गृह मन्त्रालयका नक्कली कर्मचारीको सक्कली धन्दा, भर्नादेखि कैदी छुटाउने भन्दै असुल्थे रकम

गृह मन्त्रालयका नक्कली कर्मचारीको सक्कली धन्दा, भर्नादेखि कैदी छुटाउने भन्दै असुल्थे रकम

काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका-१३ का ४६ वर्षीय गंगाहरि न्यौपानेसँग गृह मन्त्रालयको काम गराउन व्यक्तिहरूको भिड नै लाग्थ्यो। कारागारमा रहेका कैदी छुटाउन होस् या जागिर खान या शान्ति सेनामा जान होस् प्राय सबै खालका व्यक्तिहरू सहयोगका लागि उनकोमा पुग्थे। उनी हरेक कामको शुल्क तोकेर लिन्थे। फारम भराउँथे, आश्वासन दिन्थे। तर कसैको काम हुँदैनथ्यो।

होस् पनि कसरी, उनले आफूलाई गृह मन्त्रालयको कर्मचारी दाबी गरे पनि सक्कली हैन उनी नक्कली कर्मचारी जो थिए। यही ठगीको शृङ्खलामा उनी पटक-पटक पक्राउ पर्दै पनि आए। तर उनको ठगीको शृङ्खला रोकिएन। उनी बुधवार पुन ठगी आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको फन्दामा परे। उनलाई कार्यालयको टोलीले सिन्धुली प्रहरीको सहयोगमा भीमानबाट पक्राउ गरेको काठमाडौं ल्यायो।

प्रहरी रेकर्ड अनुसार उनी यस अगाडि गृह मन्त्रालयमा करारको जागिर लगाइदिने भन्दै फर्जी फारम भर्न लगाएर ठगी गरेको आरोपमा पक्राउ परेका थिए। २०६९  भदौ  २६ मा सैनिक अनुसन्धान तथा आचरण सम्बन्धी मुद्दामा विशेष अदालतको किर्ते पत्र तयार गरेको आरोपमा उनी जेलै पुगे। तर उनको ठगी बानी सुधारिएन।

२०७४  वैशाख  ८  मा उनी भिआइपी कोटामा शान्ति सेना पठाउने भन्दै ४ लाख ठगी गरेको आरोपमा समातिए। सँगै उनले नख्खु कारागारबाट कैदी छुटाइदिन्छु भन्दै आफन्तबाट १२ लाख ठगी गरेको आरोपमा समातिए।

जग्गा बिक्री गरिदिन्छु भन्दै उनले ठगी गरेको आरोपमा २०७५ जेठ  २२ मा जाहेरी परेको थियो। सहायक सेनानी बनाइदिन्छु भन्दै ठगी गरेको, अदालतको फैसला किर्ते गरी लिखत सम्बन्धी कसुर गरेको लगायतका आरोपमा पक्राउ परेका उनी केही केसमा कारागार नै गए। केहीमा धरौटीमा छुटे।

साउन ७, २०८२ बुधबार २२:०९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।