अहिले कलाकारलाई फ्यानले घेर्छन्, त्यो बेलामा त बिग्रिएको मान्छे भनेर तर्किएर हिँड्थे

अहिले कलाकारलाई फ्यानले घेर्छन्, त्यो बेलामा त बिग्रिएको मान्छे भनेर तर्किएर हिँड्थे

८० वर्षअघि इलामको बयरबोटेमा जन्मिएका लक्ष्मीनाथ शर्मा २०१८ सालमा एसएलसी पास गरेका उनले २०२८ सालमा त्रिभुवन विश्व विद्यालयबाट इतिहासमा स्नातकोत्तर पास गरे। तर इतिहास पढे अनुसार काम पाउने सम्भावना देखेनन्। अनि २०२८ मा खुलेको शाही चलचित्र संस्थानमा आवेदन दिए।

नेपालमा पहिलो पटक कला क्षेत्रको रूपमा खुलेको यो संस्थानमा उनले नेपाली भाषामा लेख्न सकिन्छ भन्ने ठानेर आवेदन दिएका थिए। अभिनयमा लाग्छु भन्ने त कल्पना बाहिरकै कुरो रहेछ।

६ महिनाको लागि संस्थानमा जागिर पाए। संस्थानमा प्रवेश गरेपछि संस्थानबाट निर्माण हुने फिल्म ‘मनको बाँध’को संवाद लेख्ने मौका पाए। प्रकाश थापाको निर्देशनमा बनेको फिल्मबाट उनले आफ्नो फिल्म यात्रा सुरु गरे।

यही बिचमा भारतको पुनेमा निर्देशन तथा पटकथा लेखनको स्कलरसिप पाए। तीन वर्षको कोर्स पुरा गरेर नेपाल फर्किएका उनले तीन वर्षपछि वि.स.२०३९ मा फिल्म ‘बदलिँदो आकाश’बाट निर्देशनमा डेब्यु गरे।

त्यसपछि उनले ‘छोरी–बुहारी’,‘साथी’,‘ मिलन’जस्ता दुई दर्जन फिल्मको निर्देशन गरे। शाही चलचित्र संस्थानमा तीन दशक लामो जागिरे जीवन बिताएका उनले पटकथा,संवाद लेखनको काम पनि गरे। फिल्म सम्बन्धी पढाई हुने ओस्कार कलेज,कान्तिपुर सिटी कलेज, रत्नराज्य बहुमुखी क्याम्पस लगायतमा पढाए पनि।

उनी पुस्तक लेखनमा समेत उत्तिकै सक्रिय भए। ‘चलचित्र कला’ मात्रै हैन ‘असन्तोष’,‘घाइते गुप्तचर (जासुसी उपन्यास)’,‘अँध्यारो’लगायत उपन्यास समेत प्रकाशित छन् उनका। उनै लक्ष्मीनाथले उकेराको नियमित स्तम्भ हिजोका कुराका यसरी आफ्ना अनुभव साटे।

OOO

मेरो जन्म विक्रम संवत् २००२ सालमा इलामको बयरबोटे भन्ने ठाउँमा भएको हो। हामी सात दाजुभाइ र ४ जना दिदी बहिनी। त्यसमा म साइँलो। जेठो दाजु, माइला दाजु र भाइको मृत्यु भइसक्यो। जेठी दिदीको निधन भइसक्यो।

म ४ वर्षको हुँदा परिवार बयरबोटेबाट इलामको फिक्कल बसाई सर्यो। फिक्कलमा पनि बयरबोटे भन्ने ठाउँमै बस्यौँ। फिक्कल बजारमा पनि हाम्रो घर थियो। तर बजारको ठाउँ छाडेर गाउँमै बस्थ्यौँ।

हामी बसेको ठाउँमा भारत जाने बाटो छ। पशुपतिनगरको बोर्डर हुँदै मान्छेहरू भारत-नेपाल आउजाउ गर्छन्। मैले त्यहीँ फिक्कलमा रहेको फिक्कल प्राथमिक स्कुलमा पढेको हो।

त्यतिबेला फिक्कल सानो थियो, अहिले त ठुलो व्यापारिक केन्द्र भइसक्यो। त्यो समयमा एउटा मात्रै प्राथमिक स्कुल थियो। त्यो स्कुल नै बिस्तारै हाई स्कुल हुँदै अहिले त ५ वटा जति भएको छ। फिक्कलमा प्राथमिक स्कुल  सकेपछि ३ माइल टाढा करर्फोक भन्ने ठाउँमा करफोक विद्या मन्दिर विद्यालयमा पढेँ। २०१८ सालमा त्यहीँबाट एसएलसी परीक्षा दिएँ।

त्यो बेलामा एसएलसी दिने २३ जना थियौँ। त्यसमा २ जना महिला। हामी सबै थर्ड डिभिजनमा भयौँ। त्यतिबेला एसएलसी परीक्षा दिन इलाम बजार जानुपर्थ्यो। उतै बसेर परीक्षा दिनुपर्ने हुन्थ्यो। इलाममा परीक्षा दिने महिलाहरू थुप्रै भेटेको थिएँ।

एसएलसी पास गरेपछि त्यही स्कुलमा १ वर्षमा पढाएँ। त्यतिबेला शिक्षकको निकै अभाव थियो। स्थानीय सरहरू र बोर्डरपारि दार्जिलिङ, मिरिक लगायतका ठाउँबाट शिक्षकहरू आएर पढाउँथेँ।

पढाउन थालेको १ वर्षपछि आइएसी पढ्न बनारस गएँ। बनारसमा भने लामो समय टिक्न सकिनँ। बनारस पुगेपछि औँलो ज्वरोले भेट्यो। आइए पुरा गर्न पनि सकिन। प्रचण्ड गर्मी, चिसो हावापानीमा हुर्किएको मान्छे, त्यहाँ बस्न नसक्ने अवस्था भएपछि काठमाडौं आएँ।

काठमाडौंमा त्रिचन्द्र कलेजबाट प्राइभेट फर्म भरेर आइएको परीक्षा दिएँ। आइए सेकेन्ड डिभिजनमा पास भएँ। बनारस साइन्स पढ्न गएको यता भने मानविकी पढेको थिएँ। त्रिचन्द्रबाट नै स्नातक पास गरेँ। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा २०२८मा एमए पास गरेँ।

त्यो समयको रेडियोको कुरा

इलाम अलिक पहिलाबाट नै शिक्षित क्षेत्र हो। गाउँको अवस्था हेर्ने हो भने चैँ अलि भिन्न थियो। पिच रोड, खानेपानीको धारा लगायतका सुविधा भने थिएन। रेडियो पनि सम्पन्नकोमा मात्र हुने। समाचार सुन्न उनीहरूको घरमा जानु पर्ने।

विशेष गरेर व्यापारीहरूले रेडियो किनेर बजाउने गर्थे। अरूको किन्ने आर्थिक क्षमता थिएन। अब टेलिफोन त छँदै थिएन। म काठमाडौं आएपछि मात्रै पिच भएको सडक, टेलिफोन, बत्ती, पानीको व्यवस्था हुन थालेको हो।

त्यति बेलाकै कुरा जोडौँ है। अहिले पढ्न पनि रमाइलो हुन्छ नि। हामी धेरै सन्तान भएता पनि बुबा छोराछोरीलाई पढाउनुपर्छ भन्नेमा जोड दिनुहुन्थ्यो। मैले थाहा पाउँदासम्म पनि बुबा मालपोतमा जागिर खानुहुन्थ्यो। मालपोतको पैसा उठाऊ बुबा गाउँ गाउँमा जानुपर्थ्यो। अहिलेको जस्तो सबैले कार्यालयमा पुर्याउन आउँदैनथे। हरेकको घर-घर पुगेर उठाउनु पर्ने। जति यात्रा गर्यो,उति ज्ञान बढ्दो रैछ क्या रे,उहाँले देखेर,जानेर गाउँमा स्कुल खोलेर केटाकेटी पढाउनुपर्छ भन्नेमा लाग्नु भयो।

त्यतिबेला बडा हाकिम भन्ने हुन्थे। उनीहरूले बुबालाई खुबै माया गर्थे। बुबालाई काठमाडौं पनि लिएर आउँथेँ। उहाँको पद सानै थियो। तर पद सानै भए पनि उहाँको चाहनालाई बडा हाकिमहरूले नकार्न सकेनन्। अनि आफू सर्कलका साथीहरू, इष्टमित्रलाई स्कुल खोल्नुपर्छ भनेर अंग्रेजी भाषा पढाउने गरेर स्कुल खोल्नु भयो।

करफोक तीन माइल टाढा। त्यो पनि ठुलै भेगको मान्छेहरूसित सरसल्लाह गरेर हाई स्कुल बनाएको हो। यो स्कुल बुबाको पहलमा २०१० सालमा स्थापना गरिएको हो। सुरुवातमा स्कुल पढाउन अलि गाह्रो रैछ। पछि सबै राजी भए। सबैले पढ्न थाले।

सिनेमा कल्पनै नगरेको क्षेत्र

रमाइलो कुरा के भने, मैले एमए पास गरेपछि पनि सिनेमा क्षेत्रमा लागुँला,सिनेमामै काम गरुँला,जीवन बिताउँला भन्ने सोचेको पनि थिइन। यो कल्पना बाहिरकै कुरा भयो। सिनेमा त हेर्थेँ,म र भाइ दार्जिलिङ गएर समेत सिनेमा निकै पटक हेरेका थियौँ।

दार्जिलिङ पुग्न हाम्रो घरबाट गाडी चढेको तीन घण्टा लाग्थ्यो। त्यहाँ रिङ् र क्यापिटल गरेर २ वटा सिनेमा हल थिए। त्यो समयमा हिन्दी फिल्म नै हेथ्यौँ। फिल्म हेरेता पनि कुनै समय पनि मनमा फिल्ममा काम गरौँला भन्ने आएन।

काठमाडौं आएपछि पनि सिनेमाहरू अलिअलि हेरिन्थ्यो। तर सिनेमामा नै काम गरौँला भन्ने चाहिँ यता पनि सोच आएन। इतिहासमा एमए पास गरेपछि पढेको विषयले केही जागिर पाइने हैन, घर फर्किएर पनि के गर्नु भन्ने लाग्यो।

जागिर खोज्नेक्रममा धेरै ठाउँमा आवेदन दिएँ। कतै पनि भएन। २०२८ सालमा शाही नेपाल चलचित्र संस्थान खुल्यो बालाजुमा। बालाजुमा संस्थानले जग्गा लिएको थियो। अफिस चैँ लाजिम्पाटमा भाडामा थियो।

संस्थानले ४०–४५ पदका लागि मान्छेहरू खोजेको थियो। मैले पढेको विषयको कुनै पद थिएन। तै पनि आवेदन दिएँ। तर फिल्मको बारेमा केही नआउने। त्यस भित्र एउटा मिल्ने क्षेत्र भेटेँ पटकथा लेखक। आवश्यक न्यूनतम योग्यता बिए पास, नेपाली भाषा लेख्न जानेको, नेपाली भाषामा कुनै एउटा पुस्तक लेखेको हुनुपर्ने,भाषाको राम्रो ज्ञान भएको यस्तै यस्तै थियो। यो मेरो लागि ठिक थियो। मैले एमए पास गर्नु अघि नै तीन वटा उपन्यासहरू निकाली सकेको थिएँ। त्यो समयमा गोरखापत्र, मधुपर्क, रूपरेखा लगायतमा आफ्नो लेखहरू पनि छाप्थेँ।

मलाई अन्तर्वार्ताका लागि बोलाए। मैले मेरो आर्टिकल छापिएका पत्रिकाको टुक्रा र पुस्तक बोकेर संस्थानको अफिसमा गएँ। त्यतिबेला संस्थानको महाप्रबन्धक यादव खरेल हुनुहुन्थ्यो। त्यतिबेला लोकसेवाको मान्छेहरू पनि आउँथेँ।

उनीहरूले हेर्नुपर्ने नेपाली भाषा लेख्न जान्छ कि जान्दैन, लेख्न सक्छ कि सक्दैन,कतिको ज्ञान छ भन्ने न हो। अन्तरवार्ता ५ मिनेटमा सक्नुपर्ने थियो,मलाई  त एक घण्टासम्म लिए। साह्रै केराकेर भयो नि। सायद उहाँहरूलाई मेरो कुरा मन परेर रैछ क्यार। ५–६ दिनपछि बोलाएर ६ महिनाका लागि अस्थायी नियुक्त गर्यौ भने। त्यो बेलामा तलब ५ सय ५० रुपैयाँ थियो।

पहिल्यै मलाई ‘तपाई जान्नुहुन्छ भनेर होइन, तपाईँमा सिक्ने मनसाय देखियो,त्यसैले ६ महिनाका लागि अस्थायी नियुक्त गरेको’ भनेका थिए। ६ महिनासम्म काम चित्त बुझ्यो भने मात्र स्थायी हुने। मैले हवस् भने।

पहिलो पटक नै पटकथा लेख्ने जिम्मा

गाईजात्रा पर्व आउन लागेको रहेछ। पहिलो पटक नै संस्थानले केही डकुमेन्ट्री बनाउन लागेकाले पटकथा लेख्नु भन्ने निर्देशन आयो। मलाई पटकथा थाहै थिएन। अनि लाइब्रेरीमा गएर गाईजात्रा सम्बन्धी किताबहरू पढेँ।

६–७ दिन अध्ययन गरेपछि लेख्न थालेँ। सुरुमा मैले आलेख तयार पारेँ। अनि बुझाएँ। पटकथा बोर्डमा पठाइयो। त्यतिबेला यादव खरेल, बालकृष्ण सम लगायत हुनुहुन्थ्यो। उहाँहरूले हेरेपछि यो ठिकै छ भन्नुभएछ। संरचनागत रूपमा त ठिक थिएन। मलाई आउँदैनथ्यो। तर लेखाई र सामग्री खोजीले सदर भयो।

सोही अनुसार क्यामेरामेनले खिचे। नेपालमा प्रविधि थिएन। मुम्बई लगे। पछि त्यो डकुमेन्ट्री बनेर आयो। लेखे अनुसारै बनेको थियो। त्यसपछि त थुप्रै लेखियो। ६ महिना कटेपछि निकाल्ने कुरा गरेनन्। लोकसेवाको जाँच दिन लगाए। म पास भएर स्थायी कर्मचारी भएँ। ५०–५१ सालतिर संस्थान छाडेँ।

मनको बाँधमा संवाद लेख्दाको क्षण

म संस्थानमा आएपछि ‘मनको बाँध’ भन्ने फिल्म निर्माण गर्ने सुरसार भयो। प्रेम बहादुर बस्नेत भारतको पुनाबाट पटकथा पढेर आउनु भएको थियो। मलाई पटकथाको संरचना थाहा थिएन। मलाई उहाँसँग २०–२२ राखियो। उहाँसँग बसेपछि केही प्राविधिक कुराहरूले सिकेँ। डायलग लेख्न त समस्या थिएन,लेख्न सकिहाल्थेँ।

यो फिल्म बस्नेतले नै निर्देशन गर्ने भन्ने थियो तर उहाँले नगर्ने हुनुभयो। अनि संस्थानले बम्बईमा फिल्ममा काम गरिरहेको प्रकाश थापालाई बोलाएर जिम्मा दियो। फिल्मको पटकथा प्रकाश थापाले नै लेख्न थाले। कथा अर्केले लेख्नुभएको थियो। थापाले पटकथा लेखे। त्यसमा पुरै हिन्दी शब्दहरू थिए। २५ वर्ष भारतमा काम गरेको हुनाले उताको प्रभाव परेको देखियो। अनि मलाई त्यो फिल्मको शब्द नेपाली भाषामा लेख्न लगाइयो।

प्रकाश थापा खरो मान्छे थिए। उनी कसैलाई पनि राम्रो तरिकाले बोल्न नखोज्ने, थर्काउने। धेरै बहस भयो प्रकाशसँग। तै पनि संवादको सबै काम मैले गरेँ। उनीहरू सुटिङमा निस्किए। सुटिङमा निस्किएपछि प्रकाशका सहायक निर्देशक लगायत मान्छेहरूले काम गर्न सकेनन्। अनि निर्देशक थापाले संस्थानलाई एकजना मान्छे देऊ भनेछन्। संस्थानले मलाई थापाको सहयोगीको रूपमा पठायो। सिक्ने त हो भनेर म सुटिङमा गएँ।

अनि आयो निर्देशनको जिम्मा

डेढ वर्ष काम गरिसकेपछि फिल्मका लागि सबै नेपाली हात चाहिन्छ भन्न थालियो। त्यो समयमा भारतको पुना फिल्मस्बाट स्कलरसिपमा केही सिटहरू आए। त्यो सिटमा मैले निर्देशनमा आवेदन दिएपछि छनोट पनि भयो। म पनि गएँ,अरू पनि गए।

त्यहाँ तीन वर्षे कोर्स पढियो। तीन वर्ष पढ्दा,होस्टेलमा नै बस्नुपर्ने,बाहिर निस्किन नपाइने। बिहान उठ्दा पनि फिल्म, दिउँसो भात खाजा खाँदा पनि फिल्म, सुत्दा पनि फिल्म, सबै फिल्मकै कुरा हुन्थ्यो। त्यो बाहेक अरू केही पनि हुँदैनथ्यो।

अर्को कुरा पहिला निर्देशक, पटकथा, कथा लगायत फरक-फरक विषय थियो। पछि एउटै व्यक्तिलाई पढ्न पाउने गरी मर्ज गरियो। अहिले म यसो सोच्छु त्यो जरुरी रैछ। डाइरेक्टरले पटकथा लेख्न जानेन भने त केही न केही कमजोरी भइहाल्यो नि। त्यही बेलामा मैले पटकथा पनि पढ्न पाएँ। फिल्म पढेर नेपाल आएपछि भने काम पाइनँ। फिल्म निर्देशन गर्न तीन वर्ष पर्खिनुपर्यो।

तीन वर्षपछि बल्ल ‘बदलिँदो आकाश’

नेपाल आएको तीन वर्षपछि बल्ल एउटा कथा दिए। यो २०३९ सालको कुरा हो। प्रसिद्ध लेखक विजय मल्लको कथामा पटकथा, डायलग र निर्देशनमा फिल्म ‘बदलिँदो आकाश’निर्देशन गर्ने मौका पाएँ। यो मैले निर्देशन गरेको पहिलो फिल्म हो। २०३९ सालमा खिचिएको भए पनि २०४० सालमा रिलिज भयो।

यो फिल्म नेपालमा बनिरहेको फिल्म भन्दा फरक बन्यो। पहिला हिन्दी फिल्मको ठाडो नक्कल गरिरहेको बेलामा मैले नेपालीपनको फिल्म निर्माण गरेको थिएँ। तर सोचे अनुसार प्रभाव परेन।

यो फिल्म निर्माण गर्नुअघि जागिरकै क्रममा डकुमेन्ट्रीहरूमा काम गरेको थिए। संस्थानले विदेशी टेलिभिजनमार्फत प्रचारका लागि डकुमेन्ट्री निर्माण गराएको थियो।

‘बदलिँदो आकाश’पछि भने धमाधम निर्देशनको काम गरेँ। त्यसपछि ‘भाइटिका’,’बर पिपल’,’साथी’,’जीत’,’छोरी बुहारी’, ‘सारंगी’ ,’ मिलन’, ‘चेलीबेटी’ लगायत बन्यो। तर त्यो समयमा फिल्म खिचेपछि,के खिचियो भन्ने निर्देशकलाई थाहै नहुने। क्यामेरामेनले जे खिच्यो सकियो। किनभने अहिलेको जस्तो खिचेपछि कस्तो भएछ भनेर हेर्न मिल्दैनथ्यो।

अहिले त प्रविधिले फड्को मार्यो। भाषामा भने पहिलाको तुलनामा मैले अशुद्ध छ। राम्रा कलाकारहरूले पनि शुद्ध नेपाली बोल्दैनन्।

फाँटेको चोली लाउन मान्दैन थिएँ

त्यो बेलामा नेपाली फिल्महरूमा पुरै भारतीय फिल्मको प्रभाव थियो। हिन्दी फिल्महरूको नक्कल गरेर नेपाली फिल्महरू बनाइन्थ्यो। आफ्नो मौलिकता देखाउनलाई लाज मान्थेँ। आफ्नी आमाले कुइनो फाटेको चोलो लगाएको, फरिया बाँधेको, गुन्यु लगाएको सिन राम्रो मान्दैनथे।

धान रोपेको, हिलोमैलो भएको हेर्न नचाहने दर्शक थिए। अहिले फिल्म ‘पूर्णबहादुर सारङ्गी’ जस्तो राम्रो राम्रो मौलिक फिल्म बने। कमाई पनि गर्यो। त्यो बेलामा मौलिक फिल्म बनायो भने चल्दै नचल्ने।

दर्शकले नरुचाएपछि निर्माण पक्षहरूले पनि हिन्दीकै नक्कलमा फिल्म बनाउन थाले। एक समय त नेपाली फिल्म निर्माणमा सङ्कटै आइसकेको थियो। निश्चल बस्नेतको ‘लुट’ आएपछि बल्ल धरमराएको फिल्मले पुन उकालो लागेको हो नि।

तर अहिले निकै फरक भइसकेको छ। हिन्दीको प्रभाव भन्दा नेपाली मौलिकता बोकेको फिल्म बन्दा चल्न थालेका छन्। नयाँ प्रविधि पनि आयो। तर निर्देशकको कल्पना भन्दा बाहिरको कुरालाई प्रविधिमार्फत दुरुपयोग भएको पनि देखिन्छ। यो चैँ अलि चित्त बुझ्दैन।

पहिलाको तुलनामा अहिले निकै फरक छ। पहिला निर्देशक,निर्माता एकअर्काबीच सम्मान हुन्थ्यो। मैले काम गरेका अधिकांश कलाकार,प्राविधिकहरुबीच कहिल्यै नराम्रो भएन। तर दर्शकमा कलाकारको राम्रो छवि थिएन। कलाकार देख्दा अहिले दर्शकले घेर्छन्। त्यो बेलामा दर्शक बाटो तर्किएर हिँड्थे।

फिल्ममा अभिनय गर्नेलाई हेलाँ गर्थे। कोही कोहीले मात्र अँगालो हाल्थे। नत्र त अधिकांश तर्किएर हिँड्थेँ। फिल्ममा अभिनय गर्नेहरू बिग्रिएका भन्ने दृष्टिकोणले हेर्थे। अहिले त अभिनय सम्मानित पेसा भइसक्यो। कलाकारले समाजमा सम्मान पाएको देख्दा निकै खुसी लाग्छ।

साउन ८, २०८२ बिहीबार २२:०९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।