बदनाम र काम गर्न अक्षम मन्त्रीहरू फिर्ता गर्न ६ भाइ कांग्रेस नेताको दबाब

काठमाडौँ : एमाले नेतृत्वको गठबन्धन सरकारमा रहेर बदनाम र काम गर्न नसकेका मन्त्रीहरूलाई फिर्ता बोलाउन नेपाली कांग्रेसका नेताहरूले पार्टी सभापतिलाई सुझाव दिएका छन्। सोमबार चाक्सीवारिमा भेट भएका सात कांग्रेस नेतामध्ये ६ जनाले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सरकारमा पार्टीका तर्फबाट सहभागी भएर बदनाम भएका र काम गर्न नसकेकाहरूलाई फिर्ता बोलाउन सुझाव दिएका हुन्।
मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठमा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महतले काम गर्न नसकेका र बदनाम भएका मन्त्रीहरूलाई फिर्ता बोलाउन सुझाव दिए।
पूर्व उपसभापति श्रेष्ठले सरकारमा गएको एक वर्ष पुगेको र पार्टीका तर्फबाट मन्त्री बनेकाहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा राम्रो काम गर्न नसक्नेलाई फिर्ता बोलाउन सुझाव दिएको बताए।
‘ओलीजी नेतृत्वको सरकारमा सहभागी भएको एक वर्ष पुगेको छ। सरकारले नै राम्रो काम गर्न सकेको छैन। कांग्रेसका मन्त्रीहरूले पनि राम्रो काम नगरेका गुनासोहरू आएका छन्,’ श्रेष्ठले भने, ‘कार्यसम्पादन मूल्याङ्कन गरेर राम्रो काम गर्नेलाई राख्ने र नराम्रो काम गर्नेलाई ‘विथ ड्र’ गर्न सभापतिलाई सुझाव दिएका छौँ।’
भेटमा आगामी पार्टी सभापतिको उम्मेदवारबारे संस्थापन समूहको तर्फबाट कसैलाई बचन दिइसकेको हो या हैन भन्नेबारे समेत उनीहरूले जिज्ञासा राखेका थिए। उनीहरूको जिज्ञासामा देउवाले आफ्नो समूहको तर्फबाट भावी सभापतिका लागि कसैलाई वचन नदिएको र अहिले तत्काल सार्वजनिक रूपमा सरकारको आलोचना नगर्न नेताहरूलाई आग्रह गरेका थिए।
साउन ६, २०८२ मंगलबार १९:५७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।