नाममै विवादमा परेको ‘जेरी अन टप’ले सुरु गर्यो प्रचार, पोस्टरमा अटाएनन् माग्ने र भुवन

काठमाडौं : नामबाटै विवाद झेल्दै आएको फिल्म ‘जेरी अन टप’ले असोज ३१ लाई रिलिज मिति तोकेर प्रचार सुरु गरेको छ। गत वर्ष पुरानो फिल्म ‘जेरी’ को टिमले आफ्नो फिल्मको नाम बेचेर फिल्म बनाउन लागेको भन्दै आपत्ति जनाएको थियो।
सोही समयमा सरोज न्यौपानेले निर्माण गर्न लागेको फिल्म ‘जेरी: अन टप’ प्रति ‘जेरी’ फिल्मका निर्माता मनोजकुमार शेरचन र सह-निर्माता सम्राटप्रसाद गौचनले आफ्नो फिल्मको नाम अगाडि ठुलो राखेर बेचेको भन्दै आपत्ति जनाएका थिए। उनीहरुबीच नामको विषयलाई लिएर मनमुटावै भयो। पछि दुवै पक्ष मिले।
गत वर्षदेखि नै फिल्मको छायाङ्कन सुरु गरे पनि निर्माण टिम प्रचारमा होमिएको थियो। रिलिज मिति नजिकिएसँगै निर्माण टिमले प्रसार सुरु गरेको छ। आगामी असोज ३१ गतेबाट फिल्मको प्रदर्शन मिति तोक्दै निर्माण पक्षले बिहीबार तीन फरक फरक पोस्टर रिलिज गर्यो।
निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले सार्वजनिक गरेको तीन पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ छन्। फिल्ममा केदार घिमिरे(माग्ने बुढा)देखि भुवन केसी,बिपना थापासम्मको अभिनय छ। तर तीन पोस्टरमा उनीहरू अटाएका छैनन्।
निर्माण पक्षले केवल तीन कलाकारलाई पोस्टरमा राखेर प्रचार सुरु गरेको छ। केदार घिमिरे पछिल्लो समय ‘माग्ने राजा’को प्रचारप्रसार व्यस्त छन्। यस फिल्ममा उनको अनुहार पोस्टरमा समेत अटाएन।
पोस्टरमा अनमोल र जसिता हिमाल आरोहीको रूपमा देखिएका छन्। अर्को पोस्टरमा अनमोल दुवै अभिनेत्रीसँग रोमान्टिक अवतारमा छन्। यसले फिल्म त्रिकोणात्मक प्रेम कथामा बनेको संकेत देखिन्छ।
सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको यो फिल्मको कथा हेमराज बिसीको हो। कार्यकारी निर्मातामा अनुराधा गिरी र ईश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्।
साउन ८, २०८२ बिहीबार १८:३०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।