भिजिट भिसामा विमानस्थलको सेटिङ भत्किएपछि दलाल लागे दिल्लीतिर, कुवेत हिँडेका ४७ महिना दिल्ली विमानस्थलमा नियन्त्रणमा

भिजिट भिसामा विमानस्थलको सेटिङ भत्किएपछि दलाल लागे दिल्लीतिर, कुवेत हिँडेका ४७ महिना दिल्ली विमानस्थलमा नियन्त्रणमा

काठमाडौं : भारतमा रहेको नेपाली दूतावासको नक्कली नो अब्जेक्सन लेटरको आधारमा भारतको नयाँ दिल्ली हुँदै ४५ जना महिला विमानस्थलमा नियन्त्रणमा लिएर नेपाल फर्काइएको छ। नो अब्जेक्सन लेटरमा शङ्का लागेपछि विमानस्थल प्रहरीले दूतावासका अधिकारीलाई जानकारी गराएका थिए।

दूतावासका अधिकारीले पत्र हेर्दा नक्कली रहेको र उनीहरू भिजिट भिसाबाट कुवेत जान नेपालबाट स्थल मार्गबाट दिल्ली गएर कुवेत जाने प्रयासमा थिए। ४७ जना महिलालाई नियन्त्रणमा लिएर नेपाली दूतावासको संयोजनमा सबैलाई बसबाट नेपाल ल्याएर थप अनुसन्धानका लागि रुपन्देही प्रहरीको जिम्मा लगाएको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

उनीहरूलाई प्रहरीले काठमाडौं ल्याएर थप अनुसन्धान सुरु गरेको छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार यस भन्दा अगाडि यसैगरि भिजिट भिसामा कुवेत हिँडेका ४७ महिलालाई नेपाल फर्काइएको थियो।

यस अगाडि त्रिभुवन विमानस्थलमै अध्यागमनका अधिकारीहरूसँगको मिलेमतोमा भिजिट भिसामा नेपालीहरू विदेश जाने गरेका थिए। पछिल्लो समय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख नै भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेपछि दलालहरूले भिजिट भिसामा कामका लागि नेपाली महिलाहरूलाई स्थल मार्गबाट दिल्ली पूर्याएर नक्कली नो अब्जेक्सन लेटरको आधारमा विदेश पठाउने गरेको बिहीबारको घटनाले खुलाएको छ।

छानबिन गर्न गृहमन्त्रीको निर्देशन

घटना सार्वजनिक भए लगत्तै गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले दाबी गरेको छ। गृहमन्त्री लेखकले बिहीबारै प्रहरीको मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ।

दुई महिनामा टुंगिएन अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिर्थराज भट्टराइसहितलाई नियन्त्रणमा लिएर विमानस्थलमा मिलेमतो गरेर भिजिट भिसामा विदेश जाने सञ्जालबारे दुई महिनादेखी अनुसन्धान गरिरहेको छ। अनुसन्धानकोक्रममा दुई ट्राभल्स एजेन्सीका प्रमुख र सहयोगीलाई समेत अख्तियारले अनुसन्धान गरिरहेको छ।

सबैलाई हाजिर जमानीमा राखेर भइरहेको अनुसन्धान दुई महिना नाघ्दा पनि टुंगिएको छैन। अध्यागमनका प्रमुखकै मिलेमतोमा ५० हजारदेखि ३ लाखसम्म असुलेर भिजिट भिसामा कामका लागि नेपालीहरु सहजै विमानस्थलबाट उड्ने गरेको भन्दै अख्तियारले कार्यालयमै छापा मारेर भट्टराइलाई पक्राउ गरेको थियो।

साउन ८, २०८२ बिहीबार २३:०४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।