आर्थिक विवाद सुल्झिएपछि बल्ल रिलिज भयो फिल्म ‘रिमै’को टिजर

आर्थिक विवाद सुल्झिएपछि बल्ल रिलिज भयो फिल्म ‘रिमै’को टिजर

काठमाडौं : खिल बहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को विवाद सुल्झिएको छ। निर्माण पक्ष र निर्माता रोहित कट्टेलबीच भएको विवादले फिल्मको प्रचार समेत रोकिएको थियो। सोमबार चलचित्र संघमा दुवै निर्माण पक्ष र निर्माता तथा वितरक समेत रहेका कट्टेलबीच आर्थिक सहमति भएपछि मंगलबार फिल्मको टिजर रिलिज भयो।

फिल्मका कार्यकारी निर्माता बिरबल घलेले आफूहरूबिच सहमति जुटेकाले फिल्मको टिजर सार्वजनिक गरिएको बताए।

उनले भने,‘हामीहरूबिच सहमति भइसकेको छ। हिजो चलचित्र संघमा छलफल दुवैपक्षबीच छलफलमा एकअर्काबीच सहमति जुटायौँ। सहमति जुटेपछि हामीले फिल्मको टिजर रिलिज गरेका हौँ। उहाँहरूले पनि प्रदर्शनका लागि सहमति दिनु भएको छ।’

निकै अघि नै यस फिल्मको टिजर रिलिज गर्ने तयारीमा निर्माता तथा निर्देशकको टिम थियो। तर यस फिल्मका निर्माता तथा वितरक समेत रहेका रोहित कट्टेलले फिल्मको कुरामा चित्त नबुझेपछि फिल्म रिलिजका लागि कुरा मिलेको थिए।

अन्ततः निर्माण पक्षले रोहित पक्षलाई लागेको खर्च दिने सहमतिमा फिल्मको टिजर ओएसआरबाट रिलिज गरिएको छ।

सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रा.लिले निर्माण गरेको फिल्ममा वितरण कम्पनी आर.आर फिल्मस्को पनि आर्थिक रूपमा सहकार्य थियो। यसका लागि आर.आर फिल्मस्का तर्फबाट रोहितले निर्मातामा आफ्नो नाम राखेका थिए।

तर, पछि आर.आर फिल्म प्रोडक्सनको मञ्जुरीविना निर्माताले आफूखुसी फिल्मको डिजिटल राइट्स र विदेशको अधिकार विक्री वितरण गरेपछि उनीहरुबीच मनमुटाब सुरु भएको थियो। अहिले रोहित तथा आर आर फिल्मस्को नाम कतै देखिँदैन।

फिल्मको छायाङ्कनमा जाँदासम्म यो फिल्ममा आरआर फिल्मस्का रोहित कट्टेल प्रस्तुतकर्ता रहेका थिए भने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ। अहिले दुवैको नाम टिजर रिलिज हुँदा छैन।

यसबारेमा कट्टेललाई पटक पटक फोन गर्दा समेत उनले उठाएनन्। केही दिनअघि यस विषयमा बोलौला भन्ने गरेका उनले अन्ततः यस बारेमा बोल्न नचाहेको देखियो।

भदौ २७ गतेबाट रिलिज गर्ने भनिएको यो फिल्म अन्ततः एक साता अघि नै सारिएको छ। अब यो फिल्म भदौ २० गते देशव्यापी प्रदर्शनमा आउन लागेको हो। अब २७ गते विनोद पौडेलको फिल्म ‘अभिमन्यु’लाई हाइसन्चो भएको छ।

मंगलबार रिलिज गरिएको ‘रिमै’को करिब दुई मिनेटको टिजरमा ग्रामीण परिवेशको कथालाई उठाइएको छ। टिजरमा गुरुङ समुदायको संस्कृति, युवाहरूबिचको प्रेम, पीडा,धोका र बदलालाई फिल्मको कथाले बोक्ने बुझिन्छ।

फिल्म गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई,रिश्मा गुरुङ,अर्पण थापा,बुद्धि तामाङ,गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, बिरबल घले, डीबी गुरुङ, टेक गुरुङ लगायतले अभिनय गरेका छन्। यसमा बाल कलाकार असीम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको पनि अभिनय देख्न सकिन्छ।

‘जारी’,मनसरा’जस्ता फिल्मका लेखन तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको यो फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका छन्।

साउन ६, २०८२ मंगलबार १९:४२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।