दोस्रो वर्षमै काठमाडौं गुर्खाजले नाम बदलेर गोर्खाज् भयो, प्रशिक्षक र लोगो समेत बदल्यो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लक्षित गर्दै काठमाडौं गोर्खाजले नयाँ व्यवस्थापनसहित नयाँ लोगो सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा काठमाण्डु गुर्खाजको नाम बदलेर काठमाडौं गोर्खाज राखिएको सार्वजनिक गरियो।
काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको टोलीले यसपटक व्यवस्थापनदेखि तयारीसम्मका धेरै पक्षमा नयाँ थपिएको सार्वजनिक गर्यो।
काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लालाई लक्षित गर्दै टोलीले आफ्नो गतिविधि केन्द्रित गर्ने बताएको छ। टोलीले वल्ड लिंकसँग मुख्य प्रायोजन सम्झौता गरेको छ। सम्झौताअनुसार वल्ड लिंकको लोगो टोलीको जर्सीको अगाडिको भागमा देखिनेछ।
काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र वल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे।
हस्पिटालिटी पार्टनरको रूपमा ‘रोयल टुलिप काठमाडौं’ जोडिएको छ। ललितपुरको ग्वार्कोस्थित पाँचतारे होटल ‘रोयल टुलिप’ एनपीएल–२ का दौरान टोलीको आवासस्थल हुनेछ।
सम्झौतामा काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र होटलका जेनेरल म्यानेजर बलराम पाठकले हस्ताक्षर गरे।
टोलीले नेपाल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरिसकेको छ। मोन्टीको साथमा सहायक प्रशिक्षक वसन्त शाही, टेक्निकल एनालिस्ट सुरज शाक्य र फिजियो पुरन तिरुवा टोलीमा यथावत् रहने जानकारी दियो। बाँकी सपोर्ट स्टाफको टुंगो चाँडै लगाइने टोलीले जनाएको छ।
टोलीले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसी, भीम सार्की, शाहव आलम, रसिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ।
टोलीको ट्रेनिङ पार्टनरको रूपमा थन्डर बोल्ट क्रिकेट एकेडेमी रहनेछ। जैम्स स्कुल परिसरमा सञ्चालन हुने एकेडेमीमा फ्लडलाइट सुविधा पनि रहने बताइएको छ।
साउन ८, २०८२ बिहीबार १९:१२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।