भ्रष्टाचार गरेर न्यायिक फैसला परिवर्तन गरेको आरोप लागेका बङ्गलादेशका पूर्व हक प्रधानन्यायाधीश पक्राउ

भ्रष्टाचार गरेर न्यायिक फैसला परिवर्तन गरेको आरोप लागेका बङ्गलादेशका पूर्व हक प्रधानन्यायाधीश पक्राउ

काठमाडौं : बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकलाई बिहीबार बिहान डिटेक्टिभ शाखा (डिबी) प्रहरीले पक्राउ गरेको छ।

डिबीको टोलीले उनलाई स्थानीय समयअनुसार बिहान ८ बजेतिर राजधानी ढाकास्थित निवासबाट नियन्त्रणमा लिएको हो। डिबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्व प्रधानन्यायाधीश हक पक्राउ परेको पुष्टि गर्दै, ‘हो, हामीले उहाँलाई पक्राउ गरेका छौं,’ भन्दै खैरुलविरुद्ध तीनवटा फरक मुद्दा दर्ता भएको जानकारी दिएका छन्।

पूर्व प्रधानन्यायाधीश खैरुल हक सन् २०१० को अक्टोबर १ देखि सन् २०११ मे १७ सम्म बङ्गलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा कार्यरत थिए। उनको नेतृत्वमा सर्वोच्च अदालतको पुनरावेदन बेन्चले सन् २०११ मेमा एउटा ऐतिहासिक फैसला गर्दै संविधानको १३औँ संशोधनलाई असंवैधानिक ठहर गरेको थियो। सो फैसला कार्यवाहक सरकार प्रणालीलाई खारेज गर्ने निर्णयका रूपमा लिइएको थियो, जसको असर बङ्गलादेशको निर्वाचन प्रणालीमा देखिएको थियो।

खैरुलविरुद्ध भ्रष्टाचार र न्यायिक फैसला परिवर्तन गरेको आरोपमा अगष्ट १८ मा सर्वोच्च अदालतका वकिल मुजाहिदुल इस्लाम शाहिनले शाहबाग प्रहरी चौकीमा मुद्दा दायर गरेका थिए। त्यसअघि १५ अगष्टमा नारायणगञ्जको फतुल्ला प्रहरी चौकीमा बङ्गलादेश नेशनल पार्टी (बीएनपी) का महासचिव तथा बार एसोसिएसनका पूर्व अध्यक्ष अब्दुल बारी भुइयाँले अर्को उजुरी दर्ता गराएका थिए। भुइयाँले १३ वर्षअघिको १३औँ संशोधन रद्दसम्बन्धी फैसलालाई खारेज गर्न निर्णय प्रक्रियामा खैरुल हकले जालसाजी गरेको आरोप लगाएका छन्।

यो गिरफ्तारी बङ्गलादेशमा हालै बनेको अन्तरिम सरकारले विभिन्न तहका राजनीतिक, प्रशासनिक र न्यायिक व्यक्तिहरूविरुद्ध चलाएको व्यापक कारबाही अन्तर्गत परेको बताइएको छ।

गत वर्ष अगष्टमा विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिनाको सत्ता पतन भएको थियो। त्यसयता नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भई विभिन्न विवादास्पद निर्णयहरूबारे पुनरावलोकन हुँदै आएको छ।

साउन ८, २०८२ बिहीबार १३:०३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।