‘उज्यालो र सुरक्षित बुटवल’ का नाममा चोकचोकमा ठड्याइएका ‘हाईमास्ट लाइट’ खरिदमा बुटवल उपमहानगरको बदमासी

बुटवल : ‘उज्यालो र सुरक्षित बुटवल’ बनाउने भन्दै बुटवलका चोकचोकमा जडान गरिएका ‘हाईमास्ट लाइट’मा बदमासी भएको खुलेको छ। बुटवल उपमहानगरपालिकाले ‘हाईमास्ट लाइट’ खरिद तथा जडानको काम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४ विपरीत सोझै खरिद गरेर गरेको पाइएको हो।
ऐनअनुसार मालसामान वा निर्माण कार्य खरिद गर्नुअघि सम्बन्धित स्पेसिफिकेसन, योजना, नक्सा, डिजाइनलगायत विवरणहरू स्वीकृत गराउनु पर्ने कानुनी व्यवस्था हुँदाहुँदै उपमहानगरपालिकाले यस्ता विवरण स्वीकृत नगरी सोझै खरिद प्रक्रिया अघि बढाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
महालेखाका अनुसार उपमहानगरपालिकाले १२ दशमलव ५ मिटर अग्ला पोल र २०० वाट क्षमताका बत्ती सोझै जडान गरेको छ। क्रिष अटो इलेक्ट्रिकबाट ९ लाख ७९ हजार ३३७ रुपैयाँमा पोल र बत्ती खरिद गरिएको थियो भने पाठक इन्जिनियरिङ एन्ड सप्लायर्समार्फत सिभिल कार्य गर्दा ९ लाख ८१ हजार ८७ रुपैयाँ खर्च भएको देखिएको छ।
महालेखाले बोलपत्रमार्फत सामान खरिद भए तापनि प्रारम्भिक स्पेसिफिकेसन, योजना, नक्सा र डिजाइन स्वीकृत नगरेकाले सोझै ‘हाईमास्ट लाइट’ सम्बन्धी कार्य भएको र त्यसले लागत बढाएको उल्लेख गरेको छ। साथै निर्माण तथा खरिद गरिएका सामग्रीको गुणस्तर परीक्षण गरी प्रतिवेदन तयार गरिएको छैन।
उपमहानगरपालिकाले लाइट जडान गर्दा दर विश्लेषणसहित प्राविधिक पुष्टि नगरेको भन्दै महालेखाले प्रश्न उठाएको छ। प्रारम्भमा उपमहानगरपालिकाले शहरी क्षेत्र तथा मुख्य सडकहरूमा लाइट जडान गर्न २ करोड ३१ लाख ३६ हजार २३४ रुपैयाँ लागत अनुमान स्वीकृत गरेको थियो। बोलपत्रपछि नेपाल पावर सोलुसनको १ करोड ८१ लाख ७२ हजार रुपैयाँमा ठेक्का स्वीकृत गरिएको थियो।
तर पछि उपमहानगरपालिकाले लागत अनुमान संशोधन गर्दै २ करोड ६५ लाख ३२ हजार बनाएको र अन्तिममा २ करोड ७ लाख ९३ हजार रुपैयाँमा खरिद सम्झौता गरिएको थियो।
संशोधित बजेटअनुसार २०० वाटको सट्टा ४०० वाटको लाइट जडान गरिने भनिए पनि महालेखाले त्यसको प्राविधिक पुष्टि नभएको उल्लेख गरेको छ।
२०० वाटका १५२ वटा लाइटमध्ये ८० घटाएर ७२ कायम गरिएको र ४०० वाटका लाइट ८० वटा नयाँ आइटम थप गरी भेरिएसन गरिएको पाइए पनि दर विश्लेषण र प्राविधिक पुष्टि विना नै लागत संशोधन गरिएको महालेखाले उल्लेख गरेको छ।
उपमहानगरपालिकाले २०० वाटका लाइटलाई प्रति लाइट २५ हजार र ४०० वाटका लाइटलाई प्रति लाइट ५५ हजार रुपैयाँका दरले ४४ लाख रुपैयाँको नयाँ आइटम दर निर्धारण गरेको थियो।
प्रत्येक पोलमा नगरप्रमुख पाण्डेको नामको ताम्रापत्र
‘उज्यालो बुटवल’ अभियान अन्तर्गत बुटवलका विभिन्न चोकहरूमा अहिले ‘हाईमास्ट लाइट’ जडान कार्य चलिरहेको छ।
बुटवलको योगिकुटी, कालिकाचोक, होराइजन चोक, तीनकुने, मिलनचोक, अस्पताललाइन, देविनगर, बसपार्क लगायतका स्थानमा लाइट जडान सम्पन्न भइसकेको छ। शिवालय चोक, इँटाभट्टी लगायतका स्थानमा लाइट जडानको काम भइरहेको छ।
सुरक्षित र उज्यालो बुटवल बनाउने अभियान अनुसार लाइट जडान गरिए पनि लाइट जडानमा महालेखा देखि स्थानीय जनताले प्रश्न उठाइरहेका छन्। चोकचोकमा आवश्यकता नहुँदा-नहुँदै पनि लाइट जडान भएका छन्। त्यत्ति मात्र होइन, चोकचोकमा जडान गरिएका प्रत्येक पोलमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको नाम लेखेर अनौठो प्रचार गरिएको छ।
पहिलो चरणका ‘हाईमास्ट लाइट’ जडानको उद्घाटन ०८१ साउन १५ गते नगरप्रमुख पाण्डेयले गरेका थिए। अहिले जडान भई सञ्चालनमा आएका प्रत्येक पोलमा उनै नगरप्रमुख पाण्डेको करकमलबाट उद्घाटन गरिएको भन्दै ताम्रापत्र राखिएको छ।
पहिलो चरणमा बुटवलका २३ वटा विभिन्न चोक तथा चौराहामा १० मिटर, १२ दशमलव ५ मिटर र १६ मिटर अग्ला लाइट जडान गरिएको छ।
बुटवल उपमहानगरपालिकाको ३० लाख र संघीय सरकारबाट प्राप्त समपूरक अनुदानबाट ३ करोड ५१ लाख गरी कुल ३ करोड ८१ लाख रुपैयाँको लागतमा २६ वटा ‘हाईमास्ट लाइट’ जडान गरिएको हो।
दोस्रो चरणको काम ०८१ माघ २३ गते ट्राफिक चोकबाट सुरु गरिएको थियो। दोस्रो चरणमा योगिकुटी चोकदेखि चौराहा सम्म ४ वटा लाइट जडान हुँदैछ। त्यस्तै मिलनचोक १, पश्चिमाञ्चल फाइनान्स अघि १, अस्पताल अघि १, दुर्गा मन्दिर अघि १, ट्राफिक चोक १, सब्जीमण्डी अघि १, नबिल बैंक अघि १, बुटवल क्याम्पस अघि १, मैनाबगर १ वटा जडान हुँदैछ।
तल्लो सिद्धबाबा १, वीपी चोक १, मोतीपुर १, मुख्य बजार क्षेत्र कालिकापथ मन्दिर अघि १, इँटाभट्टी १, शिवालय मन्दिर अघि १, अमरपथ १, ट्राफिक चोक १, राममन्दिर चोक १, नविल बैंक अघि १, नलकुप अघि १ गरी २६ स्थानमा लाइट जडान भइरहेको बताइएको छ। यीमध्ये केही बल्न थालिसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन्।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुद्र जिसीले अत्यन्तै साँघुरो ठाउँमा पनि लाइट जडान गरिएको र त्यो व्यवहारिक नभएको बताए।
‘उज्यालोले दुर्घटना नहोला भनेर लाइट जडान गरिए पनि साँघुरो बाटोमा लाइट जडान गरिएको छ। घुम्ती समेत नकट्ने स्थानमा लाइट जडान हुँदा त्यसले झन् दुर्घटना निम्त्याएको छ,’ उनले भने।
अनावश्यक लाइट जडानले मासिँदै छ, चराचुरुङ्गीको बासस्थान
बुटवलको ६ लेन सडकमा अहिले पनि लाइटहरू छन्। ती बल्छन् पनि। तर बुटवल उपमहानगरपालिकाले ६ लेन सडकमा लामबद्ध राखिएका सडक बत्तीकै बीचमा पनि हाईमास्ट लाइट जडान गरिरहेको छ, जुन आवश्यक देखिंदैन।
‘सुरक्षित र उज्यालो बुटवल’ नाम दिएर धमाधम लाइट जडान गरिए पनि रातलाई अँध्यारो नै हुन नदिने बुटवल उपमहानगरपालिकाले जडान गरेका लाइटले चराचुरुङ्गी र साना परजीवीहरूको बासस्थान उठ्दै जाने चिन्ता बढाएको छ।
चराविद् कृष्ण भुसालले मानव निर्मित रातको उज्यालोले चराहरूको जीवनचक्रमा परिवर्तन हुने बताएका छन्।
‘हामीले त्यति ख्याल गर्दैनौँ। राति धेरैजसो चराहरू बसाइ सर्छन्। त्यस्ता चराहरूलाई रातको उज्यालोले गन्तव्यमा जान कठिनाइ हुन्छ,’ उनले भने।
उज्यालो प्रकाशले राति आराम गर्ने चराहरू सुत्न पाउँदैनन्। उज्यालो भएकै कारण बास बसेका चराहरूमा पनि आक्रमणमा पर्ने डर उत्तिकै हुन्छ। त्यति मात्र होइन, उनीहरूको प्रजननमा पनि उज्यालो प्रकाशले असर गर्ने उनले बताए।
बढी उज्यालो हुँदा सिकारी जीवहरूले चरालाई देख्ने र आक्रमण गर्ने भएकाले अनावश्यक प्रकाश प्रदूषण नगर्न चराविद् भुसालको सुझाव छ।
साउन ७, २०८२ बुधबार १४:०८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।