सिकारले लोकप्रिय ढोरपाटनको सुन्दरतामा मुग्ध आन्तरिक पर्यटक

सिकारले लोकप्रिय ढोरपाटनको सुन्दरतामा मुग्ध आन्तरिक पर्यटक

ढोरपाटन : ढोरपाटन सिकार आरक्षको काखमा अवस्थित ढोरपाटन उपत्यका, बर्खायाममा आगन्तुकले भरिएका छन्। समुद्र सतहदेखि २,८५० मिटरको उचाइमा रहेको यो उपत्यका चारैतिरबाट हरियाली पहाडले घेरिएको छ। बर्खाले यसको सौन्दर्य थप खुलेको छ।

बर्खा लागेसँगै यहाँका फराकिला फाँटहरू हरियो गलैँचाले ढाकेझैँ देखिएका छन्। रंगीबिरंगी जंगली फूलहरूले पाटन रङ्गिन गलैँचा जस्तै देखिएको छ। राता, पहेँला, सेता र गुलाबी रङका फूलहरूले ढोरपाटनको सुन्दरता थप मोहक बनेको छ।

यही सौन्दर्यमा रमाउन र मन भुलाउन आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लागेको छ यहाँ। बर्खामा अन्य पर्यटकीय क्षेत्रहरूमा चहलपहल कम हुँदा ढोरपाटन भने पर्यटकले भरिभराउ छ। पर्यटकहरू हरियाली चौरमा डुल्दै, प्रकृतिको आनन्द लिँदै ढोरपाटनको वातावरणमा आफूलाई भुलाइरहेका छन्।

पर्यटकको बढ्दो आगमनले यहाँका स्थानीय, होटेल तथा पर्यटन व्यवसायीहरू उत्साहित छन्। स्थानीयहरू घोडा लिएर पर्यटकलाई पाटन डुलाउन व्यस्त छन्। घोडामा चढेर ढोरपाटनको फराकिलो फाँटमा घुम्नु अविस्मरणीय क्षण हो।

ढोरपाटन उपत्यकाको बिचबाट उत्तरगंगा नदी बगेको छ, जसले यस ठाउँको सुन्दरतालाई अझै बढाएको छ। चारैतिर छरिएर रहेका साना बस्तीहरूले घेरिएको उपत्यका प्रकृतिको काखमा बसेको एक सुन्दर गाउँ जस्तै देखिन्छ।

पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकास र प्रचारप्रसारले गर्दा ढोरपाटन आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। पहिले सिकारका लागि मात्र चिनिने ढोरपाटन अब भने बर्खायामको सुन्दरता र जंगली फूलहरूको अवलोकनका लागि पनि लोकप्रिय बन्दै गएको छ। यो क्षेत्र नेपालका एक सय पर्यटकीय गन्तव्यमा समेत सूचीकृत छ। 

ढोरपाटनको यो मनमोहक हरियाली र प्राकृतिक सौन्दर्यले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। यहाँको शान्त वातावरण र प्रकृतिको अनुपम दृश्यले आगन्तुकलाई एक फरक संसारमा पुगेको अनुभूति गराउँछ।

साउन ६, २०८२ मंगलबार १९:२९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।