सत्ताको मोहले गठबन्धन गरियो, अबदेखि सिद्धान्तसँग सम्झौता हुनुहुँदैन : महामन्त्री थापा

चितवन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन नगर्नु पर्ने विषय पार्टीको महासमितिबाट नै पारित भइसकेको बताएका छन्।
चितवनमा आज नेपाली कांग्रेसले ४३ औँ बीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘बीपी विचार र पार्टीमा रूपान्तरणको अभियान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सत्ता र सत्ताको लोभले बनेको गठबन्धन अब तोड्नुपर्ने धारणा राखे।
‘गठबन्धन नगरे सरकारमा पुगिन्न कि भन्ने डर, अरू मिलेर सरकारमा गइदेला भन्ने आशंका र सत्ताको मोहले गठबन्धन भयो। अब यसबाट बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘पार्टी बलियो बनाउन गठबन्धनको राजनीति त्याग्नुपर्छ। सिद्धान्तसँग सम्झौता नगरौं, तत्काल लाभ नभए पनि पार्टी बलियो बन्छ।’
महामन्त्री थापाले आगामी महाधिवेशनमा जुनसुकै नेताले नेतृत्व लिए पनि ‘रुख’ चिन्हबाहेक अरूमा भोट हाल्नुपर्ने अवस्था आउन नहुने बताए।
कार्यक्रममा कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य मीन विश्वकर्मा र मधु आचार्यले बीपीको मार्गदर्शनमा पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे।
साउन ७, २०८२ बुधबार १२:१९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।