ओलीलाई भण्डारीको चुनौती : "माझकिरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ"

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा पहिले नै अगाडि बढिसकेको र आफ्नो पहिचानका कारण कुनै पनि दबाबमा नझुक्ने बताइन्।
उनले मंगलबार भंगालस्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै भनिन् "म राजनीतिमा अघि बढेँ, माझकिरातको छोरी हुँ, खुट्टा कमाउँदिनँ।"
यो अभिव्यक्ति त्यस समयमा आएको हो जब एमाले केन्द्रीय कमिटीमा उनलाई पार्टी राजनीतिमा ल्याउने विषयमा गहन छलफल भइरहेको थियो।
ओलीसँगको भेटघाटको विवरण
भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन ४ गते भएको भेटघाटको सन्दर्भमा कुराकानी गरिन्। उनले बताइन् कि नयाँ वर्षको शुभकामना सन्देशले नै अध्यक्ष ओलीलाई चिढ्याएको थियो।
"म राष्ट्रपति भइरहेका बेला पनि ओलीजीसँग कुराकानी हुँदा म सक्रिय राजनीतिमा फर्कने हो भनेर भन्थेँ," उनले स्मरण गरिन् "यो कुरा ओलीजीलाई राम्रोसँग थाहा थियो, उहाँले त्यसबेला भइहाल्छ भन्ने खालका कुरा गर्नुहुन्थ्यो तर गम्भीर वार्ता भने भएको थिएन।"
अहिले सक्रिय राजनीतिमा फर्केपछि अध्यक्ष ओलीले पार्टी राजनीतिमा नफर्कन र अन्य नेताहरूलाई यस विषयमा 'नबोल्न' चेतावनी दिएको सुनिएको उनले बताइन्।
उनले भनिन् "म राष्ट्रपति हुँदा नै सक्रिय राजनीतिमा आउने भन्थेँ, राष्ट्रपतिबाट हटेपछि भाइहरू (एमालेका नेताहरू) घरमा आउने र तपाईँ अघि बढ्नुपर्छ भनिरहेका थिए।"
भण्डारीले २०८० सालमै एमालेको सदस्यता नवीकरण गरेको खुलासा गरिन्। उनले २०७२ देखि २०८० सम्मको दस्तुर तिरेर सदस्यता नवीकरण गरेको दाबी गरिन्।
"राष्ट्रपतिबाट हटेको ६ महिनाभित्रै मैले एमालेको सदस्यता नवीकरण गरेको थिएँ," उनले भनिन् "सदस्यता नवीकरण गरेकोले म सक्रिय राजनीतिमा फर्कनु सामान्य विषय हो।"
साउन ६, २०८२ मंगलबार १८:५९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।