बेलायत भिजिट भिसा प्रकरणमा पत्रकार महासङ्घमा विवाद, युनियन पक्ष छानबिनको पक्षमा, चौतारी पक्ष प्रतिरक्षामा

बेलायत भिजिट भिसा प्रकरणमा पत्रकार महासङ्घमा विवाद, युनियन पक्ष छानबिनको पक्षमा, चौतारी पक्ष प्रतिरक्षामा

काठमाडौं : नेपाल पत्रकार महासङ्घ बेलायत शाखाको एक समूहले स्थापना दिवस पारेर गैर पत्रकारलाई बेलायत लैजान खोजेको विषयमा महासङ्घभित्र विवाद चर्किएको छ।

बेलायतको एक पक्षले घोषणा गरेको कार्यसमितिको वैधता विवादमै छ। सोही कार्यसमितिले शाखाको स्थापना दिवसको मौका पारेर महासङ्घ अध्यक्षसहित केही पदाधिकारीसँगै गैर पत्रकारलाई भिजिट भिसामा बेलायत ल्याउन लागेको भन्दै नेपाल प्रेस युनियनको बेलायत शाखाको अध्यक्ष विपिन निरौलाले महासङ्घ अध्यक्ष निर्मला शर्मालाई सम्बोधन गरेर पत्र पठाएका थिए।

सो पत्रको आधारमा उकेराले समाचार प्रकाशित गरेपछि महासङ्घमा सो प्रकरणबारे छानबिन गर्ने कि विज्ञप्तिमार्फत खण्डन गर्नेबारे महासङ्घ पदाधिकारी विभाजित भएका थिए।

महासङ्घमा युनियन र प्रेस चौतारी नेपालका पदाधिकारीबिच मत मिलेन। युनियन पक्ष बेलायत शाखाको विवाद समाधान गर्नुपर्ने र यसबारे छानबिन गर्नुपर्ने पक्षमा उभिए। चौतारी पक्ष दुवै विषयमा प्रवेश नगरी विज्ञप्ति निकालेर खण्डन गर्ने पक्षमा उभियो।

स्रोतका अनुसार अध्यक्ष शर्माले आइतबारै विज्ञप्ति निकाल्न महासचिव रामप्रसाद दाहाललाई आग्रह गरेकी थिइन्। तर दाहालले विवादित विषय सचिवालय बैठकबाट निर्णय गर्न उत्तम हुने भनेपछि सोमबार १० बजे बैठक राखियो।

बैठकमा अध्यक्ष शर्मासहित चौतारीका अधिकांश पदाधिकारी उपस्थित थिए। युनियनको तर्फबाट महासङ्घको नेतृत्व गरेका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको नेतृत्व पदाधिकारी उपस्थित थिए। तर महासचिव दाहाल थिएनन्।

यस अगाडि नै बेलायत शाखाको विमला सेने समूहले विज्ञप्ति निकालेर बेलायत शाखाको स्थापना दिवसमा कसैलाई निमन्त्रणा नगरेको दाबी गरेको थियो।

यता बैठकमा महासङ्घ बेलायत शाखाको विवादसँगै निरौलाको विज्ञप्तिबारे छलफल भयो। स्रोतका अनुसार चौतारीका पदाधिकारीले महासङ्घले पनि विज्ञप्ति निकाल्नु पर्ने मत राखे। तर वरिष्ठ उपाध्यक्ष आचार्यले विज्ञप्ति निकाल्ने महासचिव बैठकमा अनुपस्थित भएकाले पछि छलफल गर्ने मत राखेका थिए।

मङ्गलवार दाहाल कार्यालयमै थिए। चौतारी समूहबाट उपाध्यक्षमा नितु पण्डित छिन्। महासङ्घको पदाधिकारीको क्रमसङ्ख्यामा महासचिव अनुपस्थित भए खुल्ला सचिवले काम गर्छन्। खुल्ला सचिव रमेश खतिवडा युनियनबाट निर्वाचित हुन्।

मङ्गलवार बेलायत भिजिट भिसाबारे विज्ञप्ति आयो तर सचिवमध्येका कनिष्ठ सविन प्रियासनको नाममा। उनी चौतारीबाट आदिवासी जनजाति कोटाबाट निर्वाचित भएका हुन्।

विज्ञप्तिमा 'भिजिट भिसाका विषयमा एकपछि अर्को विवाद सिर्जना भइरहेका बेला नेपाल पत्रकार महासङ्घको नामसमेत जोडेर गलत र आधारहीन इमेल आएको भरमा भइरहेको प्रचारप्रति महासङ्घ खेद व्यक्त गर्दछ' लेखिएको छ।

महासङ्घ बेलायत शाखाको स्थापना दिवसको अवसरमा भिजिट भिसामा दर्जनभन्दा बढी पत्रकार जान लागेको गलत अर्थ लाग्ने गरी प्रकाशित सामग्री पूर्णत झुट र आधारहीन रहेको विज्ञप्तीमा दाबी छ ।

'यसबारे महासङ्घ बेलायत शाखाले पनि यस्तो भ्रम फैलाउनेप्रति सचेत हुन र यस्ता गलत सूचना दिनुअघि तथ्य बुझ्नु अपरिहार्य छ भन्दै आपत्ति प्रकट गरेको विज्ञप्ति आइसकेको जानकारी गराउँछौँ । यस्तो केन्द्र र युके शाखाबाट पनि नभएको जानकारी गराइन्छ' विज्ञप्तिमा भनिएको छ।

यस्तो गम्भीर विषयमा महासङ्घलाई समेत मुछेर विवादास्पद देखाउन खोज्नुमा बदनियत लुकेको स्पष्ट रहेको दाबी सहित विज्ञप्तिमा अगुवा नागरिक संस्थालाई विवादमा तानेर मुलुकमा विचार र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन कमजोर बनाउने योजनाबद्ध उद्देश्यले यो काम भएको दाबी गरिएको छ।

साउन ६, २०८२ मंगलबार २२:११:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।