दु परियार थापा, अर्थविद् नवराज अर्याल र ग्लोबल युथ पार्लियामेन्ट उपाध्यक्ष कैलाश श्रेष्ठ सहभागी थिए।
साउन ९, २०८२ शुक्रबार १०:५१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।