मुम्बईबाट भागेर भक्तपुर आए, मध्यरात टिकटक बनाए र एकै डोरीमा पासो लागे दिदी-बहिनी

मुम्बईबाट भागेर भक्तपुर आए, मध्यरात टिकटक बनाए र एकै डोरीमा पासो लागे दिदी-बहिनी

काठमाडौं : भक्तपुरको एक घरमा बिहीबार बिहान ६:४५ बजे सुर्खेत पञ्चपुरी नगरपालिका-८ की १६ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १३ वर्षीया सिर्जना कँडेल मृत फेला परे। घरको भुईँ तलामा एकै डोरीको दुईतिर नाइलनको डोरीमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो। यी दुवै जना भारतको मुम्बईमा बस्दै आएका थिए। आमा-बाबु उतै भएकाले उनीहरू नेपाल नआएसम्म प्रहरीले उनीहरूको शव चलाएको छैन।

प्रारम्भिक अनुसन्धानमा तीन साताअघि उनीहरू भारत मुम्बईको मीरा भाइन्दरबाट कम्प्युटर सिक्न जाने भनेर घरबाट हिँडेका थिए। दुवै जना एकाएक सम्पर्कहीन भएपछि परिवारले खोजी सुरु गर्यो। उनीहरूको लोकेसन गोरखपूरसम्म देखिए पनि फेला परेनन्। मध्यपुर ठिमी नगरपालिका-८ बोडेमा रहेको एक घरमा उनीहरूको शव फेला परेपछि मुम्बईबाट हराएका दिदी-बहिनी नेपाल आएर १५ दिनदेखि भक्तपुरमा बस्ने गरेको खुलेको थियो।

उनीहरू किन मुम्बईबाट भागेर नेपाल आए भन्ने खुलेको छैन। प्रारम्भिक अनुसन्धानमा मृत्यु अगाडि बुधवार बिहान २ बजेतिर उनीहरूले टिकटक बनाएर भिडियो पोस्ट गरेका थिए। भिडियोमा उनीहरूको हातमा नाइलनको डोरी समेत देखिएको छ। घटनास्थलमा प्रहरीले कुनै सुसाइड नोट फेला परेको छैन।

दिदी-बहिनी परिवारलाई नभनी भागेर नेपाल आउनु, विद्यार्थी हो भनेर डेरामा बस्नु र नेपाल आएको १५ दिनमा दुवैले एकै स्थानमा आत्महत्या गर्नुले घटना शङ्कास्पद देखिन्छ। तर कारण अझैँ खुलेको छैन।

साउन ८, २०८२ बिहीबार १४:३०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।