स्वास्थ्य क्षेत्रमा विचौलिया हावी भएको माओवादी उपमहासचिव पुनको दाबी

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी भएको बताएका छन्।
स्वास्थ्य क्षेत्रमा संविधानको व्यवस्था अनुसार राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै पुनले आफूहरूले सरकारमा रहँदा र सरकार बाहिर रहँदा पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको दाबी गरे।
उनले संविधान प्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए। पार्टी निकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा नेता पुनले स्वास्थ्य क्षेत्रलाई सरकारले कम्तिमा आधारभूत दायित्वलाई जिम्मेवारीपूर्वक लिनुपर्ने उल्लेख गरे।
उनले उद्योगी व्यवसायीलाई सामाजिक उत्तरदायित्व पूरा गर्न समेत आग्रह गरे। महासङ्घका अध्यक्ष खेम भण्डारीले संगठन स्थापनाको अवसरमा साताव्यापी रुपमा विविध कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए।
भण्डारीका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेश र जिल्ला स्तरमा पनि संगठन स्थापना दिवसका अवसरमा रक्तदान, वृक्षारोपण तथा विद्यालयहरूमा शैक्षिक सामग्री वितरणको कामहरू भएको जानकारी दिए।
साउन ७, २०८२ बुधबार १४:२२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।