‘टेरामक्स प्रकरणमा मुछिएर निलम्बनमा परेका पूर्वमन्त्री बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि हुनु संसद्को अपमान हो’

‘टेरामक्स प्रकरणमा मुछिएर निलम्बनमा परेका पूर्वमन्त्री बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि हुनु संसद्को अपमान हो’

काठमाडौं : माओवादी केन्द्रका सांसद माधव सापकोटाले कानुनीरूपमा मुछिएका र निलम्बनमा परेकाहरूलाई सरकारी कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित गराइनु संसदको अपमान भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सापकोटाले यस प्रकारको कार्यले संसदको मात्र अवमूल्यन नभएर बरु शासन प्रणाली, नैतिकता र जनविश्वासमाथि समेत ठुलो चोट पुगेको टिप्पणी गरे।

उनले केही दिनअघि सिन्धुपाल्चोकमा आयोजना गरिएको सरकारी कार्यक्रममा टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेतलाई प्रमुख अतिथिको रूपमा बोलाइएको प्रसंग उल्लेख गर्दै आपत्ति जनाएका हुन।

उनले भने, ‘यही संसदले सार्वजनिक पदको मर्यादा तय गरेको हो। तर त्यसको उल्लङ्घन गर्दै कानुनी रूपमा मुद्धा लागेका र निलम्बित व्यक्तिलाई सरकारी मञ्चमा प्रमुख अतिथि बनाइनु निन्दनीय मात्र होइन, संसदको समेत अवमूल्यन हो।’ 

सापकोटाले गृहमन्त्रालयसँग यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न माग गरे। साथै, हालै सार्वजनिक भएको घुस प्रकरणसम्बन्धी अडियोबारे समेत उनले संसदमा अझैसम्म सुनुवाइ नभएकोप्रति दुःख व्यक्त गरे।

साउन ७, २०८२ बुधबार १४:५७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।