सुस्त उचालियो सेयर बजार, कारोबार रकम १९ अर्ब बढी

काठमाडौं : मंगलबार उच्च अंक बढेर बन्द भएको नेप्से बुधवार सामान्य अंक बढेर बजार बन्द भयो। बुधवार नेप्से परिसूचक ५.१७ अंक बढेर २९७८.८८ विन्दुमा पुग्यो। फ्लोट इण्डेक्स ०.०६ अंक बढेको छ भने सेन्सेटिभ इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंक घट्यो।
१३ उपसमूहमध्ये बुधवार ७ उपसमूहको परिसूचक बढ्यो भने ६ उपसमूहको परिसूचक घट्यो। वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२३ प्रतिशत बढ्यो। अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्यो। कारोबारमा आएको होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत घट्यो।
नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने घटेको छ। मंगलबार २० अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको थियो। बुधवार ३ सय १९ स्टकको १ लाख ७० हजार ३१८ पटकको कारोबारमा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको ४ करोड ४८ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बुधवारको बजारमा ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ट्रेड टावरको शेयरमूल्य ५३ रुपैयाँ ५० पैसा बढेर ५८९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भयो। सान्भि इनर्जीको शेयरमूल्य ४७ रुपैयाँ ७० पैसा बढेर ५२५ रुपैयाँ ४० पैसामा कारोबार भयो।
ग्रिन भेन्चर्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढ्यो। भूगोल इनर्जी डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ५.३२ प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा बुधवार हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसको ७८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। शिवम सिमेन्टको ७५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो। नेपाल इन्फ्रास्ट्रक्चर बैंक र बुटवल पावरको कारोबार रकम ६२ करोड नाघ्यो।
साउन ७, २०८२ बुधबार १५:५७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।