प्रधानमन्त्री ओलीले संसदमा मन्त्री बलराममाथि छानबिन नहुने संकेत गर्दै भने “कसैले बोल्दैमा कारबाही हुन्न”

काठमाडौं : एकपछि अर्को मन्त्रीहरू घुस प्रकरणमा मुछिइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले केही बोलेको आधारमा कसैमाथि कारबाही नहुने बताएका छन्।
हालै पोखराको लिची बगैँचाको एक सय ३५ रोपनी व्यक्तिको जग्गामा रहेको विवाद मिलाउने भन्दै सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि सुधार मन्त्री बलराम अधिकारी जोडिएका थिए। गुप्ताले राजीनामा दिए भने अधिकारी अझैँ पनि पदमै बहाल छन्।
यो प्रकरणमा गुप्ताको संवाद नै सार्वजनिक भएको थियो भने अधिकारीले सचिव र छोरा मार्फत ३२ लाख रुपैयाँ लिएको अडियो सार्वजनिक भएको थियो।
बुधवार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रणबारे सोधिएको प्रश्नमा उनले गम्भीर आशङ्का हुने खालका वा गम्भीर प्रश्न उठेका खण्डमा असहिष्णुताको नीति लिनै पर्ने भन्दै भने ‘अब हल्ला केही चल्यो, अब कसैले केही बोल्यो वा कसैले केही छपायो वा फेसबुकमा केही लेख्यो भने कारबाही हुन्न।’
उनले तथ्यको आधारमा यदि कहीँ पनि बेथिति देखिन नहुने र सुशासनको एक आधारमा भ्रष्टाचारको नियन्त्रण र जनतामा सही समयमा सेवा दिनेमा सरकारको गम्भीरतापूर्वक ध्यान गएको उनले दाबी गरे।
जवाफ दिने क्रममा उनले भ्रष्टाचार नियन्त्रणमा आफू दृढ रहेको र कहिँकतै अनुचित विचलन देखिएमा कानुन अनुसार कारबाही हुने दाबी समेत गरे।
उनले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै प्रधानमन्त्रीमाथि लाञ्छना लगाउने फेसनै बनेको र अनावश्यक लाञ्छना लगाउने गरेको भन्दै त्यसमा आपत्ति जनाएका थिए।
साउन ७, २०८२ बुधबार १५:४७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।