सांसद कार्कीको प्रश्न- जनताको लागि लड्नेलाई कारागार अनि भ्रष्टाचारमा मुछिएकालाई स्याबासीको धाप ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् बहिष्कार गरेका छन्। संसद् सुरू भए लगत्तै सभामुखले दिएको समयमा आफ्ना कुरा राखेपछि रास्वपा र राप्रपा संसद्बाट बाहिरिएका हुन्।
संसद्मा बोल्दै रास्वपाका सांसद डा. तोसिमा कार्कीले सरकारले दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको आरोप लगाइन।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ललितपुरमा मन्त्री क्वार्टर निर्माणको नाममा सर्वसाधारणलाई हिँड्न समेत गाह्रो हुने संरचना बनाइन लागिएको भन्दै उनले सरकारी चरित्रप्रति गम्भीर आपत्ति जनाइन्।
सांसद कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य सकिएको दाबी गरिन्। उनले सरकार गठनको बेला कांग्रेस र एमालेले संविधान संशोधन र सुशासनको प्रतिबद्धता गरेको स्मरण गराउँदै उनले व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको टिप्पणी गरिन्।
‘बाचा संविधान संशोधनको, अनि उपलब्धि मान्छे र सरकारी जग्गा बेचबिखनको। बाचा सुशासनको अनि परिणाम जनताको लागि लड्नेहरूलाई कारागार अनि भ्रष्टाचारमा मुछिएकाहरूलाई स्याबासीको धाप,’ उनले भनिन्।
भिजिट भिसा प्रकरणमा अपारदर्शी लेनदेन भएको र त्यसमा छानबिनको माग गर्दा पनि सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ। ‘हामी भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनमा छौँ। जसमाथि छानबिन हुनुपर्ने हो उसैको संयोजकत्वमा बनेको समिति बाँदरको पुच्छर लौरो न हतियारजस्तो भएकाले हामीले पहिलो दिनदेखि नै बहिष्कार गरिरहेका छौँ,’ उनले भनिन्।
साउन ८, २०८२ बिहीबार १४:०७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।