होहल्ला र तीन नेताको विरोधकाबीच भण्डारी एमालेमा फर्कने बाटो बन्द, सदस्यता नवीकरण नहुने निर्णय

होहल्ला र तीन नेताको विरोधकाबीच भण्डारी एमालेमा फर्कने बाटो बन्द, सदस्यता नवीकरण नहुने निर्णय

काठमाडौं : होहल्ला र विरोधकाबीच एमाले केन्द्रीय कमिटीको बैठकले एमालेबाट सक्रिय राजनीतिमा आउने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रयासलाई रोकेको छ।

पूर्वराष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएकाले दलको कार्यकर्ता हुन नसक्ने भन्दै बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष निकाल्दै एमालेबाट पार्टी राजनीति गर्ने बाटो बन्द गरेको हो।
सचिवालय, पोलिटब्युरो हुँदै सो प्रस्ताव पार्टीको केन्द्रीय कमिटीको बैठकमा आएको थियो।

मंगलबार मध्यरात सम्पन्न बैठकमा कमिटीको निर्णय सुनाउनेक्रममा पार्टीका केही नेताले होहल्ला र विरोध गरे पनि अन्तमा बहुमतको आधारमा निर्णय बदलिएन।

भण्डारीबारे बैठकको निर्णयमा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले मात्र असहमति जनाए। थापाले यसबारे बोल्न खोज्दा बैठकमै बोली सकेको भन्दै समय पाएनन्।

बैठकको अन्त्यमा पार्टी अध्यक्ष केपी ओलीले निर्णय किन गरियो भन्नेबारे आफ्नो धारणा राख्दा भण्डारी पक्षका केहीले होहल्ला गरेका थिए।

बैठकमा ओलीले पार्टीको धारा ८ र ९ अनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न नसकिने निर्णय सुनाएका थिए।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति दलको कार्यकर्ता हुने कुरा स्थापित मान्यताको विपक्षमा हुने बैठकले निष्कर्ष निकालेको बताए।

केन्द्रीय कमिटी बैठकले सचिवालय र पोलिट्ब्युरोहुँदै आएको ७० वर्षीय उमेर हद र दुई कार्यकालको नेतृत्व हटाउने विधान संशोधन प्रस्तावसँगै पदाधिकारी १५ जनाको हुने लगायतका प्रस्ताव समेत विधान अधिवेशनमा लैजाने निर्णय गरेको छ।

उता भण्डारीले भने केन्द्रीय कमिटीको बैठक चलिरहेकै बेलामा आफूले सक्रिय राजनीतिमा आउने निर्णय गरिसकेकाले अब पछाडि नफर्कने चेतावनी दिएकी थिइन्। 

मदन भण्डारीको जन्मजयन्ती पारेर विद्याले सक्रिय राजनीतिमा फर्किएको र एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक गरेकी थिइन्। राष्ट्रपति भइसकेको व्यक्ति पार्टीगत राजनीतिमा फर्किन लागेको भन्दै उनको आलोचना भएको थियो।

साउन ७, २०८२ बुधबार ०१:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।