सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलनको तयारीमा चिकित्सक संघ

काठमाडौं : सहमति अनुसार सरकारले काम नगरेको भन्दै नेपाल चिकित्सक संघले पुनः आन्दोलनको तयारी गरेको छ। उपभोक्ता अदालतको फैसलापछि आन्दोलित नेपाल चिकित्सक संघ र सरकारका तर्फबाट तीन मन्त्रीको उपस्थितिमा २०८२ असार २४ मा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघले बुधवार सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो।
संघ र सरकारबीच कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनका लागि ३ बुँदे सहमति भएको थियो। सहमति भएको दुई हप्ता बितिसक्दा समेत सहमति अनुसार काम नभएको भन्दै चिकित्सक संघले बुधवार सरकारलाई चेतावनी दिएको हो।
‘पुनः आन्दोलनका लागि बाध्य पार्ने स्थिति सिर्जना गरिएमा अबको आन्दोलनको स्वरूप थप सशक्त हुने’ चिकित्सक संघले जनाएको छ। तर, कस्तो किसिमको आन्दोलन भने संघले खुलाएको छैन।
सो सहमति अनुसार विभिन्न सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित कार्यदलले कानून संशोधनको विषयमा ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेस गर्ने सहमति भएको थियो।
तर, ‘हालसम्म पनि ठोस प्रतिफल नदेखिएको’ भन्दै सो कार्यदल पूर्ण रूपमा निष्क्रिय रहेको संघले उल्लेख गरेको छ।
सरकारमा रहेका उच्चपदस्थ अधिकारीहरूसँग भएको सहमति समेत समयमा पालना नभएको संघले जनाएको छ।
‘उक्त पदाधिकारीको मौखिक वा लिखित प्रतिबद्धतामाथि भविष्यमा समेत विश्वास गर्ने कुनै आधार नरहेको र यसबाट सरकारको विश्वसनीयता पनि गुम्ने स्थिति सिर्जना हुने’ संघको भनाई छ।
उपभोक्ता अदालतले चिकित्सकलाई समेत दोषी ठहर गर्दै अस्पतालहरूमाथि फैसला गर्न थालेपछि दबाब दिन चिकित्सक अस्पतालको नियमित सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए।
त्यसपछि स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा उपभोक्ता संरक्षण ऐन संशोधनको प्रक्रियामा सहमति जुटेको थियो। सहमतिपछि आन्दोलन फिर्ता भएको थियो।
असार २४ मा सहमतिसँगै चिकित्सक संघसहित सम्बन्धित संघसंस्थाले उठाएका मागहरूको अध्ययन गर्न कार्यदल गठन गरिएको थियो।
कार्यदलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखको संयोजकत्व र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिवस्तरका प्रतिनिधि थिए।
कार्यदलले सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने बताइएको थियो। तर, समयसिमाभित्र प्रतिवेदन पेस नभएको र सो कार्यदल पूर्ण रूपमा निष्क्रिय रहेको संघले जानकारी दिएको छ।
साउन ७, २०८२ बुधबार १८:०३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।