बाढीले मितेरी पुल बगाएपछि चीनमै फसेका २०३ नेपालीलाई तातोपानी नाका हुँदै स्वदेश फर्काइँदै

बाढीले मितेरी पुल बगाएपछि चीनमै फसेका २०३ नेपालीलाई तातोपानी नाका हुँदै स्वदेश फर्काइँदै
Filephoto

काठमाडौं : चीनको केरुङमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकलाई आज तातोपानी नाका हुँदै स्वदेश फर्काइँदैछ।

असार २४ गते नेपाल-चीन सिमानाको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि ती नेपालीहरू चीनमै फसेका थिए। रसुवाबाट नेपाल फर्कन नसकेपछि उनीहरूलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै ल्याइँदैछ।

नेपालीको उद्धारका लागि प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलको आग्रह गरेका थिए। सांसद आचार्यले केरुङमा फसेकालाई शीघ्र फर्काउने, अस्थायी पुल निर्माण गर्ने, मितेरी पुल पुनर्निर्माण गर्ने र मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदान गर्नेसम्बन्धी विषयमा मन्त्री राणाको ध्यानाकर्षण गराएका थिए।

त्यसको फलस्वरूप चीनमा रहेका नेपालीलाई तातोपानी नाका हुँदै फर्काउने प्रक्रिया अगाडि बढाइएको हो। मितेरी पुल सञ्चालनमा नआएकाले तातोपानी नाका विकल्पस्वरूप प्रयोग गरिएको हो।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार फर्काइने नेपालीमध्ये सवारी चालक, बिरामी, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी जम्मा २०३ जना रहेका छन्। चीनतर्फ चीन सरकारले र नेपालतर्फ काठमाडौंसम्मको यातायातको व्यवस्था सरकारले मिलाएको उनले जानकारी दिए।

स्याफ्रुबेँसी-रसुवागढी सडक खण्ड खुले पनि पुल नबनेकाले रसुवा नाका प्रयोग गर्न नसकिएको र तातोपानीमार्फत उद्धार गरिएको हो।

साउन ७, २०८२ बुधबार ११:२४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।