हिमाल मिडिया मेलाको ‘पावर्ड बाई’ पार्टनर बन्यो टिकटक

काठमाडौं : हिमाल मिडियाले आगामी साउन ९ गते ‘हिमाल मिडिया मेला २०२५’ को चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ।
देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडिया विश्लेषक र कथावाचकहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरिने यस वर्षको मेलामा समाचार, स्टोरीटेलिङ र मोबाइल-फर्स्ट सामग्री निर्माणबारे छलफल, कार्यशाला र मास्टरक्लासहरू समावेश हुनेछन्।
यस पटकको हिमाल मिडिया मेलामा ‘पावर्ड बाई’ साझेदारको रूपमा टिकटक पहिलो पटक सहभागी हुने भएको छ। यस साझेदारीले मोबाइल फर्स्ट सामग्री निर्माण र कथावाचनको संसारमा डिजिटल प्लेटफर्महरूको बढ्दो महत्त्वलाई अझ अघि बढाउने अवसर दिने बताइएको छ।
टिकटकले मोबाइल पत्रकारिता र भिडियो कथावाचनबारे विशेष सत्र सञ्चालन गर्नेछ, जसले पेशेवर मिडियाकर्मीहरूलाई डिजिटल फर्स्ट दर्शकहरूको लागि उपयुक्त हुने सामग्री निर्माणबारे जानकारी दिनेछ। यस साझेदारीले ‘सट’ का भिडियोहरूको बढ्दो प्रभाव र पहुँचलाई कसरी मिडियाले उपयोग गर्न सक्छ भन्नेबारे छलफलको अवसर पनि दिनेछ।
‘हिमाल मिडियासँगको सहकार्य मार्फत नेपालमा कथावाचनको भविष्यलाई सघाउन पाउँदा हामी उत्साहित छौं। टिकटक मिडियालाई विविध प्रकारका दर्शकहरूसँग सिर्जनात्मक र अर्थपूर्ण तरिकाले जोड्न सक्षम बनाउने कुरामा विश्वास गर्दछ,’ टिकटकका प्रवक्ताले भने।
कार्यक्रमको सुरुवात हिमाल मिडियाका प्रकाशक कुन्द दीक्षितको सम्बोधनबाट हुनेछ, त्यसपछि मनीषा पाण्डेको की नोट भाषण र रोमन गौतमसँगको संवाद हुनेछ। मुख्य सत्रहरूमा अनुप काफ्लेले डिजिटल कथावाचनबारे आफ्नो विचार राख्नेछन्। टिकटक टिमद्वारा मोबाइल पत्रकारितामा मास्टरक्लास र भी चित्रका स्वरुप न्हसिजुद्वारा आधारभूत भिडियो निर्माण कार्यशाला प्रस्तुत हुनेछ। अन्तमा, पत्रकारिताको भविष्यबारे सन्दीप नारवाणी र कुन्द दीक्षितबीचको छलफलसँगै कार्यक्रमको समापन हुनेछ।
साउन ८, २०८२ बिहीबार १२:०९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।