एन्फाको लापरबाहीले मारिएका १४ वर्षका दिवशका दाइ विवशले 'चिहान' हेर्दै भने "पावर नभई नचल्ने देशमा कसले न्याय देला र !"

काठमाडौं : सर्लक्कै खसेको माटोको ढिस्को। एउटा झन्डा अनि वरिपरि ध्वजा पताका लगाइएको। ‘उ त्यहीँ हो मेरो भाइ पुरिएको’ विवश बानियाले परैबाट औँलाले देखाए। असार २१ गते उकेराकर्मी मकवानपुर, सिस्नेरी पुगेर उनीसँगै घटनास्थलमै पुग्दा पहिरो त्यति ठूलो भने देखिएन। तर माथिबाट खसेको यही ढिस्कोमा पुरिएर अखिल नेपाल फुटबल संघले राखेको एन्फा एकेडेमीमा प्रशिक्षण लिँदै गरेका कलिला ६ खेलाडीको ज्यान गयो।
विवश एन्फा पदाधिकारी र एकेडेमी व्यवस्थापनको जिम्मा लिएकाहरूको गम्भीर लापरबाहीमा परेर ज्यान गुमाएका १४ वर्षका दिवस बानियाँका दाइ हुन्। जब भाइ पुरिएको स्थानमा उनी पुगे टोलाउन थाले। उनको आँखा आँसुले टम्म भरियो।
उनी सिस्नेरी टेकरका स्थानीय भए पनि पारिवारिक आर्थिक अवस्था कमजोर रहेकोले अरूको होटेलमा काम गर्छन्। गर्भवती आमा र ज्यामी काम गर्ने बुवालाई घर खर्च चलाउन भरथेग गर्ने अहिले उनी एक्लो भए।
भाइ दिवश एन्फाको छनौटमा परेपछि राष्ट्रिय खेलाडी बन्ने सपना लिएर बाल्सलादेवी सिभिल इन्जिनियरिङ शिक्षालयमा सञ्चालित एन्फा एकेडेमीमा गएका थिए।
२०८१ असोज ९ देखी १२ सम्म अविरल परेको वर्षासँगै सिस्नेरी खोलाको जल सतह बढ्यो। उता कुलेखानी जलविद्युतको ड्याम भरिएपछि ड्याम खोलियो। पानीको सतह डरलाग्दो गरी बढ्यो। एकेडेमीमा ४० खेलाडी थिए। उनीहरूले के गर्ने, के नगर्ने कुनै मेसो पाएनन्। जे जति सामान बोक्न सकिन्छ बोकेर सुरक्षित ठाउँतिर जाँदा बाटोमा खसेको पहिरोमा ६ खेलाडी पुरिएर मारिए।
घटनास्थल र एन्फा एकेडेमीको दुरी नजिकै देखियो। एकेडेमीको चौरबाट यसो उकालो लाग्नासाथ घटनास्थल रहेकाले उनीहरू एकेडेमीबाट निस्किएको केही समयमै पहिरोमा पुरिएको देखियो।
तर एन्फा एकेडेमीको होस्टेल अनि स्कुल भवन केही भएको थिएन। उनीहरूलाई एकेडेमीबाट हतारमा निकाल्नुको साटो त्यही भवनमा राखेको भए बरु ज्यान जोगिन सक्ने देखियो। तर विपद्मा एकेडेमीमा कोही नहुँदा आत्तिएका युवा खेलाडीहरू जोगिन खोज्दा उल्टो पहिरोमा पुरिएर मारिए।
अहिले मारिएका कलिला ६ परिवारका सदस्यहरू छानबिनको माग राख्दै न्यायको लडाइँमा छन्। तर उनीहरूले साथ पाएका छैनन्।
‘एन्फाको लापरबाही नभएको भए हामीले स्वतन्त्र छानबिन समिति बनाउन भन्दा उहाँहरू किन मान्नुहुन्न?” विवश भन्छन् “किन बारम्बार कुलेखानी ड्यामलाई दोष दिइरहेका छन्?”
‘एक्लै दौडिरहेका थिए किशोर खेलाडी’
घटनास्थल पुगेको उकेराकर्मीले त्यसदिन भएको घटनाबारे विस्तृत बुझ्न केही स्थानीयसँग सम्पर्क गर्यो। त्यसैमा भेटिइन् घटनास्थलबाट करिब सय मिटरमा घर रहेको अनि बात्सलादेवी विद्यालयमै काम गर्ने रिता क्षेत्री। उनले घटनाको दिनको जे विवरण दिइन् त्यो निकै कहालीलाग्दो सुनियो।
क्षेत्रीका अनुसार उनी त्यस बेलामा विद्यार्थीकै पछिपछि थिइन्। जोगिन किशोर खेलाडीहरू हतार हतार हल्का उकालो लागेर जाँदै थिए। एक्कासि माथिबाट ढिस्को खसेर पुरिहाल्यो। उनी पनि पहिरोमै परिन्। धन्न अर्कोले हात तान्न भ्याउँदा उनको ज्यान जोगियो।
“म पनि उनीहरूकै पछि-पछि थिएँ। तर उनीहरूसँग एकेडेमीको कोही पनि थिएनन्” उनले भनिन् “ ढिस्को खसेर पुरिहाल्यो। मलाई एउटा भाइले ताने। नत्र म पनि पहिरोमा पर्थेँ होला।”
कोच होस्टेलमै थिए। पानी धेरै परेपछि एकेडेमीमा भएका एन्फाका अन्य जिम्मेवार पदाधिकारी अघिल्लो दिनमै घर हिँडेका थिए। एकेडेमीमा अमृत दाहाल र अर्को एक ब्यक्तीमात्र बसेको उनले सुनाइन्।
४० जना खेलाडी राखेको स्थानमा व्यवस्थापनमा जिम्मेवारी कुनै व्यक्ति नहुनु, निरन्तर वर्षापछि बाढी-पहिरो आउनसक्ने भनेर स्थानीय निकाय र प्रहरीले सचेत गराउँदा समेत कुनै तयारी नगर्नु र कुलेखानीको ड्याम खोलेसँगै पानीको सतह बढेपछि होस्टलमा रहेका खेलाडीलाई त्यहीँ राख्ने कि सुरक्षित स्थानमा लैजाने भन्ने निर्णय गर्ने कुनै व्यक्ति नहुँदा किशोर खेलाडीहरू आत्तिएको प्रस्टै देखिन्छ।
यसले सो दिन एकेडेमीको जिम्मा लिएका एन्फा पदाधिकारीले किशोर खेलाडीहरूको सुरक्षामा गम्भीर खेलाँची गरेकाले नै उनीहरूको ज्यान गएको प्रस्ट देखिन्छ।
बिहानै वार्डेनले खोलामा पानी बढेको जानकारी दिए पनि एकेडेमीमा रहेका खेलाडीहरूलाई कुन स्थानमा, कसरी सुरक्षित लैजाने भन्ने तयारी नगरी भिरालो बाटो कुदाउँदा ६ जना खेलाडी पहिरोमा पुरिएको प्रस्ट देखियो।
राष्ट्रिय खेलाडी बन्ने सपना पहिरोमा पुरियो
सानै उमेरमा फुटबलमा रुचि राख्ने दिवस १४ वर्षका थिए। एन्फा एकेडेमीमा सञ्चालन भएको बात्सलादेवी माविमै उनी कक्षा ७ मा पढ्दै थिए।
बात्सलादेवीमा एन्फा एकेडेमी बन्नु अगाडिदेखि नै गाउँका साथीसँग दिवस फुटबल खेल्थे। २०८० चैत्रमा बात्सलादेवी माविमा एन्फा एकेडेमी औपचारिक रूपमा सञ्चालनमा आयो। एकेडेमी सञ्चालनमा आएसँगै उनी पनि छनोट चरण खेल्न २०८१ बैँशाखमा बात्सलादेवीकै मैदानमा गए।
एन्फाका कोच सम्मिलित छनोटमा उनी पर्न सकेनन्। तर पछि दिवस छनोटमा परेको भन्दै परिवारलाई फोन आएको दाइ विवश बताउँछन्।
‘वैशाखमा सेलेक्सनको खेल भएको थियो। २,३ जना सेलेक्सनमा परेका थिए। तर भाइ छनोट भएको थिएन,” उनले भने“क्युमा थियो। पछि बोलाएर छानिएको भनेपछि जेठबाट एकेडेमीमा भर्ना भएको थियो।”
सामान्य आर्थिक अवस्था भएको बानियाँ परिवारलाई होस्टेलको पैसा तिर्न पनि कठिन थियो। तर एन्फाले नै छनोट गरेकोले भविष्यमा राष्ट्रिय खेलाडी हुन्छ भनेर उनीहरूले बल्लबल्ल खर्चको जोहो गरिरहेका थिए। ऋण लिएर भाइलाई होस्टेलमा भर्ना गरेको दाइ विवशले बताए।
‘कति परिवारले होस्टेल फिस महँगो भयो भन्दै भर्ना गरेनन्। तर हामीले जेनतेन ऋण लिएर भर्ना गरेका थियौँ” उनले भने “ तर राष्ट्रिय खेलाडी बन्ला भनेको भाइ एन्फाको लापरबाहीले पहिरोमा पुरियो।”
‘पहिलो लास नै भाइको देखेँ’
सिस्नेरीमा सञ्चालित एन्फा एकेडेमी र विवश बानियाको घर करिब ३० मिनेटको दुरीमा छ। घटना भए लगत्तै सिस्नेरी टेकर बजारका विवशसहित केही व्यक्तिहरू घटनास्थल पुगेका थिए। उनले पहिलो शव नै आफ्नो भाइको देखे।
खेलाडी पहिरोमा पुरिए भने पनि को-को र कति जना पुरिए भन्ने एकिन थिएन। घटनास्थल पुगे लगत्तै सबै मिलेर पहिरो पन्छाउन थाले। त्यही बेला पुन पहिरो खसेपछि उद्धारमा खटिएकाहरू केही पुरिए। उनलाई सहयोगीले हात तानेर बचाए।
“घटना भयो भनेर सुरक्षामा खटिएका दाइले रुँदै फोन गर्नु भएको थियो। म सहित १५ जना जति कुद्दै आयौँ। पहिरो पन्छाउन लागेका मात्र थियौँ फेरी पहिरो आयो” विवशले उकेरासँग भने “हामी जाँदा समेत एकेडेमीका कोही पनि थिएनन्। सुरक्षामा खटिएका दाइ र शिक्षक मात्र आए।”
उनका अनुसार पुन पहिरो पन्छाउँदा ३ जना देखिए। उनीहरूको आधी ज्यान मात्रै देखिएको थियो। जसोतसो ३ जनालाई निकाले। फेरी पहिरो आयो। झन् बढी पुरिएपछि उनीहरू घर आएर अरू सहयोगी लिएर गए। निकालिएका तीन जनाको मृत्यु भइसकेको थियो।
‘वार्डेन भागिसके छन्। हेडमास्टर अमृत दाहाल भन्ने थिए। उहाँ चाहिँ ढोका लगाएर बस्नु भएछ,” विवशले भने “ त्यत्रो घटना हुँदा पनि एकेडेमीका जिम्मा लिएर बसेकाहरू कोही आएनन्।”
पुन साँझतिर स्थानीयहरू मिलेर पहिरो खोतलेर अन्य शवहरू निकाले। पछि काठमाडौँबाट हेलिकप्टर आएर पीडित परिवारसँग छलफलै नगरी शव राख्यो। अनि काठमाडौं लग्यो।
विवशका अनुसार त्यसदिन साँझसम्म ५ वटा शव फेला परेको थियो। एउटा शव खोज्न धेरै समय लाग्यो। त्यही बेलामा प्रधानाध्यापक लुसुक्क हेलिकप्टरमा देखिएका थिए। तर पीडित परिवारका कसैलाई हेलिकप्टरमा राखेर काठमाडौँ ल्याएन।
रात परेपछि विवश घर फर्किए। उनी भोलीपल्ट बिहानै काठमाडौँ हिँडे। एन्फा पदाधिकारीले काठमाडौंमा साढे २ बजे आइपुग्न भनेका थिए। तर सिस्नेरी बजार बगाएको अनि हेटौँडाबाट आउने गाडी बन्द भएकाले उनी टेकर बजारबाट हिँड्दै शिक्षण अस्पताल महाराजगन्ज आएको सुनाउँछन्।
“म बिहानै हिँडे पनि शिक्षण अस्पताल आइपुग्न ३ बज्यो । निकै दुख पाएँ” विवशले भने “ म पुग्दा एन्फाका पदाधिकारीहरूले उनीहरू भागेकाले पहिरोमा पुरिएको भनेर गलत कुरा भनेका रहेछन्। मैले सबै कुरा भनेपछि मात्र अन्य पीडित परिवारले घटनामा एन्फाको लापरबाही थाहा पाए।”
जिम्मेवार अधिकारी कोही भागे, कोही लुकेर बसे
गत असोज ९ देखी देशभरि लगातार वर्षा भएपछि कुलेखानी जलविद्युत केन्द्रले सूचना जारी गरेर ड्याम तलको सम्पूर्ण जनमानलाई सुरक्षित अपनाउन आग्रह गरेको थियो। तर एन्फा एकेडेमीका जिम्मेवारी व्यक्तिले वास्ता गरेन। ड्यामको पानी छोड्दा होस्टेल जोखिममा परेपछि विद्यार्थीलाई अन्धाधुन्ध कुदाउँदा ६ खेलाडी पुरिए।
उकेराकर्मी सिस्नेरी बजारदेखि बात्सलादेवी माविसम्मको अवस्था बुझ्न स्थलगत रूपमा जाँदा जलविद्युत केन्द्रले छोडेको पानीले सिस्नेरी बजार बगाएर भौतिक क्षति भएको देखियो। तर बजारका स्थानीय समयमै सचेत हुँदा मानवीय क्षति हुन पाएन। तर लापरबाहीका कारण एन्फा एकेडेमीमा रहेका ६ कलिला खेलाडी मारिए। यसले समेत एन्फाले कुन हदसम्मको लापरबाही गरेको थियो पुष्टि हुन्छ।
यसमा एन्फा नेतृत्वसँगै बात्सलादेवी माविको व्यवस्थापन समितिका अध्यक्ष तथा एन्फा एकेडेमीका सञ्चालक सुभाष चन्द्र ठकुरीको गम्भीर लापरबाही देखियो। उनले असोज ११ गते शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकमा कुलेखानी ड्यामको पानी छोडे पनि कुनै क्षति नपुग्ने दाबी गरेका थिए।
यसले उनी सो क्षेत्रमा पानीको सतह बढेकोबारे जानकार रहे पनि बेवास्ता गरेको देखिन्छ।
उनले फेसबुकमा लेखेका थिए “निरन्तर वर्षा भइरहे पनि अझै भरिन बाँकी छ। अघिल्ला वर्षमा राख्दै आएको बोराको चाङ हटाएकोले ओभरफ्लो भई तल्लो तटीय क्षेत्रमा बग्ने छ। साइरन बजाउने, माइकिङ गर्ने सूचना पनि छ त। फेसबुके सूचना गरेपछि पुग्यो तरु जोखिम बढे सेना, प्रहरी सबै छन् त। सही सूचना मात्रै सम्प्रेषण गरौँ।” जब १२ गते खेलाडीको मृत्यु भयो उनले फेसबुकको स्टाटस हटाए।
प्रधानमन्त्रीले पनि साथ दिएनन्
पीडित परिवारसँगै विवश पनि भाइको न्यायको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, खेलकुदमन्त्री, गृहमन्त्री रमेश लेखकसम्म बुझेर पत्र बुझाए। तर कसैले पीडितको मागको सुनुवाइ गरेनन्।
“यो देशमा पावर नभई केही नचल्ने रहेछ। जति बौलाए पनि केही नहुने रहेछ,” विवशले भने "प्रधानमन्त्रीले समेत कुलेखानी ड्यामलाई दोष दिनुभयो। छानबिनै नगराई बाढी आएको कारणले ज्यान गएको हो भन्दा दुख लाग्यो।”
प्रधानमन्त्रीस्तरबाटै गैर जिम्मेवार जवाफ आएपछि पीडित परिवार न्यायको आसमा सर्वोच्च अदालत गए। तर अहिलेसम्म पनि अदालतले पनि मुद्दा टुंगो लगाएको छैन।
साउन ७, २०८२ बुधबार १९:२८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।