फिल्म 'माग्ने राजा' निरन्तर कन्ट्रोभर्सीमा : मिस पविको सिन काटिएकोदेखि ६१ लाखको पारिश्रमिकसम्मले हैरान निर्माण टिम

फिल्म 'माग्ने राजा' निरन्तर कन्ट्रोभर्सीमा : मिस पविको सिन काटिएकोदेखि ६१ लाखको पारिश्रमिकसम्मले हैरान निर्माण टिम

काठमाडौँ : एउटा भनाई छ नि ' आफू ताक्छु बुढो, बन्चरो ताक्छ घुँडो' भन्ने। आफूले एउटा उद्देश्यले काम गरेको हुन्छ तर नतिजा अर्कै आइदिन्छ भन्ने अर्थमा यो भनाइको प्रयोग गरिन्छ। अहिले नेपाली फिल्म नगरीको अवस्थासँग यो कथनलाई दाँजेर हेर्ने हो भने फिल्म 'माग्ने राजा' को टिमलाई यस्तै भयो।

माग्ने अर्थात् केदार घिमिरेले दीपक-दीपा टिम बाहिर खेलेको फिल्मबाट ६१ लाख पारिश्रमिक पाएको भन्यो भने त फिल्मको बबाल प्रचार हुन्छ भनेर सार्वजनिक कार्यक्रममा मच्चिमच्ची भनिहाले। तर त्यही विषय ट्रोल बनेपछि टिजरदेखि फिल्मको अन्य प्रचारमा समेत उल्टो नकारात्मक प्रभाव पर्यो। जहाँ फिल्म प्रमोसन गर्न जाँदा पनि त्यही ६१ लाखको कुरा मात्र उठ्न थालेपछि घिमिरेले आफूले त्यत्रो पारिश्रमिक नलिएको अनि फिल्मको हाइप बन्छ भनेर निर्माताले त्यसै भनेको भनिदिए।

फिल्मको प्रचार गर्न निर्माण टिमले नै फण्डा गरेको सार्वजनिक भएपछि दर्शक रिसाउने भइनै हाले। त्यसले फिल्मको प्रचारमा झन् नकारात्मक असर पर्यो। अनि निर्माण टिम हैरान भयो। माग्ने राजा टिमका सदस्यलाई ६१ भन्यो कि झनक्कै रिस उठ्ने अवस्थै बन्यो। अनि त अब निर्माण टिम प्लिज खुट्टा ढोग्छु त्यो ६१ लाखको कुरा नउठाइदिनुस् न भन्नसम्म बाध्य भए।

फिल्मको गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा फिल्मको हाइप बन्छ भनेर किन ढाँटेको भनेर पत्रकारले प्रश्न सोध्ने भइहाले। तर निर्देशक ऋषि लामिछानेले अब यो ६१ लाखको कुरा नझिक्न अनुरोध गर्दै बरु सबैको खुट्टा ढोग्छुसम्म भन्न पुगे। उनी अनुरोध गर्दा निकै नम्र रूपमा प्रस्तुत भएका थिए। त्यसले नै देखायो यो ६१ लाखको फन्डाले निर्माण टिमलाई कतिसम्म हत्तु हैरान बनाएको रहेछ भन्ने। अब निर्देशकले नै माफी मागेपछि ६१ लाखको विवादको अर्थ भने भएन। माफी मागेपछि दिनु पनि पर्छ है।

फिल्ममा केदारसँगै रहेकी अभिनेत्री वर्षा सिवाकोटीको अर्को विषय चर्चामा आयो यही बेलामा। एक कार्यक्रम सञ्चालकले रोएको अभिनयसमेत गर्न नसक्ने भन्दै उनको आलोचना गरेपछि रुन नआउने नायिका भन्दै ट्रोल हुन थालिन् उनी। त्यही कार्यक्रममा उनले अब रुने अभ्यास गर्दै हरेक दिन एक भिडियो कार्यक्रम सञ्चालकलाई पठाएर मिल्यो कि मिलेन भनेर सोध्ने बताइन्। उनले भिडियो पठाइन् वा छैन त्यो त खुलेको छैन। फिल्म सुटिङकैक्रममाहुँदा टिकटकर  पवित्रा साकी ‘मिस पवि’ले अभिनय गर्न नसकेर उनको दृश्यहरू काटिएको समाचार सार्वजनिक भएर भाइरलै भएको थियो।

धन्न फिल्मका अन्य कलाकार  विल्सन विक्रम राई, शिशिर वाङ्देल अनि   विशेष भूमिकामा रहेका  अभिनेता आर्यन सिग्देल कुनै कन्ट्रोभर्सीमा परेका छैनन्। सार्वजनिक भएको टिजरले दर्शकको ध्यान तान्न सकेको थिएन। तर पैसा भन्ने गीतले भने राम्रै चर्चा पाइरहेको छ।

साउन ७, २०८२ बुधबार २२:३०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।