कांग्रेस र एमालेले देश सिध्याउने टेन्डर पारेको जस्तो गरिरहेका छन् : अध्यक्ष राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र एमालेबीच कसरी छिटो पैसा कमाउने भन्ने कुरामा मन्त्रीहरू प्रतिस्पर्धामा लागेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश ‘टेण्डर प्रणाली’ मा चलेको जस्तो देखिन थालेको भन्दै, भ्रष्टाचारको मूल जरो राजनीतिक नेतृत्वमै रहेको स्पष्ट पारे। उनले भने, ‘कर्मचारीलाई मात्र कारबाही गरेर भ्रष्टाचार रोकिँदैन, जबसम्म राजनीति र राजनीतिक नेताहरूमाथि छानबिन हुँदैन।’
लिङदेनले पछिल्लो समय विवादमा आएका मन्त्रीहरूको पनि छानबिन हुनुपर्ने बताए। ‘भ्रष्टाचार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था छैन, बरु कहाँ छैन भनेर हेर्नुपर्छ,’ उनले भने, ‘भ्रष्टाचारको जरो र छाता नै राजनीति हो। जबसम्म राजनीतिक क्षेत्र कारबाहीको दायरामा आउँदैन, तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न सकिँदैन।’
उनले दुई ठूला दलका नेताहरूले वैकल्पिक राजनीतिक शक्तिहरूको आवाज सुन्न नचाहेको आरोप पनि लगाए। ‘हामीले दुई महिनादेखि भिजिट भिसा प्रकरणबारे छानबिनको माग गरिरहेका छौँ। तर सरकारले सुनुवाइ नगरेपछि हामी बैठक बहिष्कार गर्न बाध्य भएका छौँ,’ उनले भने।
उनको भनाइ थियो, ‘कांग्रेस र एमाले मिलेर देश सिध्याउने टेण्डर लिएको जस्तो गरिरहेका छन्। अहिलेको सरकारमा कुन मन्त्रीले छिटो पैसा कमाउने भन्ने प्रतिस्पर्धा चलेको छ। भिजिट भिसा प्रकरण, कमिसनका खेल सबै सार्वजनिक भइसकेका छन्। अब उच्चस्तरीय छानबिन समिति बनाउनु जरुरी छ।’
लिङदेनले सरकार आफ्ना मागप्रति संवेदनशील नभएसम्म संसद्मा विरोध जारी रहने चेतावनी पनि दिए।
साउन ७, २०८२ बुधबार १४:४८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।