३२ लाख घुसमा जोडिएका मन्त्रीप्रति मौन एमालेको दाबी “सुशासन आधारभूत मान्यता”

३२ लाख घुसमा जोडिएका मन्त्रीप्रति मौन एमालेको दाबी “सुशासन आधारभूत मान्यता”

काठमाडौं : सरकारमा रहेका पार्टीका एकपछि अर्को मन्त्री घुस काण्डमा जोडिएको एमालेले केन्द्रीय कमिटीको बैठकबाट भ्रष्टाचार र अनियमितताप्रति निशर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठाको आधारभूत मान्यता रहँदै आएको दाबी गरेको छ।

एमालेबाट सामान्य प्रशासनमन्त्री बनेका राजकुमार गुप्ता पोखराको १ सय ३५ रोपनी व्यक्तिको जग्गामा चलखेल गर्न ७८ लाख घुस लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा छन्।

अर्को भूमि सुधारमन्त्री बलराम अधिकारी सोही प्रकरणमा ३२ लाख घुस लिएको विवादमा परेका छन्। तर पार्टी उनीबारे अनुसन्धान गर्ने सम्बन्धमा मौन छ।

तर बुधवार बैठकले गरेको सात बुँदे निर्णयको बुँदा नम्बर २ मा भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहँदै आएको दाबी गरेको छ।

“सार्वजनिक पदमा रहेका नेता, कार्यकर्ता विरुद्ध गम्भीर कानुनी या नैतिक प्रश्न उठेपछि त्यसको छानबिनका लागि मार्ग प्रशस्त गर्ने र छानबिन नसकुन्जेल जिम्मेवारीबाट बाहिर रहने परम्परा बसाल्ने पार्टी एमाले नै हो भन्ने कुरा विगतमा हामीले पुष्टि गरिसकेका छौँ,” पार्टी महासचिव शङ्कर पोखरेलले निर्णय सार्वजनिक गर्दै दाबी गरे “भोलिका दिनमा पनि हामी यसै अनुरूप अगाडि बढ्ने सङ्कल्प यो बैठक पुनः दोहोर्याउन चाहन्छ।”

उनले पार्टीले स्थापना गरेको मानकलाई बेवास्ता गर्दै अपुष्ट र नियोजित ढङ्गले गरिने भ्रम प्रचारको पार्टी दृढ प्रतिवाद गर्ने बताए।

बैठकले एमाले र नेपाली काँग्रेसबीच सम्पन्न ७ बुँदे सहमतिको आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले अस्थिरताका यावत् प्रयासलाई चिर्दै बलियो राजनीतिक स्थायित्वको आधार तयार गरेको दाबी गरेको छ।

राजावादीहरूद्वारा गरिएको प्रतिक्रान्तिको दुष्प्रयासलाई विफल तुल्याइएको र महत्त्वपूर्ण नीतिगत सुधारसहित अर्थतन्त्रलाई लयमा फर्काइएको निर्णयमा उल्लेख छ।

निजी क्षेत्रमा भरोसा जगाउने र बाह्य लगानी अभिवृद्धि गर्ने काम गरिएको छ। अवरुद्ध विकास निर्माणका कामहरूले गति लिएको बैठकले दाबी गरेको छ।

यसैगरि प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा उच्च प्राथमिकताका साथ सुरु गरिएको दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन निष्कर्षमा पुगेको र दैलेखमा नेपालको ५० वर्षसम्मको आवश्यकता पूर्ति गर्न सक्ने मिथेन ग्यास भण्डार रहेको तथ्य सार्वजनिक हुनु निकै उत्साहपूर्ण विषय रहेको उल्लेख गरेको छ।

सरकारले बाह्य सम्बन्धमा थप अनुकूलता सिर्जना गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रको उपस्थिति, एजेन्डा  र भूमिकालाई प्रभावकारी बनाउँदै लगेको, सहकारी क्षेत्रका बेथितिहरूलाई सम्बोधन गर्दै बचतकर्ताहरूको बचत फिर्ता गराउने र अनियमिततामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने काम अगाडि बढेको उल्लेख छ।

केन्द्रीय कमिटीको नवौँ बैठक वर्तमान सत्ता सहकार्यलाई अझ सुदृढ गर्दै सात बुँदे सहमति कार्यान्वयनमा दृढता दोहोर्याएको र सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन आह्वान गरेको छ।

मनसुनको मध्यअवस्थामा आइपुग्दा पनि मधेस प्रदेश लगायत कतिपय भूभागमा पर्याप्त वर्षा नभएर सुख्खा बढ्दै गएको, धान रोपाइँ गम्भीर रूपले प्रभावित भएको र पिउने पानीको समेत हाहाकार पर्दै गएको अवस्थाप्रति एमाले गहिरो चिन्ता व्यक्त गरेको छ।

सुख्खाग्रस्त क्षेत्रमा किसानहरूलाई आवश्यकता अनुसार वैकल्पिक बाली लगाउन आवश्यक प्राविधिक सहायता र राहत उपलब्ध गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ।

“जलवायु अनुकूलका कार्यक्रमहरूको विस्तार र चुरेको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेसको दीर्घकालीन समस्या समाधान गर्न माग गर्दछ” बैठकले गरेको निर्णयमा उल्लेख छ।

किसानहरूले धान खेतीमा आवश्यक पर्ने रासायनिक मल पर्याप्त मात्रामा पाउन नसकेको गुनासो सुनिएको र सरकारले चैते धान खेती वृद्धि गर्न प्रोत्साहन गरे अनुरूप गत: वर्ष धेरै किसानहरूले चैते धान लगाए पनि त्यसको बजार प्रबन्ध हुन नसकेको बैठकले निष्कर्ष निकालेको छ।

दूध उत्पादक किसानहरूलाई दुग्ध विकास संस्थान र निजी डेरीहरूले भुक्तान गर्नुपर्ने ३ अर्बभन्दा बढी बक्यौता अझै बाँकी रहेको र यसले किसानहरूलाई निकै मर्कामा पुर्याएको यथार्थ सार्वजनिक भएको उल्लेख छ।

बैठकले किसानहरूले भोग्नुपरेका यावत् समस्याहरूको तदारुकताकासाथ समाधान गर्न, नेपाली किसानहरूको जीवनस्तर माथि उठाउन र खाद्य सुरक्षा प्रत्याभूत गर्न आह्वान गरेको छ।

साउन ७, २०८२ बुधबार १६:२४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।