रुस-युक्रेन तेस्रो चरणको वार्ता टर्कीमा हुने संकेत

रुस-युक्रेन तेस्रो चरणको वार्ता टर्कीमा हुने संकेत

काठमाडौं : सात हप्ताभन्दा बढीको अन्तरालपछि रुस र युक्रेनका अधिकारीहरू फेरि एकपटक वार्ताको टेबुलमा बस्न लागेका छन्। दुवै देशका प्रतिनिधिमण्डलहरू बुधबार टर्कीको इस्तानबुलमा भेट हुने अपेक्षा गरिएको छ।

यो भेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि सम्भव भएको हो, जसमा उनले रुसलाई शान्ति सम्झौताका लागि ५० दिनको समय दिएका थिए। उनले वार्ता नगरे कडा प्रतिबन्ध लाग्ने चेतावनी दिएका थिए।

तर वार्ताबाट तत्कालै चमत्कारी प्रगति हुने आशा भने कम छ। यसअघि मे १६ र जुन २ मा भएको दोस्रो चरणको वार्तामा दुबै पक्षले कैदी आदानप्रदानमा सहमति जनाए पनि दीर्घकालीन राजनीतिक समाधानमा ठोस प्रगति हुन सकेको थिएन।

यसपटक युक्रेनका तर्फबाट पूर्वरक्षामन्त्री एवं वर्तमान राष्ट्रिय सुरक्षा परिषद् सचिव रुस्तम उमरोभ वार्ता टोलीको नेतृत्व गर्दै छन् भने रुसले राजनीतिक वैज्ञानिक भ्लादिमिर मेडिन्स्कीलाई पठाएको छ। अघिल्ला चरणको वार्ता पनि मेडिन्स्कीले नै नेतृत्व गरेका थिए, तर युक्रेनले उनलाई ‘कठपुतली’ नेता भन्दै गम्भीर वार्ताकारको रूपमा अस्वीकार गरेको छ।

युद्ध अन्त्य गर्न दुवै पक्षको अडान अझै फरक छ। रुसले २०२२ को सेप्टेम्बरमा कब्जा गरेको चार युक्रेनी क्षेत्रबाट युक्रेनले हात झिक्नुपर्ने माग गरिरहेको छ, जसलाई किएभले अस्वीकार गर्दै ती क्षेत्रका विषयमा युद्धविराम नभएसम्म कुनै वार्ता नहुने बताएको छ। युक्रेनले २०१४ मा मस्कोले कब्जा गरेको क्रिमियालाई पनि कहिल्यै स्वीकार नगर्ने बताउँदै आएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बैठकको सम्भावनाबारे आशा व्यक्त गरेका छन्। तर क्रेमलिनले त्यसअघि ‘धेरै काम’ गर्न बाँकी रहेको बताउँदै पुटिन-जेलेन्स्की वार्तामा हतार नगर्न संकेत दिएको छ।

युद्धको पछिल्लो अवस्थाबारे कुरा गर्दा रुसले हालै युक्रेनी सहरहरूमा बमबारी तीव्र पारेको छ भने मोर्चाका केही क्षेत्रमा नियन्त्रण लिएको दाबी गरेको छ। यस्तो परिस्थितिमा वार्ता हुने भए पनि तत्कालै युद्धविराम हुने सम्भावनामा गहिरो आशंका छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि दुवै पक्षलाई वार्ताको ढोका नथुन्न आग्रह गरिसकेका छन्। वार्ता हुन्छ वा हुन्न भन्ने पुष्टि क्रेमलिनले नगरे पनि यो पहलले पुनः संवादको ढोका खोल्ने संकेत दिएको छ।

साउन ७, २०८२ बुधबार १२:३९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।