हरेक दिन बाहिरिइरहेका भ्रष्टाचारका समाचारमा सरकार मौन बसेकोमा रास्वपा सांसद कंसाकारको आपत्ति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले आजसम्म पनि भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने कुनै ठोस पहल नभएको भन्दै आपत्ति जनाएकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले टेलिभिजनको श्रृंखलाजस्तो हरेक दिन भ्रष्टाचारका नाङ्गा समाचार आइरहेको भन्दै यस्तो गम्भीर अवस्थामा समेत सरकारले हटाउने भ्रष्टाचारको आरोप लागेका प्रति कुनै ठोस कदम चाल्न नसकेको बताइन्।
उनले रास्वपाको माग यथावत रहेको र आन्दोलन जारी नै रहेको पनि स्पष्ट पारिन्। उनले भनिन्, ‘टिभीको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारका नाङ्गा समाचार आइरहेका छन्। ७८ लाखको काण्ड सेलायो, ३२ लाख वाला मन्त्री अझै यतै छन्। छानबिन र कारबाही हुनुपर्छ कि पर्दैन? भ्रष्टाचार, राजनीतिक संरचना र प्रशासनको मिलेमतोमा वर्षौंदेखि निर्वाध रूपमा चलिरहेको मानव तस्कर र भ्रष्टाचारको यो डर लाग्दो जालोलाई हटाउने आँट नदेखिएको मात्र होइन, ठोस पहल नै नगरिएकोमा हाम्रो विरोध र आपत्ति छ। हाम्रो माग यथावत छ, आन्दोलन जारी छ।’
त्यस्तै, उनले मधेसमा पानीको अभावका कारण रोपाइँ हुन नसकेको र पिउने पानीका लागि मानिसहरू घर छोड्न बाध्य भएको विषयमा पनि प्रतिनिधि सभाको ध्यानाकर्षण गराएकी छन्।
‘मधेसमा आज कँलहरू सुकेका छन्, रोपाइँ हुन सकेको छैन। पिउने पानीका लागि मानिसहरू घर छोड्न बाध्य छन्। तर मन्त्रीहरू विदेश भ्रमणमै व्यस्त छन्। बारा, पर्सा, महोत्तरी पुग्नुपर्ने हतारो सरकारलाई छैन। संसदमा हामी ४८ दिनदेखि उभिएका छौँ। भिजिट भिसाको नाममा भइरहेको संगठित मानव तस्करबारे सरकारलाई खबरदार गरिरहेका छौँ। तस्करको सेटिङ् अझै नभत्किएको तथ्य आजकै राष्ट्रिय दैनिकहरूमा छापिएको छ। भ्रष्ट र तस्करहरूको सरकारसँग हामी डराएका छैनौँ,’ उनले भनिन्।
साउन ७, २०८२ बुधबार १४:३५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।