रास्वपा र राप्रपालाई मनाउने सभामुखको प्रयास असफल, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा दुवै दल अडिग

रास्वपा र राप्रपालाई मनाउने सभामुखको प्रयास असफल, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा दुवै दल अडिग

काठमाडौँ : संसद्को गतिविधिमा सहभागी हुन सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग छलफल गरे। तर सहमति भने हुन सकेन।

भिजिट भिसा प्रकरणको मुद्दामा निरन्तर संसदीय गतिविधि बहिष्कार गर्दै आएका रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग मंगलबार घिमिरेले सहमतिका लागि छलफल गरेका हुन्।

सभामुख घिमिरेले भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी नभएकाले सरकार र दुवै दलबीच संवाद हुन नसकेको भन्दै यसबाट आफूले अप्ठ्यारो महसुस गरिरहेको बताएका थिए।

उनले सरकारले आगामी आर्थिक वर्षमा १ सय २१ वटा विधेयक दिने भनेको र हाउस निरन्तर अवरोध हुँदा ती विधेयकलाई अगाडि बढाउन समस्या हुने बताएका थिए। उनले संसद् चलाउने वातावरण बनाउन सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दै सैद्धान्तिक, राजनीतिक र मुद्दाहरूप्रति कुनै प्रतिक्रिया नभए पनि संसदीय गतिविधि प्रभावित नगर्न आग्रह गरेका थिए।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरु गरेको बताउँदै सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा नभएको र रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिरहेको दाबी गरेका थिए।

‘एउटा सहमतिको विन्दुमा पुग्न तपाईँहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ”, उनले भने।

रास्वपा कार्यवाहक सभापति अर्यालले सभामुखले सहमतिका लागि निरन्तर पहल गरेको तर आफूहरूले उठाएका मुद्दा धेरै गम्भीर रहेको बताएका थिए।

राप्रपा उपाध्यक्ष तामाङ–भिजिट भिसा प्रकरणमा पार्टीले मुद्दा उठान गरिसकेको र सहमति नगरी फर्कन सक्ने अवस्था नरहेको जवाफ दिएका थिए। उनले यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिन जरुरी रहेको र वैरागी छानबिन समितिले के काम गरेको छ भनेर संसद्लाई जानकारी समेत नदिएको बताएका थिए।

साउन ६, २०८२ मंगलबार २०:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।